खजुरामा शैक्षिक महोत्सवः विद्यार्थी उत्साहित


खजुरामा शैक्षिक महोत्सवः विद्यार्थी उत्साहित

नेपालगन्ज : बाँकेको खजुरा स्थित ज्ञानोदय नमूना माविमा बिहीबारदेखि शुरु भएको शैक्षिक महोत्सवमा विद्यार्थी उत्साहित बनेका छन् । आफ्नो प्रतिभा प्रष्फुटन गर्न पाउँदा खजुरा क्षेत्रका विभिन्न विद्यालयबाट सहभागी विद्यार्थी महोत्सवमा उत्साहित बनेका हुन् ।

शैक्षिक महोत्सवमा चित्रकला, अनुलेखन, पठनबोध, हाजिरीजवाफ, गायन, एकल नृत्य सामूहिक नृत्य, कविता वाचन, शैक्षिक सामाग्री मूल्यांकन, वक्तृत्वकला विद्यार्थीवीच प्रतिस्पर्धा गराइएको छ भने पुरुष शिक्षकका लागि घैटोफोड र महिला शिक्षकका लागि कुर्सी दौड राखिएको छ ।

खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा भएको शैक्षिक महोत्सव तथा अतिरिक्त क्रियाकलाप २०७६ को खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले उद्घाटन गर्दै खजुरालाई शैक्षिक हब बनाइने बताए । उनले खजुरा शिक्षामा अगाडि बढिसकेको बताउँदै शैक्षिक
सुधारका लागि महोत्सव कोशेढुंगा सावित हुने उल्लेख गरे ।

शैक्षिक महोत्सवमा खजुरा क्षेत्रका ३९ विद्यालय सहभागी छन् । शुक्रबारसम्म सञ्चालन हुने महोत्सवमा सञ्चालन तथा व्यवस्थापन जिम्मा पाएको ज्ञानोदय नमूना माविका प्रधानाध्यापक तथा खजुरा गाउँपालिका शिक्षा समिति सदस्य ऋषिराम सापकोटाले सहभागीलाई स्वागत गरेका थिए ।

भने शिक्षा समिति सदस्य तथा ज्ञानोदय नमूना मावि व्यवस्थापन समिति अध्यक्ष भक्तबहादुर केसीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
शैक्षिक सामाग्री प्रदर्शनी तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिताको प्रत्येक विद्यामा आकर्षक पुरस्कार तथा ट्रफीको समेत व्यवस्था गरिएको छ । सहभागी विद्यालयले महोत्सव स्टलमा शैक्षिक समाग्री प्रर्दशनीमा राखेका छन् ।