यौन शोषणमा परेकी बालिकाको स्वास्थ्य सुधारोन्मुख


यौन शोषणमा परेकी बालिकाको स्वास्थ्य सुधारोन्मुख

नेपालगन्जः यौन शोषणमा परेकी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० निवासी १३ वर्षिया बालिकाको अवस्था खतरामुक्त भएको चिकित्सकले बताएका छन् । उनको उपचारमा संलग्न चिकित्सकले उनी खतरामुक्त रहेको बताएका हुन् ।

नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचारार्थ संलग्न डा. विनोद महासेठले बालिका खतरा मुक्त रहेको बताए । उनले भने –‘बालिकाको स्वास्थ्य सुधारोन्मुख छ । उनी हाल खतरामुक्त छिन् । तर, बालिकाका लागि आवश्यक रगत सहजै नपाउँदा उपचारमा समस्या भयो ।’ उनले भने –‘बालिकाको एबी नेगेटिभ समूहको रगत अभाव भएको हो । यो रगत समूह दुर्लभ हुने भएकाले पनि हामीलाई उपचार गर्न कठिनाइ भएको छ ।’
सेतोखरीसंग कुरा गर्दै डा. महासेठले भने ‘बालिकाको शरीरमा अहिले ६ पिन्ट रगत छ, यसअघि ४ पिन्ट रगत चढाई सकियो । थप रगत आवश्यक परेकोछ । स्वास्थ्य सुधारात्मक भएकाले शरीरमा हेमोग्लोविन १० पिन्ट पुगेपछि थप उपचार गर्छौं ।’

‘बालिकालाई आवश्यक पर्ने रगत संकलनमा प्रहरीले धेरै सहयोग गरिरहेकोछ । रगतको कमी र स्वास्थ्य अवस्था सुधार नभएकै कारण बालिकाको पाठेघर पनि सफा गर्न सकिएको छैनौ ।’ डा. महासेठले भने, ‘पाठेघर सफा गर्दा पनि रगतको आवश्यकता पर्छ ।’

यौन शोषणबाट गर्भ रहन गएपछि असुरक्षित गर्भपतन गराउन खोज्दा ती बालिकाको अत्याधिक रक्तश्राब हुदाँ मृत्युको मुखमा पुगेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, कक्षा ८ मा अध्ययनरत एलिना (नाम परिर्वतन) ले पेटमा रहेको तीन महिनाको गर्भलाई आफै गर्भपतन गर्न खोजेकी थिइन् । गर्भपतन गराउन खोज्दा जथाभावि औषधी सेवन गरेपछि अत्यधिक रक्तश्राव हुँदा उनी मृत्युको मुखमा पुगेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले दोषीलाई कुनैपनि हालतमा नछाड्ने बताएकाछन् । उनले भने ‘पीडितबाट घटनाक्रम खुल्छ । हामी यो विषयमा गम्भीर बनेकाछौं यसको गहन अनुसन्धान गरेर दोषीलाई कानूनी कारबाही गर्छौं ।’

सेतोखरीसंग कुरा गर्दै बाँके प्रहरी प्रमुख एसपी पौडेलले भने– ‘बालिकाको स्वास्थ्य उपचार मुख्य कुरा हो, हामी अहिले त्यसैमा जुटेका छौं, उनको स्वास्थ्य अवस्थामा पनि क्रमिक सुधार हुदै आएकोछ ।’

एवी नेगेटिभ रगत समूहकी ती बालिकालाई बचाउन प्रहरीले रगत दान गर्न अनुरोध समेत गरेको छ । विश्वभरका कुल रक्तदातामध्ये करिब १ प्रतिशत मात्र एबी नेगेटिभ समूहका छन् । नेपालमा कुल रक्तदातामध्ये सून्य दशमलब ४ प्रतिशतको मात्र एबी नेगेटिभ समूहको रगत छ ।