चेपाङ समुदायले जनगणनामा धर्ममा ‘प्रकृति’ लेख्ने


चेपाङ समुदायले जनगणनामा धर्ममा ‘प्रकृति’ लेख्ने

मुग्लिन २ असोजः चेपाङ सुमदायका व्यक्तिले आफ्नो धर्ममा ‘प्रकृति’ उल्लेख गर्ने भएका छन् ।

परापूर्व कालदेखि नै प्रकृतिलाई भगवानको रुपमा पुज्दै आएको चेपाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति उल्लेख गर्ने भएको हो । आदिवासी जनजातिमा सूचीकृत सीमान्तकृत चेपाङ समुदायको आफ्नै भाषा धर्म, संस्कृति, परम्परा रहेकाले जनगणनामा धर्मका ठाउँमा प्रकृित उल्लेख गर्ने नेपाल चेपाङ सङ्घका केन्द्रीय महासचिव आइतसिं चेपाङले बताए ।

उनले भने, ‘हाम्रो आफ्नै धर्म छ, त्यो प्रकृति हो, हामी मानव निर्मित मन्दिरमा पूजा गर्दैनौँ, प्रकृतिमा आफैं उत्पत्ति भएका ढुङ्गा, ठूलो वृक्ष, पहाड, खोला र माटोलाई पुज्ने गर्छौं, त्यसैले हाम्रो धर्म प्रकृति हो, राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति र भाषामा चेपाङ लेख्नेछौँ ।’

नेपाल चेपाङ सङ्घको अगुवाइमा चेपाङ समुदायलाई आफ्नो भाषा, धर्म, संस्कृतिबारे जानकारी गराउन टोलटोलमा कार्यक्रमसमेत सञ्चालन गर्दै आएको उनले बताए । सङ्घ वागमती प्रदेशका सचिवसमेत रहेका चितवनका लक्ष्मण चेपाङले पनि धर्ममा प्रकृति उल्लेख गर्न अभियान नै सञ्चालन गरिएको जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

पछिल्लो समय आफ्नो भाषा, धर्म, संस्कृति लोप हुने स्थितिमा पुगेपछि सङ्गठित रुपमा नै नेपाल चेपाङ सङ्घले विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । नेपालका २६ जिल्लामा बसोबास गर्ने चेपाङ समुदायको सङ्ख्या राष्ट्रिय जनगणना २०६८ अनुसार ६८ हजार ३९९ रहेको छ । -रासस