सदरलाईन नगरभवन अगाडी यात्रुको पर्खाइमा रहेको टाङ्गा । तस्बिर :विजय मल्ल/ सेतोखरी
नेपालगन्ज : अंग्रेजले भारतमा शासन चलाएको बेला लखनउ विद्रोह दबाउन राणासँग सहयोग मागेका थिए । त्यस क्रममा आफैं लखनउ पुगेका तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले त्यहाँजस्तै गन्ज (सहर) नेपालमा पनि बनाउने सपना देखेका थिए ।
विद्रोह असफल पार्न सहयोग गरेपछि अंग्रेजले आफूले युद्धमा जितेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता दिएको थियो ।
त्यसपछि बाँकेको समथल फाँट छानेर राणाले नेपालगन्ज बनाउने आदेश दिएका थिए । त्यतिबेला आधुनिक सवारीसाधन थिएनन् ।
राणा र राजपरिवारबीच बग्गी प्रचलनमा रहेको नेपालगन्जका जानकार बताउँछन् ।
दुईपांग्रा भएको साधनलाई एउटा जनावरले तान्ने गरी बग्गीको सर्वसाधारण रूपमा रहेको नेपालगन्जका पुराना जानकार सनत रेग्मी बताउँछन् । उनका अनुसार त्यसलाई एक्का भनिन्थ्यो, पछि समय परिर्वतनसगैं त्यसैलाई टाँगा भन्न थालियो ।
आधुनिक प्रविधि र सवारीको प्रवेश गर्नुपूर्व नेपालगन्जमा टाँगा नै सर्वसाधरणका लागि सवारी साधनको रूपमा स्थापित भएको थियो । उनले भने ‘त्यसैले त, नेपालगन्ज टाँगैटाँगाको सहर भनेर चिनिन थालेको हो ।’ जानकारकाअनुसार टाँगा चढ्न नेपालगन्ज आउने पर्यटक धेरै भेटिन्थे । अहिले भने नेपालगन्जमा टाँगा देख्नै मुस्किल भईसकेको छ ।
राजा, महाराजा र मन्त्रीहरू आउँदा पनि टाँगा चढ्ने गरेको उनीहरू बताउँछन् । नेपालगन्ज आउनु भनेको टाँगा चढ्नु हो भन्ने चलन जस्तै रहेको अर्का जानकार सच्चिदानन्द चौवे बताउँछन् । हाल टाँगा चलाउने पेशा गर्ने धेरैले घोडा बेचिसकेको उनले जानकारी दिए । उनका अनुसार
रानीबगियाका चुन्नी साहुका कुनै बेला १२ वटासम्म घोडा थिए । त्यसबेला उनी टाँगा चलाउँथे, अरूलाई पनि भाडामा दिन्थे ।
समयको मागसगैं र मानिसमा आएको विलासिताको लहडले नेपालगन्जमा टाँगा लोप हुदै गएकाछन् । टाँगाको स्थान रिक्सा, अटोरिक्सा र विभिन्न मोटरगाडीले लियो । टाँगा व्यवसायीहरु विस्तारै विस्थापित भए । उनीहरुले समयको मागलाई मध्यनजर गर्दै आफ्नो पेशा समेत बदलेकाछन् । मानिसहरु आजभोलि रिक्सा चढ्छन्, गाडीमा हुइँकिन्छन । घोडाको कामै छैन । उनी विगत र वर्तमानलाई तुलना गर्दै आफ्नो अनुभव सुनाउँछन् ।
टाँगा चढेर राप्तीका किनार घुम्न र नुहाउन गएको सम्झना गर्दै जानकार सच्चिदानन्द चौवे टाँगा विस्थापनसँगै धेरै सुमदायको
रोजीरोटी खोसिएको बताउँछन् । टाँगाहरूको आधुनिकीकरण हुन नसक्नु र संरक्षणको पहल नहुनु नै टाँगा विस्थापितको कारण भएको उनी बताउँछन् ।
