खजुरा (बाँके) : बालिका सुरक्षित कार्यक्रम प्रभावकारी बन्दै आएको पाइएकोछ । बाँकेको खजुरास्थित ज्ञानोदय माबिमा सञ्चालित बालिका सुरक्षित कार्यक्रम प्रभावकारी बन्दै आएको हो ।
कार्यक्रम यसअन्तर्गत किशोरी, बालिका, बालिकाका अभिभावक र सरोकारवालाहरुसंग मंगलवार भएको अन्तरक्रियामा यस्तो बताइएको
हो । पढ्नका लागि कोठा (रुम टु रिड) नामक संस्थाले बिद्यालयमा अध्ययनरत बालिकाहरुलाई जीवन उपयोगी सीप, नेतृत्व बिकास तालिम, सम्बन्ध बिस्तार सीप, सञ्चार सीप र बचत गर्न सक्ने सीप लगायत बालिकाका जीवनमा आउने परिवर्तन र अभिभावकको भूमिका विषयमा गरिएको अन्तरक्रियामा सो जानकारी गराइएको छ ।
सो अन्तरक्रिया कार्यक्रममा ६१ जना बिद्यार्थी बालिका, बालिकाका अभिभावक, शिक्षक, जनप्रतिनिधि लगायतको सहभागिता रहेको
थियो । अन्तरक्रियामा सहभागी बालिकाले आफूमाथि आएको परिवर्तनका बिषयमा सबै सामु निर्धक्क आफ्ना भनाईहरु राखेका थिए । पढ्नका लागि कोठा नामक संस्थाले परियोजना अन्र्तगत समस्यामा रहेका कक्षा ६ देखि १२ कक्षा सम्म अध्ययनरत बालिकाहरुलाई सुरक्षित रुपमा उत्तीर्ण हुने वातावरण समेत श्रृजना गरिरहेकोछ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका संयोजक अजयकुमार श्रीवास्तवले संस्थाद्वारा सञ्चालित कार्यक्रमले बिद्यालयमा अध्ययन गर्ने बालिकाहरुको शिक्षामा परिवर्तन ल्याउने बताए । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले परियोजनामा सम्मलित बालिकाहरुमा पढाई रुची बढ्नुका साथै व्यक्तिगत सीप बिकास बढ्दै गएका पाइएकाले गाउँपालिकाका अरु बिद्यालयमा पनि समन्वय गरेर अगाडी बढ्ने बताए ।
पढ्नका लागि कोठा (रुम टु रिड) नामक संस्थाका कार्यक्रम ब्यबस्थापक हेम लम्सालले बालिकाहरुका लागी लागु गरिएको कार्यक्रमको प्रभावकारिता बढ्दै गएको र गाउँपालिकाले पनि यसको अनुशरण गरेकाले अन्य बिद्यालयमा समेत लागु गर्न गाँउपालिकालाई सुझाव दिए ।