आजबाट नेपाल–भारत सीमा बन्द


आजबाट नेपाल–भारत सीमा बन्द

नेपालगन्ज: भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नाका आजबाट बन्द गरिदैछ । आज बैशाख २१ गते शनिबार बेलुकी ६ बजेदेखि नेपाल–भारत सीमा नाका बन्द हुन लागेकोहो ।

४८ घण्टाका लागि सीमा बन्द हुनेछ । भारतमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर बाँकेको जमुनाहा नाका आज बेलुकी ६ बजेदेखि बैशाख २३ गते बेलुकी ६ बजेसम्मका लागि बन्द हुनेछ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार केही दिनअघि दुई देशका अधिकारीबीच भएको सहमति अनुसार सीमा नाका बन्द गर्न लागिएको जनाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुने लोकसभा निर्वाचनका लागि नाका बन्द हुन लागेको जानकारी दिए ।

सीमा नाका बन्द हुँदा अत्यावश्यक र बिरामी बोकेका एम्बुलेन्स दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आवतजावत गर्ने बाहेक अन्य आवतजावत ठप्प हुने प्रजिअ भुजेलले बताए । निर्वाचनका बेला घुसपैठ नहोस् भनेर दुवै देशमा निर्वाचन हुँदा सीमा नाका बन्द गरिँदै आएको छ ।

४८ घण्टा सीमा नाका बन्द हुँदा नेपालले भारतबाट आयत गर्ने दैनिक उपभोग्य सामान दाल, चामल, तेल, हरिया सागसब्जी देखि विलासिताका सामानमासमेत भारतीय बजारमै नै निर्भर हुँदा आयात निर्यात प्रभावित हुनेछ । लोकसभा निर्वाचन नजिकिँदै जाँदा भारतीय सुरक्षाकर्मीले सीमा नाका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाई गरेको छ ।

यसअघि भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै गत चैत्र २६ देखि २८ गते सम्म बैतडी सहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द गरिएको थियो ।