नेपालगन्ज ३० भदौ : कोभिड–१९ महामारीमा बाँकेका सञ्चार माध्यमहरुले सहि सूचना वितरण तथा सचेतनाका लागि प्रभावकारी काम गरेको निष्कर्ष निकालिएको छ ।
‘बाँकेको पत्रकारितामा कोभिड–१९ महामारीको असर’ विषयक सरोकारवालाबीचको छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।
कृष्णसार एफएम सञ्चालन गर्ने संस्था समुदायका लागि सञ्चार अभियान नेपालको १३ औँ वार्षिक साधारण सभा तथा ५ औं अधिबेशन शुभारम्भको अवसर पारेर नेपालगन्जमा यस्तो छलफल गरिएको हो । कार्यक्रमका सहभागिहरुले कोरोना महामारीको कठिन परिस्थितिमा बाँकेको पत्रकारिताले अहंम भूमिका निर्वाह गरेको धारणा राखेका थिए ।
सामुदायिक रेडियो प्रसारक संघ अकोराबका अध्यक्ष अर्जुन गिरीले महामारीमा सबभन्दा बढि सूचना र सचेतना फैल्याउने काम रेडियोहरुले गरेको तथ्य सार्वजनिक गरे । यो अवधिमा सर्वेक्षणहरुले नै सबैभन्दा बढि नेपालीले रेडियो सुन्ने गरेको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले कोरोना कालमा बाँकेका पत्रकारहरुका लागि स्वास्थ्य सेवा लगायतको सहजीकरणमा पहल गरेको बताए ।
कार्यक्रममा अधिकारकर्मी प्रकाश उपाध्यायले विपद्मा स्थानीय मिडियाले प्रशंसनीय कार्य गरेको भन्दै स्थानीय सञ्चार माध्यमसंग स्थानीय सरकारहरुले नीतिगत व्यवस्था गरेर सहकार्य गर्नु पर्नेमा स्रोतको अपारदर्शी वितरण भएको बताए ।
दैनिक नेपालगन्जका सम्पादक झलक गैरेले स्थानीय मिडियाले विपद्मा प्रभावकारी भूमिका खेल्दै आए पनि स्थानीय सरकार र सम्बद्धहरु सहयात्री बन्न नसकेको गुनासो गरे ।
कोरोनाको विपद्मा पनि पत्रकारहरुले ज्यानको पर्वाह नगरीकन सूचना सम्प्रेषणमा खटिएको पत्रकार कृष्ण अधिकारीको भनाई थियो ।
कृष्णसार एफएमका कार्यकारी प्रमुख तुला अधिकारीले बाँंकेको पत्रकारिताले कोरोनाकालमा भोगेका समस्या र गरेका प्रयासहरुका बारेमा छलफल होस् भनेर कार्यक्रम आयोजना गरेको बताए ।
समुदायका लागि सञ्चार अभियान नेपालका अध्यक्ष राकेश कुमार मिश्रको अध्यक्षतामा भएको कार्यक्रम वरिष्ठ पत्रकार पूर्णलाल चुके, नीरज गौतम, नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ, शिक्षासेवी किरण आचार्य, पत्रकार माधव अधिकारी र कमल खत्री लगायतले कोरोना कालमा बाँकेको पत्रकारिताका सन्दर्भमा विचार राखेका थिए ।