नेपालगन्जः भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द भएको नेपाल–भारत सीमा नाका आजबाट खुलेकोछ । बैशाख २१ गते शनिबार बेलुकी ६ बजेदेखि बन्द रहेको नेपाल–भारत सीमा नाका आज बेलुकी ७ बजेदेखी पुनः सुचारु भएको हो ।
यसअघि ६ बजे सीमा खोल्ने भनिएपनि भारतीय पक्षबाट एक घण्टा ढिलो सीमा खोल्ने जानकारी प्राप्त भएकोले ७ बजे नेपाल–भारत सीमा खोलिएको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सेतोखरीलाई जानकारी दिए ।
४८ घण्टाका लागि सीमा बन्द हुँदा सर्वसाधरणले सास्ती भोग्नुपरेको थियो । काम, ब्यापार तथा उपचार लगायतका लागि भारत गएका नेपालीहरुले सास्ती भोग्नुपरेको थियो ।
भारतको लोकसभा निर्वाचन सुरक्षालाई ध्यानमा राखेर बाँकेको जमुनाहा नाका गत बैशाख २१ गतेदेखि आज बेलुकी ६ बजेसम्मका लागि बन्द गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार केही दिनअघि दुई देशका अधिकारीबीच भएको सहमति अनुसार सीमा नाका बन्द गरिएको थियो । यतिखेर सीमा खुल्ला गरिएसगै नेपाल–भारत सीमामा सर्वसाधरणको भीड लागेकोछ ।
सीमा नाका बन्द हुँदा अत्यावश्यक र बिरामी बोकेका एम्बुलेन्स दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आवतजावत गर्ने बाहेक अन्य आवतजावत ठप्प गरिएको थियो ।
यसअघि भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै गत चैत्र २६ देखि २८ गते सम्म बैतडी सहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द गरिएको थियो ।