नेपालगन्ज : दरबार हत्याकाण्ड भएको आज १८ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरवारभित्र भएको गोलीकाण्डमा तत्कालिन राजा वीरेन्द्र शाहको बंश नै नाश हुने गरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो ।
हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहितको निधन भएको थियो । घटनापछि तत्कालिन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालिन युवराज दीपेन्द्रबाटै भएको ठहर
गरे पनि यसलाई धेरैले विश्वास गरेका छैनन् ।
वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि ज्ञानेन्द्र शाहले ४ वर्ष राजगद्दी सम्हाले । माओवादीको शसस्त्र द्वन्द्व र राजनीतिक दलहरुको जनआन्दोलनपछि नेपाल गणतान्त्रिक मुलुक घोषणा भयो । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि देशमा राजतन्त्र नै समाप्त भयो ।
ज्ञानेन्द्र शाह नै नेपालको ईतिहासमा अन्तिम राजा बने । तर, बंशनै नाश हुने गरि भएको दरबार हत्याकाण्डले अझै पूर्णविराम पाउन सकेकोछैन । हत्या कसले किन गरेको भन्ने कुरा अझै अनुसन्धानको गर्भमा रहेकाले दरबार हत्याकाण्डको रहस्य खुल्नेमा नेपाली विश्वस्त हुनसकेकाछैनन् ।
दरबार हत्याकाण्ड भएको १८ वर्ष वितिसक्दा पनि पटक–पटक बनेका सरकारले रहस्यको प्रदाफास गर्ने प्रतिबद्धा समेत दिदै आएकाछन् ।
यसैबीच ठकुरी सहयोग सञ्जाल बाँकेले आईतबार बेलुका ६ बजे नेपालगन्जको विरेन्द्र चोकमा दिपप्रज्वलन गर्नेभएकोछ । दरबारहत्याकाण्डमा दिवंगत राजपरिवारलाई श्रद्धाञ्जली दिन द्विप प्रज्वलन गरिन लागको ठकुरी सहयोग सञ्जालका अध्यक्ष दीपक शाहीले बताए । उनले सो द्विप प्रज्वलनमा सर्वसाधरणलाई उपस्थितका लागि समेत आग्रह गरे ।