नेपालगन्ज: वास्तविक नाम ईन्द्रप्रसाद खरेल हो, तर उनी वास्तविक नामभन्दा आइपी खरेल उपनामले परिचित छन् । उनी इन्द्रको प्रसादको रुपमा समाजमा सतवीज छर्दै सर्वहारा वर्गको हितमा लागेका छन् । उनी खरो, दह्रो र विद्रोही स्वभाव भएको नेताको रुपमा गणना हुन्छन् । आफूलाई मन नपरेको कुरामा उनी न समर्थन जनाउँछन् न त चुप लागेर बस्न नै सक्छन् यो उनको अर्को बिशेषता हो ।
उनी हरेक कुरा निर्भिकताका साथ राख्ने र नराम्रो कुराको विरोध गरिहाल्ने उनको बानी भएकोले उनी राजनीतिक वृत्तमा फरक शैली भएको नेताको रुपमा अगाडी आउँछन् । उनी ब्यवहारमा खरो र विद्रोही जस्तो देखिए पनि दिलका धनी मनका मनकारी छन् । कसैकसैले उनलाई झर्रो नेता भनेर चिन्दछन् । ‘मलाई नबुझ्नेहरु मलाई विरोधी, उग्र र खरो स्वभावको भन्छन्, तर म अरुले बुझेको जस्तो छैन,’ उनले भने ।
विद्रोही स्वभावले उनलाई कम्यूनिष्टको सिद्धान्तले डो¥यायो । त्यसैले उनी कम्यूनिष्ट विचारधारा बोकेर कम्यूनिष्ट राजनीतिमा लागेका काभ्रेपलाञ्चोक तेमाल गाउँको खरेल परिवारका पहिलो सदस्य बन्न पुगे ।
उनी भन्छन्, ‘म सानैदेखि विद्रोही स्वभावको भएकोले सर्वहाराको हितका लागि विद्रोह गर्न कम्यूनिष्ट बने । म मेरो खरेल परिवारमा कम्यूनिष्ट विचारधारा बोक्ने पहिलो सदस्य हुँ ।’
विक्रम सम्वत् २०१८ सालमा काभ्रेमा जन्मिएका आइपी खरेल सानै उमेरमा राजनीतिमा होमिए । सुरुवाती चरणमा उनले कम्यूनिष्टको परिभाषा नबुझेर राजनीतिमा लागेका थिए । उनी ३ कक्षामा पढ्ने बेला २०३३ सालमा चौथो महाधिवेशनबाट पार्टीको सदस्यता लिए । त्यतिबेला उनी आमाबाबुसँग चितवनमा थिए । बसाई सराई गर्ने क्रममा उनी आमाबाबुको साथमा चितवनमा छँदा पार्टी सदस्यता लिएपछि नेताको निर्देशनमा पार्टीको काम गर्न सुरु गरे ।
कक्षा तीन पढ्दा कम्यूनिष्ट पार्टीको सदस्य
राजनीतिक जीवनमा आइपी खरेलले धेरै नेता, कार्यकर्ता उत्पादन गरे । उनलाई राजनीतिक गुरु मान्नेहरु नेपालमा धेरै छन् । तर, उनका पनि राजनीतिक गुरु छन् । उनले नारायण प्राविमा पढाउने शिक्षक गोपीकृष्ण थपलियालाई राजनीतिक गुरु मान्ने गरेका छन् ।
कक्षा ३ मा पढ्ने बेला चौथो महाधिवेशन पार्टीको सदस्यता दिने र कार्ल माक्र्स र लेनिनले प्रतिपादन गरेका सिद्धान्तको ज्ञान दिएका तिनै थपलियालाई राजनीतिक गुरुका रुपमा मान्ने गरेको उनले बताए । ‘मलाई कम्यूनिष्ट र ल्याउने पहिलो ब्यक्ति मेरा राजनीतिका गुरु गोपीकृष्ण थपलिया हुनुहुन्छ,’ उनले भने, ‘उहाँकै कारण म कम्यूनिष्ट राजनीतिमा सक्रिय भएँ ।’
गुरुले देखाएको बाटो हिड्ने क्रममा उनी २०३५ सालमा बाँकेमा भएको चौथो महाधिवेशन, बाँकेको तदर्थ समिति गठनका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरे । उनी र हरिभक्त कँडेलको सक्रियतामा गठन भएको तदर्थ समितिको सेक्रेटरी कँडेल भए पनि उनी बाहिर बसेर पार्टीलाई सहयोग गर्ने निधो गरे । ‘हरिभक्तजी र म बसेर तदर्थ समिति गठन ग¥यौँ, मलाई भारत जानुपर्ने भएकोले समितिमा बसेन,’ उनले भने ।
शैन्य तालिम दिन पोख्त
