नेपालगन्ज : दरबार हत्याकाण्डमा दिवंगत राजपरिवारको १८ औं पुण्य तिथि नेपालगन्जमा मनाइएकोछ । नेपालगन्जमा रहेका विभिन्न संघसंगठनले दरबार हत्याकाण्डमा दिवंगत राजपरिवारको पुण्य तिथि मनाएको हो ।
आईतबार बेलुका ७ बजे नेपालगन्ज स्थित विरेन्द्र चोकमा ठकुरी सहयोग सञ्जाल बाँके र ठकुरी पत्रकार समाजले संयुक्तरुपमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दिप प्रज्वलन गरेको ठकुरी सहयोग सञ्जालका बाँके अध्यक्ष दिपक शाहीले बताए ।
यस्तै दरबारहत्याकाण्डमा दिवंगत राजपरिवारलाई आइतबार राप्रपा निकट युवा संगठले श्रद्धाञ्जली दिदै द्विप प्रज्वलन गरेको संगठनका युवा नेता हुकुम बस्नेतले जानकारी दिए ।
२०५८ साल जेठ १९ गते दरवारभित्र भएको गोलीकाण्डमा तत्कालिन राजा वीरेन्द्र शाहको बंश नै नाश हुने गरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो ।

हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहितको निधन भएको थियो । घटनापछि तत्कालिन
सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालिन युवराज दीपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई धेरैले विश्वास गरेका छैनन् ।
बंशनै नाश हुने गरि भएको दरबार हत्याकाण्डले अझै पूर्णविराम पाउन सकेकोछैन । हत्या कसले किन गरेको भन्ने कुरा अझै अनुसन्धानको गर्भमा रहेकाले दरबार हत्याकाण्डको रहस्य खुल्नेमा नेपाली विश्वस्त हुनसकेकाछैनन् । दरबार हत्याकाण्ड भएको १८ वर्ष वितिसक्दा पनि पटक–पटक बनेका सरकारले रहस्यको प्रदाफास गर्ने प्रतिबद्धा समेत दिदै आएकाछन् ।