भेरी अस्पतालमा सञ्चालित एकद्वार संकट ब्यवस्थान केन्द्र सबैभन्दा उत्कृष्ट


भेरी अस्पतालमा सञ्चालित एकद्वार संकट ब्यवस्थान केन्द्र सबैभन्दा उत्कृष्ट

नेपालगन्ज १२ मंसिर : भेरी अस्पतालमा सञ्चालित एकद्वार संकट ब्यवस्थान केन्द्र (ओसीएमसी) ले सबैभन्दा उत्कृष्ट काम गरिरहेको बताईएको छ । नेपालगन्जमा सञ्चालित एकद्वार संकट ब्यवस्थापन केन्द्र तथा सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिममा युनिसेफका प्रकाश कैनीले नेपालका सबै जिल्ला सदरमुकाममा रहेका अस्पताल तथा निजी अस्पतालमा स्थापना गरिएका ८८ वटा ओसीएमसी मध्य बाँकेले उत्कृष्ट काम गरिरहेको बताए ।

लैंगिक हिंसा पीडित वा प्रभावितहरुलाई एकिकृत रुपमा स्वाथ्य सेवा, मनोसामाजिक विमर्श, चिकित्साजन्य प्रमाण संकलन र संरक्षण, अल्पकालिन आश्रय, कानूनी उपचार आवश्यकताअनुसार सुरक्षा ब्यवस्था र परिवार तथा जिविकोपार्जनमा सहयोग गर्न तोकिएका अस्पतालहरुमा एकद्वार संकट ब्यवस्थान केन्द्रको स्थापना गरिएको जानकारी दिँदै उनले पछिल्लो समय महिला भन्दा बालबालिकाहरु बढी हिंसामा परिरहेको जानकारी दिए ।

युनिसेफको सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा शनिबार र आईतबार सञ्चालित दुई दिने तालिममा सहजीकरण गर्दै कैनीले आर्थिक वर्ष २०७४÷०७५ देखि ०७६÷०७७ मा प्रहरीको तथ्यांक अनुसार ६२.४ प्रतिशत बालबालिका हिंसा पीडित रहेको बताए । ति बालबालिकाहरु परिवार, विद्यालय र समाजबाट नै हिंसा पीडित भैईरहेको पाईएको उनले बताए ।

समग्रमा हिंसापिडित महिला र बालबालिकालाई ओसीएमसी मार्फत सेवा दिन सकिने भएपनि बालबालिकाहरु ओसीएमसीसम्म कम मात्रामा पुग्ने गरेको उनले बताए । तालिमको समापन गर्दै भेरी अस्पताल नेपालगन्जका फिजसियन तथा ओसीएमसीका संस्थापक डाक्टर संकेत रिसालले हालसम्म ओसीएमसी मार्फत ६ सय बढीलाई सेवा दिएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

उनले भने –‘सबै जिल्लामा ओसीएमसी स्थापना गरिएको छ, तर कर्णाली र सुदूरपश्चिमबाट समेत हिंसा पीडितहरु भेरी अस्पतालमै आउँछन्, सेवा लिन आउने जुनसुकै जिल्लाकालाई स्वाथ्य उपचारदेखि प्रक्रिया अनुसार अन्य सेवा दिँदै आएका छौ ।’

तीनवटा प्रदेशका हिंसा पीडितहरुलाई सेवा दिँदै आएपनि भेरी अस्पतालको ओसीएमसीमा एक जना मात्र कर्मचारी रहेको बताए । जनशक्ति बढी भए अझ प्रभावकारी रुपमा काम गर्न सहज हुने उनले बताए । हिंसा पीडितहरु स्वाथ्य उपचारपछि न्यायिक प्रक्रियामा जान नपाउँदै बयान बदल्ने र पीडकसँग आफै मेलमिलाप गर्नेहरु धेरै रहेको डाक्टर रिसालले बताए ।

तालिम समापन कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले भेरी अस्पतालको ओसीएमसीमा नगरपालिकाबाट एकजना छुट्टै कर्मचारी राख्ने प्रतिबद्धता जनाए ।

भेरी अस्पताल ब्यवस्थापन समितिका सदस्य सरस्वती मल्लले ओसीएमसीले भौतिक पूर्वाधर अभावका कारण भेरी अस्पतालले अझै ब्यवस्थित रुपमा सेवा दिन नसकेको बताईन् ।

यस्तै नेपालगनज उपमहानगरपालिका महिला तथा बालबालिका शाखा अधिकृत मञ्जु पाण्डेले ओसीएमसीमा जिल्ला स्थित सबै स्थानीय तह, प्रहरी प्रशासनलगायत सबै निकाय आबद्ध रहेपनि समन्वय बैठक तथा छलफल प्रयाप्त मात्रामा हुन नसकेको बताईन् ।

ओसीएमसीसँगै काम गर्ने सरोकार निकायमा आबद्धहरु सहभागी तालिममा ओसीएमसीको सेवा अझ प्रभावकारी र हिंसा पीडितहरुलाई उचित परामर्श दिन सकिने उपायबारे जानकारी दिईएको थियो ।
तालिममा सहभागीहरुले ओसीएमसीमा गईसकेपछि पनि हिंसा पीडितले झन्झटिलो कानूनका कारण छिटोछरितो न्याय पाउन नसको बताएका थिए । पीडितले एकद्वार प्रणलीबाट स्वाथ्य उपचार र न्याय पाउन नसकेको सहभागीहरुको भनाई थियो ।

सिद्धार्थ सामाजिक विकास केन्द्रका सूर्यप्रसाद पौडेलले जनसंख्या तथा परिवार कल्याण मन्त्रालय लुम्बिनी प्रदेशको समन्वय तथा युनिसेफको सहयोगमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा एकद्वार संकट ब्यवस्थापन केन्द्र तथा सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिरहेको जानकारी दिए ।