मान्छे खाने बाघले ‘पाडो’ रुचाएन, ‘डार्ट’ गरि बाघ समाउने प्रयास असफल बन्दै


मान्छे खाने बाघले ‘पाडो’ रुचाएन, ‘डार्ट’ गरि बाघ समाउने प्रयास असफल बन्दै

फत्तेपुर (बाँके) ३ माघ : बाँकेको फत्तेपुर जङ्गलमा बाघको पाइला पछ्याइरहेको विशेषज्ञसहितको टोलीलाई मान्छे खाने बाघले झुक्याइरहेकोछ । लगातार बाघ आक्रमणको घटना बढिरहेको बाँकेको राप्तीसोनारीमा बाघ समाउन खटिएको प्राविधिक टोलीले केही दिनअघि फत्तेपुर जङ्गलमा बाघको ताजा पाइलाको छाप भेटाएको थियो ।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ फत्तेपुरको जङ्गलमा ताजा बाघको छाप भेटाएको बाघ नियन्त्रणमा खटिएको प्राविधिक टोलीले उक्त बाघ नियन्त्रणमा लिन भरपुर प्रयास जारी गरिरहेकोछ । बाघको ताजा पाइला फेला परेपछि सम्भावित स्थानमा आहारा स्वरुप गत मंगलबार एउटा ‘पाडो’ लगेर जंगलमै बाँधियो । त्यसको भोलीपल्ट बुधबार सम्भावित अर्को स्थानमा पनि आहारा स्वरुप अर्को पाडो लगेर बाँधियो ।

बाघको आहारा नजिकै स्वचालित क्यामेरा समेत जडान गरिएको छ । तर, उक्त स्थानमा आईतबार रातीसम्म पनि बाघ लोभ्याउन बाँधिएको पाडो खान बाघ आएन । मान्छे खाने बाघ नियन्त्रणमा लिन जङ्गलमा खटेको विशेषज्ञसहितको टोलीले बाघलाई लोभ्याउन आहारा स्वरुप राखेको पाडो नखाएपछि बाघ नियन्त्रणमा सकस भएको हो ।

बाघ खोज्न राष्ट्रिय प्रकृती संरक्षण कोषका स्वास्थ्य प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्टिूय निकुञ्ज, स्थानीय जनप्रतिनिधी, वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दीका पदाधिकारी, सामुदायिक वनकर्मी, प्रहरी, नेपाली सेना लगायतको संयुक्त टोली फत्तेपुर जंगलमा दिनहुँ परिचालन भइरहेकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘बाघको ताजा पाइला फेला परेपछि मंगलबार र बुधबार सम्भावित स्थानमा आहारा स्वरुप पाडो लगेर बाँधेका छौं । बाघको आहारा नजिकै स्वचालित क्यामेरा समेत जडान गरिएको छ । तर, उक्त स्थानमा आईतबार रातीसम्म पनि बाघ नदेखिएको’ टोलीका सदस्य एवम् वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दीका अध्यक्ष लवराज खरेलले बताए ।

‘पछिल्लो ६ दिनदेखी हामी जंगलमा परिचालित भइरहेका छौं, तर बाघलाई कतै फेला पार्न सकेका छैनौं,’ उनले भने । आहारा खान बाघ आईतबार रातीसम्म पनि नआएपछि उनीहरुलाई बाघ कता गएको पत्ता लाग्न सकेको छैन ।

मान्छे खाएर पल्केको बाघले पाडो नखाइदिदा डार्ट गरि बाघ समाउने रणनीति असफल जस्तै बन्दै गएको छ । दुवै ठाउँमा बाघ समाउन राखिएको पाडो खान बाघ नआएपछि प्राविधिकसहितको टोलीले बाघ समाउने रणनीतिमा फेरबदल गर्ने तयारी समेत गरेकाछन् ।

बाघलाई पाडा राखेर लोभ्याइएको छ । बाघ आएको छैन । प्राविधिक टोली दिनको एकपटक पाडो बाँधेको ठाउँमा पुग्दै आएको छ । प्राविधिक टोली दुई वटा हात्तीको सहयोगमा त्यहाँ परिचालन हुँदै आएको छ । बाघलाई लोभ्याउन पाडो बाँधेका प्राविधिकहरु बिहान पाडा छ कि छैन भनेर हेर्न पुग्दै आएका हुन् ।

करिब पाँच सय मिटरको दूरीमा दुई वटा पाडालाई बाँधेर राखेको छैठौं दिन वित्दा पनि बाघ पाडो खान आएको छैन । पाडो खान आएमा बाघलाई ‘डार्ट’ गरि नियन्त्रणमा लिने प्राविधिक टोलीको योजना रहेको छ ।

यसअघि पनि बाँकेको राप्तीसोनारी गाउँपालिकाको अगैयामा बाघलाई ‘डार्ट’ गरि समाउन आहाराका रुपमा ‘पाडो’ राखिएको थियो । तर, ६ दिनपछि बाघले सुटुक्क पाडो खाएर कुलेलाम ठोकेको थियो ।

बाघलाई नियन्त्रणमा लिने वित्तिकै ‘वाइल्ड लाइफ एम्बुलेन्स’ मा राखेर ब्यवस्थापन गर्ने तयारी छ । त्यसका लागि उक्त एम्बुलेन्सलाई फत्तेपुरमा तयारी अवस्थामा राखिएको छ ।

यही पुष २४ गते शनिबार राप्तीसोनारी ६ फत्तेपुरकी ३० वर्षीया चाँदनी थारु र पुष २२ गते बिहीबार राप्तीसोनारी ४ पर्सोना की ५४ वर्षीया लिला बिष्टको बाघ आक्रमणमा परि मृत्यु भएको थियो।

बाघको आक्रमणबाट बाँकेमा तीन महिनाभित्र चार जनाको ज्यान गइसकेको छ । यसअघि राप्ती सोनारी १ गाभर र नरैनापुरमा एक/एक जनाको मृत्यु भएको थियो ।

बाँकेको राप्तीपारी श्रृङ्खलाबद्ध आतंक मच्चाइरहेको पाटेबाघ अझै नियन्त्रणमा आउन सकेको छैन । बाघ नियन्त्रणमा नआउँदा राप्तीपारीका स्थानीय बासिन्दा निकै त्रसित छन् । यतिबेला हब्रहवा, सिधनवा गाउँका हरेकको घरबाहिर आगो बाल्ने र मान्छे जति साँझ पर्नेबित्तिकै घरभित्र पस्ने गर्दै आएको छन् ।

बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ छन् । बाघ बढेको सम्बद्धहरु बताउँछन् । अहिले बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना भइरहेको छ । बाघले पटक–पटक आक्रमण गरिरहेपछि निकुञ्जमा पर्ने सडक र जंगलमा साइकल, मोटरसाइकलमा सवार गर्न छोडिएको छ । जंगल छेउछाउका बासिन्दा रातमा घरबाहिर निस्कन डराइरहेका छन् ।

थप समाचार

मान्छे खाने बाघको पाइला पछ्याउँदै प्राविधिक सहितको टोली

बाघ आक्रमणमा ज्यान गुमाएका थारु र विष्टको परिवारलाई ५०/५० हजार प्रदान

मान्छे खाने बाघ नियन्त्रणका लागि राप्तीपारी भुवरभवानीमा विशेष पूजा

पुषमै बाघ आक्रमणको ५ घटना, २ जनाले अनाहकमा ज्यान गुमाए