खजुरा गाउँपालिका वडा नम्बर– १ वालविवाह मुक्त वडा घोषणा


खजुरा गाउँपालिका वडा नम्बर– १ वालविवाह मुक्त वडा घोषणा

नेपालगन्ज १३ भदौ : खजुरा गाउँपालिका वडा नम्बर–१ लाई वालविवाह मुक्त वडा घोषणा गरिएको छ । आईतवार एक समारोहकाबीच वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको हो ।

वडामा गरिएको सर्बेक्षण अनुसार २० प्रतिशतभन्दा तल अर्थात सो वडामा १६ दशमलव १२ प्रतिशत बालबिवाहको अवस्था रहनुका साथै बालबिवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालबिवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको हो ।

वडा नम्बर– १ की कार्यबाहक अध्यक्ष फत्तेकुमारी जैसीले वडा नम्बर–१ लाई बाल विवाहमुक्त वडा घोषणा तथा प्रतिबद्धता पढेर सुनाएपछि पालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले उक्त प्रतिबद्धतापत्र वडालाई हस्तान्तरण गरे ।

‘हामी सबैको प्रतिबद्धता : बालविवाह बिरुद्धको साझा प्रतिवद्धता’ भन्ने मूल नाराका साथ वडा नम्बर–१ लाई बालविवाह मुक्त वडा घोषणा सभा–२०७८ लाई सम्बोधन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले अभियानमा साथ दिने संघसंस्थाहरुलाई धन्यबाद दिँदै बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने बताए ।

Kanti Aarogya Hospital Nepalgunj

उनले खजुरालाई नमूना गाउँपालिका बनाउने अभियान अन्तरगत नमूनाको एउटा सूचक वाल विवाहमुक्त पालिका हुनु पर्ने भएकाले वडापछि पालिकालाई घोषणा गर्ने अभियानमा रहेको उल्लेख गरे ।
कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले २० वर्ष पुगेपछि मात्र विवाह गरिदिने कुरामा समाजमा सबैको दायित्व हुनु पर्नेमा जोड दिइन् ।

खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले वालविवाहलाई पूर्णरुपमा निरुत्साहित गर्न सरोकारवाला निकाय सक्रियरुपमा लाग्नु पर्ने बताए । प्लान नेपाल, स्याक नेपाल, बाल क्लव सञ्जाल, किशोरी क्लव, युवा क्लव लगायतको सहकार्यमा वडा नम्बर–१ लाई बाल विवाह मुक्त वडा घोषणा गर्न सफल भएको खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले बताइन ।

खजुरा गाउँपालिका वडा नम्बर–१ का कार्यवाहक अध्यक्ष फत्तेकुमारी जैसीको अध्यक्षतामा भएको कार्यक्रममा बाल विवाह अन्त्य अभियानमा लागेका पत्रकार शंकर प्रसाद खनालले बालविवाह मुक्त वडा बनाउन गरिएका प्रयास तथा अवस्था अध्ययन प्रतिवेदन सार्वजनिक गरे भने स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले बाल विवाहमुक्त अभियानमा निरन्तर सहकार्य हुने बताउँदै खजुराबाट अभियानको शुरुवता भएकोमा प्रशंसा गरे ।

यसअघि वडा नम्बर–१ को वडा कार्यालयबाट सन्देशमुलक ¥याली निकाली मैटहवा माविमा पुगेर सभामा परिणत भएको थियो । घोषणासभा कार्यक्रम सञ्चालन शिक्षक सुन्दर गुरुङ र वडा नम्बर–१ का कर्मचारी मनमाया रानाले गरेका थिए । कार्यक्रममा वालविवाह मुक्त अभियानमा लागेका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । केही समय पहिला खजुरा गाउँपालिका वडा नम्बर– ३ लाई बालविवाहमुक्त वडा घोषणा गरी सकिएको छ ।