सीमामा सुरक्षा सर्तकताः एसपी पौडेल


सीमामा सुरक्षा सर्तकताः एसपी पौडेल

नेपालगन्ज: बाँकेका प्रहरी प्रमुख एसपी अरूण पोडेलले सीमा क्षेत्रमा सुरक्षा सर्तकता बढाईएको बताएका छन् । भारतमा पाँचौ चरणमा हुन गइरहेको लोकसभा निर्वाचनको मिति नजिकिए सँगै बाँकेमा समेत सुरक्षा सर्तकता अपनाइएको हो ।

बाँकेको सीमावर्ती जिल्ला उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा आगामी २३ गते निर्वाचन हुन गइरहेको छ । निर्वाचनलाई मध्यनजर गरेर बाँके प्रहरीले भारतसँग सीमा जोडिएका स्थानहरुमा सुरक्षा बढाएको उनले बताए ।

भारतमा हुन गइरहेको निर्वाचनलाई मध्यनगर गर्दै सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पारेको बाँकेका प्रहरी प्रमुख एसपी पौडेलले जानकारी दिए । उनले भने,‘ नेपाली भुमीबाट कुनै पनि हालतमा निर्वाचन विरोधी गतिविधी हुन दिदैनौं ।’ भारत तर्फ जाने व्यक्तिहरुलाई समेत सीमा नाकामा कडा चेकजाँच गर्ने गरिएको उनले बताए ।

‘भारतसँगको खुल्ला सीमानाका कारण नेपाल तर्फबाट निर्वाचन विरोधी गतिविधी हुन सक्छन् भन्ने कुरामा हामी चनाखो छौं, प्रहरी उपरीक्षक पौडेलले भने,‘ सोही कुरालाई मध्यनजर गर्दै सीमा नाकामा सुरक्षा सर्तकता अपनाएका छौं ।’ निर्वाचनलाई प्रभावित बनाउन हातहतियार, विष्फोटक पदार्थ, अपराधिक व्यक्ति प्रवेश गर्ने भएकोले भारतीय सुरक्षाकर्मीहरुले समेत नाकामा कडाई गरेका छन् । बिषेश गरी नेपालबाट भारततर्फ जाने मानिस तथा सवारी साधनहरुलाई भारतीय सुरक्षाकर्मीहरुले कडा चेकजाँच गर्ने गर्दछन् ।