नेपालगन्ज १२ भदौ : बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटकीय क्षेत्रका रुपमा ‘ब्राण्डिङ’ गर्न बृहत छलफल भएको छ । आज नेपालगन्जमा निकुञ्जले आयोजना गरेको एक कार्यक्रममा निकुञ्जलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न ‘ब्राण्डिङ’ गर्नुपर्ने विषयमा सरोकारवालाबिच बृहत छलफल गरिएको हो ।
संघका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा निकुञ्जको ‘ब्राण्डिङ’ गर्ने, प्रचारपसार गर्ने र प्रकृतिमा आधारीत पर्यटन प्रर्बद्धन गर्ने गरी छलफल भएको छ ।
नेपालमा आउने अधिकांश पर्यटक चिन र भारतका भएकाले उनीहरुलाई लक्षित गरी पर्यटन प्रर्वद्धनका कार्यक्रम सञ्चालन गरिनुपर्ने नेपाल पर्यटन बोर्डका सिओ डाक्टर धनन्जय रेग्मीले बताए ।
नेपालमा पोखरा, मनाङ, मुस्ताङ लगायतका पहाडी एवम् हिमाली क्षेत्रहरुलाई मात्र पर्यटकीय क्षेत्रका रुपमा विकास गरिीको अवस्थामा तराईमा पनि पर्यटनको सम्भावना रहेको उनले बताए ।
पर्यटकहरुबाट आम्दानी गर्ने प्रवृतिले मात्र पर्यटन विकास नहुने बताउँदै उनले ‘अतिथि देवोः भवः’ व्यवहारमा लागु गर्नुपर्ने बताए । पर्यटकहरुको सेवा सुविधा बढाउनुपर्ने, उनीहरुको आवश्यक्ता, सुरक्षा लगायतमा ध्यान दिनुपर्ने बताए । कतिपयले पर्यटन प्रर्वद्धनको नाममा दोब्बर रकम असुल्ने प्रवृति देखिएकाले यसलाई पुर्ण रुपमा रोक्नुपर्ने सुझाए ।
निकुञ्जको ‘ब्राण्डिङ’ र पर्यटकको आथित्यतालाई ध्यान दिनुपर्ने नाटाका अध्यक्ष अच्युत गुराँगाइले जोड दिए । ‘ब्राण्डिङ’ गर्नका लागि एउटा सोलोगन निर्माण गर्न उनको सुझाव छ । अहिले प्रविधिको समय भएकाले डिजिटल मार्केटिङलाई पछ्याउन समेत उनको आग्रह छ । पर्यटनको विकासका लागि निजि क्षेत्रले लगानी गर्ने भएकाले सरकारले यसमा सहजिकरण गर्नुपर्नेमा उनको जोड छ ।
बाँकेलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफू प्रतिबद्ध रहेको बताउँदै नेपालगन्ज उपमहानगरपालीकाका मेयर डाक्टर धवल शम्शेर राणाले नेपालगन्जलाई ‘क्यासिनो सिटी’का रुपमा विकास गर्न लागिएको बताए ।
हाल यस क्षेत्रमा ६÷७ वटा क्यासिनो निर्माण भइसकेका छन् । १०/१२ वटा क्यासिनो सञ्चालनमा आएको खण्डमा एक रातमा झण्डै एक देखी २ करोडसम्मको कमाई हुने बताए । यो कमाई व्यवसायीको मात्र नभएर यस क्षेत्रको र सरकारको भएको उनको भनाई छ । यसका साथै तालतलैया निर्माण, पार्कहरु निर्माणको काम समेत अघि बढाइएको उनले बताए ।
कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस क्षेत्रको पर्यटन विकासमा सबैको समन्वय हुनुपर्नेमा जोड दिएका छन् । निकुञ्जमा रहेको चुरे पहाडमा ‘हिल स्टेसन’ निर्माण गर्नुपर्ने, वन्यजन्तु हेर्नका लागि उचित स्थानको निर्माण गर्ने लगायतका विषयमा छलफल भएको छ ।
मानसरोवर, रारा, बर्दिया राष्ट्रिय निकुञ्ज लगायतका पर्यटकीय क्षेत्रमा जानका लागि नेपालगन्ज आउने पर्यटकहरुलाई यतै २÷४ दिन थप बस्नका लागि आर्कषणका कार्यक्रम सञ्चालन गनुपर्नेमा सरोकारवालाहरुको जोड छ ।
त्यस्तै, नेपालगन्जबाट पोखरा जानका लागि हवाई रुट सञ्चालनमा आइसकेको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी पनि नजिक छ । त्यहाँ आएका यात्रुहरुलाई लक्षित गरी बाँकेमा तान्न सकिने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरुको भनाई छ ।
बाँके राष्ट्रिय निकुञ्ज बाघ र हात्तिको बासस्थान भएकाले पर्यटकहरु तान्न सकिने सम्भावना रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए ।
निकुञ्जले वन्यजन्तु हेर्ने वातावरण बनाइदिनुका साथै चुरे क्षेत्रमा हाइकिङ गर्नका लागि ‘हिल स्टेसन’ निर्माण गरिदिन सके पर्यटकहरुको चहलपहल बढाउन सकिने होमस्टे सञ्चालक कृष्ण चौधरीको भनाई छ ।
अफसिजनको समयमा असार साउनमा ३ सय आन्तिरक तथा २ जना बाह्य पर्यटकले निकुञ्ज भित्रको चुरेमा हाइकिङ गरको बताउँदै उनले चुरेको पहाडमा हाइकिङको प्रशस्त सम्भावना रहेको बताए ।
पर्यटन प्रर्वद्धन गर्नका लागि सरकारले पनि चासो दिनुपर्ने पर्यटन प्रर्वद्धन मञ्च बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको भनाई छ । बाँकेमा १० हजार बढि पर्यटकलाई राख्न सक्ने क्षमता भएको उनले बताए । अर्बौ लगानीमा सञ्चालनमा आएका व्यवसायीहरुलाई पर्यटन विकासले टेवा पुग्ने उनको विश्वास छ ।
पछिल्लो समय साइक्लिङ गर्नेहरु बढेकाले उनीहरुलाई लक्षित गरी सम्भावित क्षेत्रमा साइकल ट्रेल बनाउन सकिने अर्को सम्भावना रहेको साइक्लिङ क्लबका अध्यक्ष गगन थापा बताउँछन् ।
सरकारले होटेल सञ्चालन गर्नका लागि सौहुलियत सुविधा दिनुपर्ने होटेल व्यवसायी दिवाकर खनालको भनाई छ ।
बाँकेमा पर्यटकको चहलपहल बढाउन हालको अवस्थामा भारतीय यात्रुलाई लक्षित गरी सीमा खुला गर्नुपर्ने, उनीहरुलाई घुमीफिरका लागि सहज वातावरण बनाउपर्ने सम्बद्धको भनाई छ । उनीहरुको आगमनले होटेल क्षेत्र मात्र नभइ यहाँको समग्र विकास हुने भएकाले यसतर्फ सरकारले पनि लगानी बढाउनुपर्ने व्यवसायीहरुको भनाई छ ।