५ लाख घुससहित २ पक्राउ


५ लाख घुससहित २ पक्राउ

नेपालगन्ज: अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवल, सम्र्पक कार्यालय नेपालगन्जले घुस सहित दुई जनालाई पक्राउ गरेकोछ ।

बाँकेको राप्ती सोनारी गाँउपालिका कुसुमबाट आईतबार दिउँसो ४ बजे उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकाबाट घुस रकम समेत बरामद गरिएकोछ ।

यसरी घुस सहित पक्राउ पर्नेमा राप्ती सोनारी गाँउपालिकामा रहेको सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष र कोषाध्यक्षलाई नगद पाँच लाख सहित नियन्त्रणमा लिइएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय टङ्गालले जारी गरेको प्रेस विज्ञप्ती अनुसार राप्तिसोनारी गाउँपालिका – १ स्थित लामीडाँडा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टिकाराम कामी र कोषाध्यक्ष दिपक खुनालाई ५ लाख रकम सहित बाँकेको कुसुम बैरीयाबाट पक्राउ गरिएको जनाएकोछ ।

उनीहरुले सामुदायिक वनको काठ लिलामीमा कोटेशन दर्ता गरि काठ उपलब्ध गराउन सहजिकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस मागेको भन्ने सूचना तथा उजुरी पाएपछि अख्तियारले पक्राउ गरेको हो ।

अख्तियारले उनीहरुलाई पक्रदाँ सेवाग्राहीबाट घुस रकम पाँच लाख लिइसकेको जनाएकोछ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा विज्ञप्तीमा उल्लेखछ ।