‘बालमैत्री उपमहानगर’ विमोचन


‘बालमैत्री उपमहानगर’ विमोचन

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल सम्शेर राणाले बालमैत्री उपमहानगर बालपत्रिका विमोचन गरेका छन् ।
उपमहानगरपालिकाको प्राङ्गणमा भएको एक कार्यक्रममा मेयर राणाले सो बालपत्रिका विमोचन गरेका हुन् ।

वडा स्तरीय बालक्लब सञ्जाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० ले तयार पारेको बालमैत्री उपमहानगर बालपत्रिका विमोचन गर्दै मेयर राणाले बधाई तथा शुभकामना समेत दिए ।

उनले बालबालिका स्वयम स्वस्फूर्त भई आफ्ना लागि आफैले तयार पारेको बालपत्रिका प्रसंसा गर्दै यसको निरन्तर प्रकाशनमा हुनुपर्ने जोडसमेत दिएकाछन् । उनले भने विभिन्न वडामा गठित बालक्लबहरु पछिल्ला दिनमा सक्रिय हुदै आएकाछन् । बालक्लबबाट बालबालिकाहरु बालसमस्या समाधान सगैं सरोकारवालालाई उनीहरुप्रति जिम्मेवार बन्न आवाज उठाइरहेकाछन् । र, हामीहरुको कर्तब्य पनि हो बालबालिका प्रति सम्बेदनशील बन्नु ।

उपमहानगरपालिकामा देखिएका बालबालिको सवाललाई निर्मुलीकरण गर्दै बालमैत्री उपमहानगर निमार्णमा उपमहानगरपालिका अग्रसर भएकोे उल्लेख गर्दै उनले यो अभियानमा सबैले सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरे ।

वडा स्तरीय बालक्लब सञ्जालकी उपाध्यक्ष प्रचारिका केसीको अध्यक्षतामा भएको वार्षिक बालपत्रिकामा वडा नम्बर १० का वडा अध्यक्ष विन्दूभूषण बस्नेतले बालबालिकासम्बन्धि वडामा थुप्रै समस्या निर्मुलीकरण गर्नेतर्फ लागिरहेको बताए ।

उनले शुभकामना दिदै भने नतिजा तुरुन्तै आउदैन तर हामीले गरेका प्रयासबाट केही सफलता प्राप्त भएको छ । यस्तै बालमैत्री उपमहानगर वार्षिक बालपत्रिका विमोचनमा महिला तथा बालबालिका शाखा प्रमूख शोभा शाह, जिल्ला बालक्लब सञ्जाल बाँकेका पूर्व अध्यक्ष सुरेन्द्र चलाउने, वडा स्तरीय बालक्लब सञ्जाल वडा नम्बर १ की अध्यक्ष सिमरन थापा, वडा सञ्जालका सदस्यद्वय अतित अधिकारी र मुस्कान साहु लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

५६ पृष्ठको म्यागेजिनमा बालबालिकामैत्री सामाग्रीलाई प्राथमिकता दिईएको सम्पादन संयोजक बसन्त बस्नेतले बताए । बालपत्रिका विमोचन समारोहमा प्रकाशन समूहका सदस्यहरुलाई प्रशंसापत्र प्रदान गरि सम्मान गरिएको वडा सञ्जालका सल्लाहकार सम्पादक ऋतिक शाहीले जानकारी दिए ।