अहिले धेरै मानिसहरू घोडाहरूको फोटो खिच्न मात्रै आउने गरेको टाँगा चालकहरू बताउँछन् । ४३ वर्षदेखि नेपालगन्जमा टाँगा हाँक्दै आएका मुन्नाको पनि हालत उस्तै छ । घोडालाई खुवाउने घाँसको धुलो, चनाको पीठो र धानको भुस किन्नेसमेत पैसा नभएपछि उनले घोडालाई खुल्ला चर्न छोडिदिन थालेका छन् । तर, कुनैबेला घोडा चरण क्षेत्र रहेको स्थान अहिले घरहरुले भरिएकोछ ।
यतिवेला नेपालगन्जमा मुस्किलले ५–६ वटा टाँगा मात्र देखिन्छन् । नेपालगन्जदेखि भारतीय सीमावर्ती बजार रुपैडिहाबाट सामान खरिद गरि ल्याउने र आवातजावत गर्ने मुख्य साधनका रुमा रहेको टाँगा विस्थापित भयो नै । त्यससगं जोडिएका टाँगा चलाउनेहरुले पनि आफ्नो व्यवसाय परिर्वतन गर्नुपर्ने बाध्यता रह्यो ।
यतिवेला नेपालगन्जमा टाँगामा चढ्ने मान्छे नै भेटिन्नन, दिनभरि दौडायो, साँझ घोडालाई खानेकुरा किन्नेसम्म पैसा हुन्न । नेपालगन्जमा रहेका केही टाँगा व्यवसायीहरुको यही नै हो पीडा । पहिले मुस्लिम समुदायमा धेरैजसोले टाँगा चलाउँथे । टाँगा ब्यवसायी मुन्ना भन्छन् ‘टाँगा
हराए, हाम्रो काम पनि सकियो ।’
टाँगा हराएसँगै टाँगावालाको पेसा त संकटमा परेको छ । टाँगाका लागि पालिएका घोडालाई धेरै घाँस चाहिन्थ्यो, त्यसैले माग धान्न मुस्किल थियो तर, अहिले घोडा नै नभएपछि उनीहरू पनि बेरोजगार बनेका हुन् । टाँगा चालक तथा टाँगा व्यवसाय गर्दै आएका अधिकासंले हाल ईट्टा भट्टामा ईट्टा, माटो बोक्ने, हार्डवेर लगायतका सामाग्री ढुवानी गर्नेमा सक्रिय छन् । तर पनि त्यहाँ प्रतिस्प्रर्धा भएकाले कामै पाउन हम्मे हम्मे हुन्छ । नेपालगन्ज धम्बोझीमा भेटिएका बुग्गी चालक बताउँछन् ।
टाँगा हराउँदा टाँगा चलाउँनेको रोजगारी मात्रै खोसिएको छैन टाँगाका लागि घाँस काट्ने घसियारहरूको समेत पुख्र्यौली पेशा संकटमा परेको छ । टाँगा हराउँदा घँसियारको जीविका मात्र नभई ईतिहास पनि संकटमा परेको नेपालगन्ज महेन्द्रपार्क स्थित घास मण्डीका घँसियारा बताउँछन् ।
कुनैबेला नेपालगन्ज उपमहानगरपालिका सरस्वती उमाविको छेउमा टाँगा स्टेशन थियो । जुन स्थान अझ पनि टाँगा स्टेशनका रुपमा परिचित छ । तर, विडम्बना आधुनिक सवारी साधनले टाँगा विस्थापन गरेसगैं टाँगा स्टेशन त छ तर एउटा पनि टाँगा भेटिन्नन् ।
टाँगा स्थानीय बासिन्दाको पुख्र्यौली पेसा मात्र होइन, नेपालगन्जको ऐतिहासिक पहिचानसँग पनि जोडिएको छ । तर, नेपालगन्जको पहिचान जोगाउँनतर्फ नेपालगन्ज उपमहानगरपालिका समेत उदासिन रहेको छ ।