द आर्ट अफ लिभिङ्गको ‘युथ इन एक्सन’ हुदै


द आर्ट अफ लिभिङ्गको ‘युथ इन एक्सन’ हुदै

नेपालगन्ज : द आर्ट अफ लिभिङ नेपालले वैदेशिक रोजगारमा जाने युवालाई स्वदेशमैै स्वरोजगारबाट आत्मनिर्भर बनाउन अभिप्रेरित गर्ने राष्ट्रिय स्तरको ‘युथ इन एक्सन’ परियोजना आयोजना गर्ने भएको छ ।

‘अध्यात्म, उद्यमशीलता र गतिशीलता’ भन्ने मूल नाराका साथ आगामी १६–१८ जेष्ठसम्म पोखरा महानगरपालिका १२ माटेपानीमा तीन दिने कार्यक्रम आयोजना हुने लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारि दिइएको हो ।

विदेशिने युवालाई उद्यमशिलतामा आकर्षित गरी आत्मनिर्भर बनाएर नेपालमै बसेर भविष्य निर्माण गर्न सकिन्छ भन्ने आत्मविश्वास जगाउने र राष्ट्र निर्माणमा युवाहरुको भूमिकालाई उजागर गरिने कार्यक्रमको उद्देश्य हो ।

युवाहरुमा उद्यमशीलतासँगै सार्थक आध्यात्मिक संलग्नता भूमिका बारेमा एक नयाँ बहस सुरुवात गरी अनेकतामा एकता बढावा दिँदै युवाहरुलाई सामाजिक, आर्थिक र आध्यात्मिक जागरणको माध्यमबाट राष्ट्र निर्माणमा सार्थक सहभागितामा उत्प्रेरित गर्न परियोजना सञ्चालन गर्न लागिएको हो ।

युवा दृष्टि र सोंचमा सकारात्मकता उजागर गर्दै उनीहरुको रचनात्मक विचार, उर्जा र विज्ञताको राष्ट्र निर्माणमा भरपुर उपयोग गर्नका लागि कार्यक्रममा आध्यात्मिकतासँग सांस्कृतिक, सामाजिक र आर्थिक विषयहरुमा युवाहरुलाई नेपालका प्रख्यात मोटिभेसनल स्पिकर डा. विशाल ढकाल, विश्वास ढकाल, विनोद विष्ट, निर्भान चौधरी, अनिल शाह तथा पारस खड्का लागायतले सहजिकरण गर्नेछन् ।

तीन दिनसम्म हुने कार्यक्रममा हरेक बिहान आध्यात्मिकताको परिचय, योग, प्रणायाम र ध्यानका साथै सुदर्शन क्रिया सिकाइने, दिउँसो ‘युवा नेतृत्व तथा उद्यमशीलता कार्यशाला’ हुनेछ । जसमा युवा उद्यमीहरुको सकारात्मक कार्य तथा सफलताका कथाहरु प्रस्तुत गरी सहभागीहरुलाई उद्यमशिलताका लागि उत्पे्ररित गर्नेछ ।

साँझ सहभागीलाई आ–आफ्ना भौगोलिक र सांस्कृतिक परिचय दिने गीतहरु, नृत्य र झाँकी प्रदर्शन गर्न सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ । जसको मुख्य उद्देश्य राष्ट्रिय एकता र सद्भावको सन्देशलाई बढावा दिनु रहेको ‘युथ इन एक्सन’ युवा कार्यक्रम संयोजक तथा आर्ट अफ लिभिङका बरिष्ठ प्रशिक्षक सौमाया गुरुङले बताईन् । 

कार्यशालामा नेपालको बहुसांस्कृतिक, बहुजाति, र विविध भौगोलिक स्थानहरुको प्रतिनिधित्व हुने गरी सबै जिल्ला र प्रदेशबाट १८ वर्षदेखि ३५ वर्ष उमेर समूूहका एक हजार युवा भेला हुने छन् । कार्यक्रमको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा द आर्ट अफ लिभिङ डीसीसी नेपालगन्जका संयोजक सञ्जय थापाले नेपालगन्जबाट सो कार्यक्रममा सहभागिता जनाउने समेत बताए ।