नेपालगन्ज : नेपालगन्जका साहित्यकार आर.के देवकोटाले आफ्नो पहिलो कृतिको विमोचन गरेकाछन् । देवकाटाले लेखेको खण्डकाव्य ‘भुत भविष्य वर्तमान’को एक कार्यक्रमका बीच शनिबार नेपालगन्जमा विमोचन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी देवकोटाद्वारा प्रकाशित पहिलो कृतिको विमोचन गरे ।
नेपाली समाजको चरित्रलाई आधार बनाएर प्रकाशित कृति तीन खण्डमा विभाजन गरिएकोछ । खण्डकाब्यको पहिलो खण्डमा साग र सिस्नोमा निर्भर रहने नेपाली समाजका बारेमा चर्चा गरिएको छ ।
नेपाली समाजको भूतलाई चित्रण गर्दै गिठा, तरुल, भ्याकुर, गन्जी खाएर आत्मनिर्भर बनेको नेपाली समाजले परनिर्भरता नखोजिएको खण्डकाव्यमा समेटिएको छ । चोरी, डकैती, लुटपाट जस्ता विकृतिहरु नभएको र मानिसलाई केवल जंगली जनावरबाट मात्रै डराउनुपर्ने अवस्थाको चित्रण गरिएको छ । विगतमा पाप र धर्म सम्झिएर मानिसले व्यवसाय गर्ने गरेको, वेद, गीता जस्ता धार्मिक ग्रन्थहरु पढ्ने र त्यसले सही आचरणमा अघि बढ्ने गरेको खण्डकाव्यमा चित्रण गरिएको छ ।
यस्तै खण्डकाव्यको दोस्रो खण्डमा मानिसहरुले विज्ञानलाई पछ्याउन थालेकोले विस्तारै आधुनिकतातर्फ अघि बढेकोसँगै सञ्चारले विश्व जगतलाई एकत्रित बनाएर चेतना प्रदान गरेको कुरालाई चित्रण गरिएको छ । नेपाली समाज पनि आधुनिकतातर्फ अघि बढेको कुरालाई चित्रण गर्दै उर्वर भूमीहरु सडकमा परिणत हुँदै कृषिको उत्पादन ह्रास हुँदै गएको खण्डकाव्यमा जनाइएको छ । काम गर्नेहरु अल्छी हुँदै गएको, सुविधा जति सबै घरभित्रै प्रयोग गरिरहेको, पानीका धारा भान्सामा जोडेर सुविधाभोगी भएका जस्ता कुराहरुलाई खण्डकाव्यमा समेटिएको छ ।
खण्डकाव्यको तेस्रो खण्डमा नागरिकले गास, बास र कपास नपाएरै भौतारिनुपरेका कुराहरुलाई समेटिएको छ । नागरिकका अधिकारहरु हनन् भएको, चोरी, डकैती, लुटपाट, हत्या हिंसा, बेरोजगारी, बलात्कार जस्ता अपराधिक गतिविधिहरुले प्रश्रय पाइरहेका कुराहरुलाई चित्रण गरिएको छ । नेपाल अरुकै क्रिडास्थल बनेको विषयलाई पनि खण्डकाव्यमा समेटिएको छ भने यहाँका खोला नालाहरु बेचिएका, प्राकृतिक स्रोत साधनहरु भारततर्फ तस्करी भइरहेको, बलियाले कमजोरमाथि शासन गरेर जनतालाई निरिह र कमजोर बनाएका जस्ता विषयहरुलाई समेटिएको छ ।
खण्डकाव्यको विमोचनका क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले पहिलेको सभ्य समाज वर्तमान समयमा आएर विकृत भएको र यो खण्डकाव्यले यस्ता विषयहरुलाई वैचारिक आख्यानको रुपमा उठान गरेको बताए । यस्तै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य हरिप्रसाद तिमिल्सिनाले पुस्तक दस्ताबेज भएकोले साहित्यमा कलम चलाउने साहित्यकार तथा कविले आफूले लेख्ने विधामा अध्ययन गर्नुपर्ने बताउँदै यस काव्यले नेपाली समाजको असली चरित्रलाई चित्रण गरेको बताए ।
समालोचक इन्द्रबहादुर भण्डारीले पुस्तकमा केही व्यवस्थापकीय कमजोरी रहे पनि समग्रमा नेपाली समाजका तीन वटा अवस्थालाई चित्रण गरेको उनले बताए । टिप्पणीकार डम्बर पुनले पुस्तकभित्र केही त्रुटीहरु देखिएकाले यसलाई आगामी दिनमा सच्याएर अघि बढ्न सुझाव दिए ।
भेरी साहित्य समाज बाँकेले प्रकाशन गरेको खण्डकाव्यमा प्राविधिक तथा व्यवस्थापकीय त्रुटी रहेको स्वीकार गर्दै समाजका अध्यक्ष रामचन्द आचार्यले आगामी दिनमा यस्ता त्रुटिहरु दोहोरिन नदिने प्रतिवद्धता जनाए ।