नेपालगन्ज विमानस्थललाई सुरक्षाको प्रमाणपत्र


नेपालगन्ज विमानस्थललाई सुरक्षाको प्रमाणपत्र

नेपालगन्ज: नेपालगन्ज–दिल्ली सोझो उडानको चर्चा बटुलिरहेको बेला नेपालगन्ज विमान स्थलले सुरक्षा प्रमाण पत्र पाएकोछ । सुरक्षा प्रमाणपत्र पाएसगैं नेपालगन्ज–दिल्ली सोझो उडानको सम्भावनालाई पनि यसले थप उजागार गरेको छ ।

नागरिक उड्यन प्राधिकरणले नेपालगन्ज विमान स्थललाई सोमबार (एरोडन सेफ्टि) सुरक्षा प्रमाण पत्र प्रदान गरेको हो । यससगै अन्तराष्ट्रिय नागरिक उड्यान सस्था (आइकाओ)को सुरक्षा मापदण्ड अनुसार विमानस्थलले आफ्नो कार्य थालेकोछ ।

नेपालमा सञ्चालित ३० बढि विमानस्थलहरुमध्ये ‘सुरक्षित’ विमानस्थलको प्रमाणपत्र पाउनेमा नेपालगन्ज तेस्रो स्थानमा ओगेटोकोछ । यसअघि काठमाडौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल र विराटनगरको विमानस्थलले सुरक्षा प्रमाणपत्र पाएका थिए ।

विमानस्थलले ‘सुरक्षाको दृष्टिकोणले उपयुक्त रहेको’ प्रमाणपत्र पाएको हो । एक वर्षदेखिको अथक मेहनतले गर्दा विमानस्थलले सुरक्षितको प्रमाणपत्र पाएको विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जीव गौतम आफैले नेपालगन्ज आएर प्रमाणपत्र दिएका हुन् । विमानस्थल सुरक्षित हुनका लागि ६ महिने, एक वर्षे, पाँच वर्षे शर्तहरु राखिएका थिए । ती सबै शर्तहरु नेपालगन्ज विमानस्थलले पु¥याउँदै अघि बढेको छ । विमानस्थलका प्रमुख ठाकुरका अनुसार, ती शर्तमा रनवे, मार्किङलगायत धेरै बुँदाहरु पर्छन् ।

‘नेपालगन्ज विमानस्थलले धेरै मापदण्ड पूरा गरेको छ । सबै ठिक छ । सुरक्षाको दृष्टिकोणले उपयुक्त छ,’ विमानस्थलका प्रमुख ठाकुरले भने, ‘हामीले प्रमाणपत्र पनि पायौं । अब अझ राम्रो गरेर अघि बढ्छौं ।’ नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन ‘मास्टर प्लान’ बनिसकेको छ ।

अहिले विमानस्थल १६६ विगाहमा छ । त्यसमा सय विगाह जमिन थप्ने, तत्काल नै दुई सय मिटर रन वे थप्ने र भविष्यमा यसलाई दुई हजार ६ सय मिटर बनाउने, विमानस्थललाई पूर्वतिर बिस्तार गर्ने, डुडुवा खोलालाई डाइभर्सन गर्नेलगायतको मास्टर प्लान बनिसकेको हो । त्यसका लागि १२ अर्ब ५० करोड लाग्ने अनुमान गरिएको छ । विमानस्थललाई पूर्वतिर बिस्तार गर्ने हो भने अहिले नै जग्गा खाली गराएर मुअब्जा दिनुपर्ने कुरा भइरहेका छन् ।

तर, कम्तिमा आगामी दुई वर्ष भित्र आवश्यक मापदण्ड पुरा गरिसक्नुपर्नेहुन्छ । नत्र प्राप्त प्रमाणपत्र खोसिनेछ । नेपालगन्ज विमानस्थल सुरक्षित प्रमाणपत्रबाट सम्मानित हुँदा पर्यटन प्रर्वद्धन तथा व्यवसायमा सहयोग मिल्ने नेपालगन्जका उद्योगी, व्यापारि बताउँछन् ।