मेलमिलापबाट न्यायः न्यायधीस प्रधान


मेलमिलापबाट न्यायः न्यायधीस प्रधान

नेपालगन्ज : सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले मेलमिलाबाट न्यायको खोजि गरिनुपर्ने बताएकी छन् । उनले न्याय आस्था, बिश्वास र अनुभति भएकाले मेलमिलापबाटै न्यायमा पहुँच बृद्धि गरिनुपर्नेमा जोड दिइन् ।

सर्वाेच्च अदालत नेपालगन्जले आयोजना गरेको न्यायमा पहुँच सम्बन्धि कार्यक्रममा बोल्दै न्यायाधीश प्रधानले उक्त कुरामा जोड दिएकी हुन् । कार्यक्रममा बोल्दै न्यायधीस प्रधानले पीडितलाई क्षतीपुर्ती सहितको न्याय हुनुपर्नेमा जोड दिदै औपचारिक तवरबाट मात्रै नभई अनौपचारिक रुपबाट पनि न्याय प्राप्त हुने हुदाँ मेलमिलापबाटै न्याय खोजिनुपर्छ ।

गुणात्मक न्यायको लागी अदालत, सरकारी वकिल, प्रहरी र कानून ब्यवसायी लगायतका सरोकारवाला बिचमा सोमबार नेपालगन्जमा आयोजित कार्यक्रममा बोल्दै न्यायधीस प्रधानले न्यायको सिक्रि मिलाउदै आपसी समन्वय र सहकार्य हुनु पर्नेमा जोड दिइन् । यस्तै कार्यक्रममा उच्च अदालत तुल्सीपुर नेपालगन्ज ईजलासका वरिष्ठ न्यायाधीश बिष्णुदेव पौडेलले न्यायको खोजीमा अदालत धाउने नागरिकमा अदालत प्रतिको बिश्वास र गरिमा बढाउने गरि न्याय सम्पादन गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उच्च अदालत नेपालगन्ज ईजलासमा न्यायाधीश खुसीप्रसाद थारुले स्थानीय तहमा देखिएका समस्या र चुनौतीहरुको बारेमा छलफल गरि न्यायमा सहज पहुँच पु¥याउन सहयोग पुग्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले न्यायमा पहुँचको अवधारणा, बिद्यमान अवस्था, र न्यायमा सहज पहुँचका लागी अदालतबाट गरिएका प्रयासहरुका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

न्यायको पहुँचको सम्बन्धमा स्थानीय तहमा देखिएका समस्या, चुनौती र समाधानका उपायहरु र सरोकारवाला निकायबिचको समन्वयका बारेमा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश बिष्णु सुवेदीले प्रकाश पारेका थिए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमाथापा मगर, बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नेपाल बार एशोसिएसनका वरिष्ठ उपाध्यक्ष सुनील कुमार श्रेष्ठ, उच्च अदालत बार एशोसिएसनका अध्यक्ष बिकाश आचार्य लगायतका वक्ताले न्यायमा सहज पुहँचका लागी सरोकारवाला निकाय बिचको आपसी समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएको अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।