समाचार प्रभाव
नेपालगन्ज:नेपालगन्ज उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेका परीक्षा केन्द्रको मंगलबार अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकाशं परीक्षा केन्द्रमा सेटिङ्मा चिट चोराउँनेदेखि गार्ड राख्ेनसम्मका काम भएको भेटिएको छ ।
‘सरकारीमै वेथिति:सेटिङ्मा प्लस टू परीक्षा’ शिर्षकमा मंगलबार विहानको सेतोखरी अनलाईन र सद्भाव दैनिकमा मुख्य समाचार छापिएपछि उपमहानगरपालिकाले मंगलबार बिहानै भएको परीक्षामा अनुगमन गरेको थियो । उपमहानगर भित्रकै परीक्षा केन्द्रमा शिक्षकदेखि बिद्यार्थीले संस्थागत रूपमै योजनाबद्ध तरिकाले चिट चोर्ने÷चोराउने काम गरेको देखिएको उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाले बताएका छन् ।
उनकाअनुसार मंगलबार मोर्डन, सरस्वती, एबिसी रेजिडेन्टल, होप एकेडेमी, एमपी लगायतका आधा दर्जन परीक्षा केन्द्रबाट एक डोको चिट बरामद गरिएको छ । उपमहानगरपालिका क्षेत्रमै नाम चलेका केही सरकारी विद्यालयले माध्यमिक तहको परीक्षा सेटिङ्मा सञ्चालन गरिरहेको सेतोखरी अनलाईन र सद्भाव दैनिकले समाचार प्रकाशन गरिसकेको छ । तर, उपमहानगरपालिकाले अनुगमन गरेपनि शिक्षा कार्यालय भने अझै उदासिन नै छ ।
परीक्षामा सम्वन्धित विद्यालयका शिक्षक गार्ड बस्न नपाउने व्यवस्था भएपनि यहाँ रकम चलखेलमा कतिपय विद्यालयहरुले आफ्नै शिक्षकलाई गार्ड राख्दै विद्यार्थीलाई चिट चोराउँने काम गरिरहेको खुलेको छ । जिल्लाका केही परीक्षा केन्द्रहरुमा विद्यालयले फर्जि परिचयपत्र बनाएर गार्ड राखेको पनि अभिभावकले गुनासो गरेका छन् । बाँकेमा नाम चलेका धम्बोझी उमावि, नारायण उमावि, महेन्द्र उमावि, मंगलप्रसाद उमावि परीक्षा, सरस्वती उमावि, एविसी रेजिडेन्टल, होप एकेडेमी केन्द्रमा यस्तो सेटिङ मिलाईएका पाईएको छ ।
नारायण उमावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष तरूणबाबु गौतम र धम्बोझी उमावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष बामदेव सुवेदीले परीक्षा एदकमै मर्यादीत र व्यवस्थित रूपमा चलेको दाबी गर्दै आएका छन् । जनशक्तिले नभ्याएको खण्डमा मात्र परीक्षामा सामेल विद्यालयको बाहेकका शिक्षकको सहयोग मात्र लिनु भनिएको शिक्षा अधिकारी गोरखबहादुर थापा बताउँछन् ।
१२ कक्षाको परीक्षामा बाँके जिल्लाबाट ६ हजार ६ सय ३ सहभागी छन् । बैशाख २६ गतेसम्म संचालन गरिने परीक्षामा नियमिततर्फ ७ हजार ७ सय ८१ र आंशिकतर्फ ४ हजार २ सय ४४ गरी जम्मा १२ हजार २५ जना विद्यार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डका प्रमुख गीरमान थापा बताउँछन् ।
यसैबिच, नेपाल शिक्षक महासंघ बाँकेले मङ्गलबार भएको परीक्षामा नेपालगन्ज उपमहानगरपालिकाका मेयर राणाको नेतृत्वमा कानूनले तोकेको भन्दा बढि मान्छेहरु परीक्षा केन्द्रमा जबरजस्ती प्रवेश गरेको आरोप लगाएको छ । महासंघ बाँके अध्यक्ष पवन कुमार यादवद्वारा जारी ध्यानाकर्षण पत्रमा मेयर राणाको नेतृत्वमा गएको टोलीका कारण परीक्षामा भय र त्रासको वातावरण सिर्जना भएको प्रति आपत्ती जनाउदै अनाधिकृत तरिकाले यस्तो अनुगमन बन्द गर्न आग्रह गरिएकोछ ।