पार्टी सदस्यता लिएदेखि उनले राजनीतिमा विराम लाग्न दिएनन् । जीवनभर उनी पार्टीको नियमित काममा खटिदै आएका छन् । भारतको हिमाञ्चल प्रदेशमा बस्दा समेत उनले राजनीतिलाई निरन्तरता दिए । हिमाञ्चल प्रदेशमा गएको केहि समयमै उनी अखिल भारत नेपाली एकता समाज, हिमाञ्चलको संयोजक भए । उनले २०३४ सालसम्म उक्त जिम्मेवारी निर्वाह गरे ।
उनी २०४३ सालमा नेकपा (मशाल) को बाँके जिल्ला सदस्य, २०४७ सालमा नेकपा (एकता केन्द्र), सुदूरपश्चिमाञ्चल क्षेत्रीय ब्यूरो सदस्य तथा दार्चुला जिल्ला सेक्रेटरीको भूमिका निर्वाह गरे । भने, २०४८ सालमा पार्टीको निर्णय बमोजिम फेरि बाँके फर्किए ।
पार्टीमा राम्रो काम गरेपछि उनी २०५२ सालमा संयुक्त जनमोर्चा बाँकेको अध्यक्ष भई बाँके र बर्दियाको सेक्रेटरीको भूमिका निर्वाह गरे । पार्टी युद्धमा गएपछि २०५३ सालमा उनी शैन्य तालिम लिन भारत गए । र, एक दुई महिने शैन्य तालिम लिएर फर्किए पछि नेकपा (माओवादी) भेरी–कर्णाली क्षेत्रीय ब्यूरो अन्तरगत जाजरकोटमा पहिलो शैन्य तालिम दिए । तालिम दिएर फर्किए पछि उनी फेरि बाँके फर्किए । उनले रुकुममा बसेर धेरै ठाउँमा शैन्य तालिम दिए । ‘रुकुममा कार्यक्षेत्र हुँदा धेरै ठाउँमा शैन्य तालिम दिएँ,’ उनले भने ।
माओवादीमा विद्रोह गर्ने पहिलो नेता
उनी विद्रोही स्वभावका भएकोले मन नपर्नासाथ विद्रोह गरि पार्टी परित्याग गरेको प्रशस्त उदाहरण छन् । २०५४ सालमा नेकपा (माओवादी) को चौथो विस्तारित बैठकले पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्राधिकार घोषणा गरेपछि नेतृत्व प्राधिकारको विरोध गर्दै पार्टीबाट विद्रोह गरे ।
पार्टीका नेता र कार्यकर्ताले आफ्नो लेख, रचना र बैठकमा प्रचण्डको भनाई उदृध (कोटेशन) गर्नुपर्ने अनिवार्य गरिएको उनलाई चित्त बुझेन । नेतृत्व प्राधिकारको घोषणा गर्नु माक्र्सबाद सम्मत नभएको भन्दै उनी सहितका नेताले विरोध जनाए । ‘उक्त निर्णयको विरोध गर्दै सच्याउन मागसहित पार्टीमा फरक मत दर्ज गरायौं । सच्याउन ७ दिनको समय दिएर नेपालगन्जमा भूमिगत भएर बस्यौँ,’ उनले भने, ‘पार्टीले माग नसुनेपछि पार्टीलाई जानकारी दिएर विद्रोह गरेको घोषणा ग¥यौँ ।’ पछि प्रचण्डलाई प्राधिकार दिने निर्णय नै प्रचण्ड पथ बन्यो ।
कम्यूनिष्ट पार्टी एक बनाउने अभियन्ता
पार्टीबाट विद्रोह गरेपछि भरत दाहालको अध्यक्षतामा देशभक्त कम्युनिष्ट लिग गठन गरे उनले । उक्त पार्टीको सेक्रेटरीको जिम्मेवारी आइपी खरेलले पाए । कम्यूनिष्ट लिगले श्याम श्रेष्ठले नेतृत्व गरेको समाजवादी पार्टी, मोहन विक्रम सिंहले नेतृत्व गरेको नेकपा (मसाल), नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको नेकपा (एकता केन्द्र) सँग एकता प्रयास ग¥यो ।
प्रयास पछि २०५७ सालमा एकता केन्द्रसँग पार्टी एकता गर्न सफल भए । त्यसपछि उनी संयुक्त जनमोर्चाको केन्द्रिय सदस्य चयन भए । २०५८ सालमा मसाल र एकता केन्द्रको एकीकरण पछि उनी संयुक्त जनमोर्चाको केन्द्रिय सदस्य र जनमोर्चा बाँकेको अध्यक्षको भूमिका पाए । ‘२०६२ सालमा पार्टी विभाजन भएपछि म एकता केन्द्रमा नै बसिरहेँ,’ उनले भने ।
