नेपाली पत्रकारितामा ‘चाचाजी’ सदैव अनुकरणीय रहने


नेपाली पत्रकारितामा ‘चाचाजी’ सदैव अनुकरणीय रहने

नेपालगन्ज २७ भदौ : वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नाला गुप्त ‘चाचाजी’को संघर्ष, पत्रकारिता र लोकतन्त्र प्रतिको त्याग, निष्ठा, ईमान्दारिता र सादगीपूर्ण जीवनशैली नेपाली पत्रकारिताका लागि सदैव अनुकरणीय रहने एक कार्यक्रमका वक्ताहरुले बताएकाछन् ।

‘प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्त प्रतिष्ठान’ नेपालगन्जले आयोजना गरेको ‘चाचाजी’ को ९३ औं जन्मजयन्तीका अवसरमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । ‘चाचाजी’ पत्रकारिता जगतका लागि अनुकरणीय ब्यक्तित्व भएको बताउँदै उनको पदचाप पछ्याउन सके उनीप्रति सच्चा सम्मान हुनेमा उनीहरुको जोड थियो । सादगी जीवन शैली, कर्तव्यनिष्ठ कर्म र निरन्तरको साधना ‘चाचाजी’ का गहना भएकाले यसको अनुशरणमा अबको पुस्ताले ध्यान दिनुपर्नेमा सबैले जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथी नेपालगन्ज उपमहनगरपालिकाकी उपमयेर उमाथापा मगरले ‘चाचाजी’ को योगदानको कदर गर्दै नेपालगन्ज त्रिभुवन चोक पूर्वको सडकको नामाकरण उनको नामबाट गर्न खोजे पनि अनावश्यक विवाद सिर्जना गरिएको बताइन । उनले ‘चाचाजी’को सम्मानका खातिर उपमहानगरपालिका सधैं प्रतिबद्ध रहेको समेत स्पष्ट पारिन् ।

कार्यक्रममा नेपाल प्रेस काउन्सिलका सदस्य शरद अधिकारीले पन्नालाल नेपाली पत्रकारिताको मूर्धन्य ब्यक्तित्व भएकाले उनले देखाएको बाटोलाई पछ्याउन सके उनीप्रति सच्चा सम्मान हुने बताए ।
पत्रकार र पत्रकारितामा गलत संस्कार र संस्कृतिको विकास भइरहेकोले पत्रकारिता भित्र देखिएको विकृति र विसंगती न्यूनिकरण गर्न चाचाजीले देखाएको बाटो पछ्याउनुको विकल्प नरहेको उनले जोड दिए ।

Kanti Aarogya Hospital Nepalgunj

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले पत्रकारिताका धरोहर ‘चाचाजी’ ले प्रकाशित गर्दै आएको किरण साप्ताहिकको प्रकाशन बन्द भएकाले अब महासंघले प्रकाशन गर्ने घोषणा गरे ।

‘चाचाजीको निधनले बाँकेको पत्रकारिता जगतले अपुरणीय क्षति ब्यहोरेको छ नै, नेपालगन्ज शहर र समग्र बाँके जिल्लाले नै अनुभवि र कर्तव्यनिष्ठ अभिभावक गुमाएकोछ ।’ अध्यक्ष भण्डारीले अगाडी थपे–‘चाचाजी भौतिकरुपमा हामीबीच नरहेपनि उनले पत्रकारिता क्षेत्रमा पु¥याएको योगदान चीरकाल पर्यन्त अमिट रुपमा रहिरहनेछ ।’

‘उनको पदचाप र योगदानलाई जोगाइरहनु नेपाल प्रेस युनियन बाँकेको जिम्मेवारी हो । पत्रकारितालाई सदैव मिसनको रुपमा लिएर चाचाजीले काम गरेका थिए ।’ नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले भने–‘पेशागत मर्यादामा कहिल्यै नचुकेका चाचाजी पत्रकारिता पेशामा नाती पुस्ता सक्रिय भईसक्दा पनि आफू स्वयं साईकलमा रिपोर्टिङ्गमा हिँड्दा जहिले पनि नयाँ पुस्ताका लागि प्रेरणा बन्दथे । यसैले उहाँलाई सम्मान स्वरुप नेपाली पत्रकारले र सिंगो नेपालगन्ज शहरले ‘चाचाजी’ भनेर बोलाउने गरेको छ ।’

उनले पत्रकारिता मार्फत समाज र लोकतन्त्रलाई पु¥याएको योगदान स्वरुप नेपाल प्रेस युनियन बाँकेको संयोजनमा नागरिक अभिनन्दन समेत गरिएनुका साथै उनको सम्मानमा युनियनले पन्नालाल गुप्त चाचाजी राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना गरेको अध्यक्ष ओलीले बताए ।

प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्त प्रतिष्ठानका अध्यक्ष विजय कुमार गुप्ताको अध्यक्षता उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रतिष्ठानका अध्यक्ष गुप्ताले पत्रकारिता पढ्ने विद्यार्थीलाई स्वर्गीय गुप्तको नामबाट छात्रवृत्ति दिने घोषणा गरे ।

कार्यक्रममा बरिष्ठ साहित्यकार सनत रेग्मी, बरिष्ठ कलाकार श्यामानन्द सिंह, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षद्वय झलक गैरे, रुद्र सुवेदी, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य मोहम्मद आरिफ अन्सारी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपाने, अवधि पत्रकार संघका केन्द्रिय अध्यक्ष राकेश कुमार मिश्र लगायतले स्वर्गीय गुप्तको लोकतन्त्रप्रतिको विश्वास, पत्रकारताप्रतिको क्रियाशीलता र सादगी जीवनबारे चर्चा गर्दै उनको विचारलाई जीवन्त राख्नुपर्ने बताए ।

प्रतिष्ठानका महासचिव शुक्रऋषि चौलागाईद्वारा सञ्चालन गरिएको कार्यक्रममा प्रतिष्ठानका सदस्य सुनिल कुमार गुप्ताले स्वागत मन्तब्य राखेका थिए ।

नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष समेत रहेका गुप्तको २०७६ माघ १५ गते निधन भएको थियो । नेपाल पत्रकार महासंघ बाँकेका पुर्व सभापति समेत रहेका चाचाजीले झण्डै ४ दशक अघिदेखि नेपालगन्जबाट साप्ताहिक किरण प्रकाशन र सम्पादन गर्दै आएका थिए ।