नेपालगन्ज : कानून व्यवसायी विकास आचार्यले कानून सम्मत तरिकाले आफुले जग्गा खरिद गरेको बताएकाछन् । उनले शुक्रबार प्रेस विज्ञप्ती प्रकाशित गरी कसैलाई ललाई फकाई नभई सहमतिमा कानून बमोजिम आफुले जग्गा किनेको बताएकाछन् ।
जग्गा बिक्री गरेर बद्नियत पूर्ण तरिकाले जग्गाधनीले पत्रकार सम्मेलन गरी आफ्नो चरित्र हत्या गर्न खोजेको उल्लेख गर्दै जग्गा खरिद बिक्रीका सम्पूर्ण सरकारी कागजातहरुले वास्तविकता बोल्ने आचार्यले विज्ञप्तीमा बताएका छन् ।
बाँके साविक बेतहनी गाविस वडा नम्बर–२, हाल डुडुवा गाउँपालिका वडा नम्बर–२, बस्ने उषा कुमारी बर्माको नाउँमा रहेको बाँके वेतहनी गाविस वडा नम्बर–३, कि.न. १८, ३१, ३२, २४, ५०८, १४४, १४९, २०, ९८ र १३२ को जग्गा आफुले जग्गाधनीलाई पैसा बुझाएर मालपोत कार्यालय बाँकेबाट राजिनामा पास गरेर किनेको विज्ञप्तीमा उल्लेख छ ।
आचार्यले विज्ञप्ती सँगै जिल्ला अदालत नेपालगन्जको पत्र, पटक–पटक जग्गा पास गरेको मालपोत कार्यालय बाँकेको कागजात पनि संलग्न राखेका छन्् । अन्य व्यक्तिसँग उषाको लेनदेनका कारण ती कित्ता नम्बरको जग्गा पहिले नै जिल्ला अदालतमा रोक्का गरिराखेको र आफुले खरिद गर्दा रकम बुझाएर जग्गा फुकुवा गराई बल्ल उषाको नामबाट आफ्नो नाममा पास गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
‘सो जग्गा मैले खरिद गर्नु पूर्व सबै कित्ता बाँके जिल्ला अदालतबाट लेनदेन मुद्दामा रोक्का रहेको थियो । बरिष्ठ कानून व्यवसायी भनि जग्गाधनीलाई झुक्याएर जग्गा लिएको होइन ।’ आचार्यले भने ‘सहमति र मञ्जुरीमा जग्गा खरिद बिक्री भएको हो । मिडियामा उनले भनेका सबै कुराहरु कपोकल्पित हुन् । जुन कुरा मालपोत कार्यालयको राजिनामाबाट पुष्टी हुन्छ ।’
बिज्ञप्तीमा उनले जग्गा खरिद बिक्री गर्न पाउनु आम नागरिकको संवैधानिक तथा कानूनी अधिकारी रहेकोले कसैको निजी उक्साहटमा लागि जग्गाधनीबाट अफवाह फैलाउँदै गएकोले त्यस्तो भ्रमपुर्ण अफवाहपछि विश्वास नगर्न सबैलाई आग्रह समेत गरेका छन् ।