एवम रितले उनी पार्टीको भूमिकामा रहिरहे । २०६५ सालमा माओवादी र एकता केन्द्र (मसाल) वीच एकता भएपछि गठन भएको एकीकृत माओवादी गठन भएपछि पनि उनले केन्द्रिय सदस्यको जिम्मेवारी पाए । तर, उनी उक्त पार्टीमा धेरै दिन टिकेनन् । २०६९ सालमा ए–माओवादी फुटेपछि उनी पार्टीबाट विद्रोह गरेर मोहन बैद्य (किरण)ले नेतृत्व गरेको नेकपा–माओवादी तिर लागे । पार्टीले उनलाई केन्द्रिय सदस्यको जिम्मेवारी दियो ।
२०७१ सालमा क्रान्तिकारी माओवादी र एकीकृत माओवादी वीच एकता भएपछि उनले केन्द्रिय सदस्य तथा पोलिटब्यूरो सदस्यको जिम्मेवारी पाए । एमाले र एमाओवादी वीच एकीकरण भएपछि उनलाई पार्टीले अहिले प्रदेश कमिटी सदस्य सँगै नेकपा, बाँकेको अध्यक्षको जिम्मेवारी दिएको छ ।
चौथो महाधिवेशनको लाइनमा सधैं अडिग
आइपी खरेलले आफ्नो जीवनको अधिकांश समय कम्यूनिष्ट राजनीतिमा विताए पनि उनी अस्थिर राजनीति गर्ने नेताको रुपमा चिनिन्छन् । उनको राजनीतिक ईतिहास हेर्दा पनि उनी एउटै पार्टीमा लामो समय विताएको देखिदैन ।
उनको राजनीतिक ईतिहासलाई नजिकबाट हेर्ने र देख्नेले लगाएको आरोप सत्य हुन जान्छ । उनले आफू विद्रोही स्वभावको भएको स्विकार गरे पनि राजनीतिमा अस्थिर नभएको ठोकुवा गर्छन् ।
उनले चौथो महाधिवेशनसँग मेल खाने र विचारधारा मिल्ने पार्टीमामात्र आफू लागेको दावी पेश गर्छन् । उनले चौथो महाधिवेशन र माओवादीको विचारधारामा कुनै फरक नभएको बताए । ‘म जुन–जुन पार्टीमा लागे ति सवै पार्टीको विचारधारा चौथो महाधिवेशन र माओवादीसँग मेल खानेमात्र छन्,’ उनले भने, ‘एकीकृत माओवादी र एमाले मात्र फरक धारका हुन् ।’
निष्ठा र स्वाभिमानका साथ राजनीतिमा अडेका आइपी
राजनीतिमा उनी कसैसँग झुकेका छैनन् । निष्ठा र स्वाभिमानको गरिमालाई जोगाएर राजनीतिलाई अगाडी बढाउन सफल भएकोमा उनलाई सबैभन्दा गौरव लागेको छ । पार्टी भित्र प्रतिशोध साध्नेहरुलाई निष्ठा र स्वाभिमानको राजनीतिले परास्त गरेको उनी ठान्दछन् । ‘राजनीति गर्ने र नगर्नेहरु आइपी खरेलका बारेमा छुट्टै धारणा बनाएका छन्, यो नै मेरो गहना हो,’ उनले भने, ‘अरु सँग सम्पत्ती छ, म सँग स्वाभिमान र निष्ठा छ ।’
उनले पैसालाई गौण मान्दछन् । प्रतिष्ठा र इमान्दारिताका अगाडी पैसाले काम नगर्ने बताउने उनी पैँसा कमाउन नसकेकोमा दुख भन्दा खुशी धेरै भएको बताउँछन् । सँगैका साथीभाईले पैसा कमाएको देखेर इष्टमित्रले पैसा कमाउन सुझाव नदिएका होइनन् । तर, उनले यस्तो सल्लाह दिनेलाई उल्टै हपारेर पठाउँछन् । उनले पैसा कमाउने माक्र्सबादको सिद्धान्त नभएको बताए । ‘पैसा नकमाएर समाज बदल्ने अभियानमा लाग्न पाएकोमा म खुशी छु,’ खरेलले भने ।
पैसा दुई चार दिन रहने बस्तु भएको बताउँदै सिद्धान्त, निष्ठा र इमान्दारिता पैसाले खरिद गर्न नसकिने धारणा राख्दछन् । पैसा होइन, समाज परिवर्तनका लागि निष्ठा चाहिन्छ,’ उनले भने । उनले निष्ठा र इमान्दारिताको राजनीतिले अहिले नेकपा प्रदेश ५ को सदस्य, नेकपा, बाँकेको अध्यक्ष र जनताबाट चुनिएर प्रदेश सभासद हुने अवसर पाएको बताए ।