तम्घास १ भदौ : गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुकी पार्वता भण्डारीको घर नजिकै एक हलको बारी छ । खेतीमा रोग नलागे र जङ्गली जनावरले नोक्सान नगरे छ मुरी मकै उत्पादन हुन्छ । ५–६ वर्षपहिलेसम्म साढे पाँचदेखि छ मुरीसम्म मकै भित्र्याएकी उनले यस वर्ष भने एक मुरी जति मकै स्याहारे ।
कारण हो, बाँदरले मकै नोक्सानी गर्नु । ‘राम्रै फले त छ मुरीसम्म हुन्थे तर, अहिले एक मुरी पनि पुग्न मुस्किल छ,’ उनले भने, ‘मुख्य बाली नै नोक्सानी भए पनि निराशा हुँदोरहेछ ।’
उनको घरमा उनीसँगै छोरा, बुहारी र छोरी छन् । बिहानदेखि बेलुकीसम्म चारैजना बारीमा बसेर बाँदर हेर्दासमेत मकै जोगाउन नसकिएको उनले गुनासो गरे । गत वैशाख ११ गते छरेको मकै भदौको अन्तिमतिर स्याहार्ने समय हो । बाँदर आतङ्कले गर्दा एक महिनाअगाडि गत साउनको अन्तिमतिर नै स्याहार्न बाध्य भएको उनले गुनासो गरे ।
वस्तुकै जितेन्द्र भण्डारीको पाँच रोपनी बारीमा आठदेखि १० मुरीसम्म मकै उत्पादन हुन्छ । मकै छरेपछि एकोहो¥याउने समयदेखि स्याहार्ने बेलासम्म लगातार बाँदर आइरह्यो । मकैमा दाना लागेदेखि बाँदरले बढी सताउन थाल्यो । अहिलेसम्म १८ देखि २० डोका अर्थात् चार मुरीभन्दा बढी मकै बाँदरले नोक्सान गरेको उनले गुनासो गरे ।
‘एक पटकमा ९० देखि सयसम्म बाँदरको हूल आउँछ’, उनले भने, ‘बिहानदेखि बेलुकासम्म हामीहरुको ड्युटी बाँदर धपाउने हो ।’ उनले बाँदरले मकै नोक्सानी गरेपछि बाँकी रहेका मकै समयअगावै स्याहारेको र बाँदरबाट गाउँले नै हैरान भएको उनले बताए । ‘बाँदर धपाउने बन्दुक दिगो समाधान होइन रहेछ,’ उनले भने, ‘बाँदरका अगाडि आत्मसमर्पण गरेजस्तै भयो ।’
उनले बाँदरकै कारण वस्तुमा अधिकांश जग्गा बाझिएको गुनासो गरे । बाँदरले वस्तुका झण्डै दुई तिहाइ कृषक हैरानी खेपेका छन् । त्यसका साथै जैसिथोक, रेसुङ्गा नगरपालिकाको चेक्मी, गुरुङगाउँ, मालिका गाउँपालिकाका विभिन्न वडाहरुलगायत जिल्लाका अधिकांश क्षेत्रमा बाँदरले सताउने गर्दछ ।
बाँदर नियन्त्रणका लागि गत वर्ष धुर्कोट गाउँपालिकाले २३ बाँदर धपाउने यन्त्र ल्याएको थियो । ठूलो आवाज निस्कने भएकाले केही बेर बाँदर भागे पनि फर्केर आउने समस्याले उक्त यन्त्र पनि प्रभावकारी नदेखिएको गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीले बताए ।
उनले गाउँकार्यपालिकाले सङ्घीय सरकारलाई बाँदर नियन्त्रण गर्ने उपाय खोजी गर्न निर्णय नै गरेर पठाए पनि सुनुवाइ नभएको गुनासो गरे । जिल्ला वन कार्यालयका प्रमुख प्रभात सापकोटाले जिल्लामा बाँदर नियन्त्रणका लागि कार्यक्रम नभएको प्रतिक्रिया दिए । यसका लागि अहिलेसम्म अपनाएका सबै उपाय दिगो नभएकाले कार्यालयले पनि ठोस कार्यक्रम नराखेको उनको भनाइ छ । -रासस
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो