पुषमै बाघ आक्रमणको ५ घटना, २ जनाले अनाहकमा ज्यान गुमाए

लगातार ४ दिन बाघ आक्रमणको घटनाले राप्तीपारी त्रासमा स्थानीय


पुषमै बाघ आक्रमणको ५ घटना, २ जनाले अनाहकमा ज्यान गुमाए

नेपालगन्ज २५ पुष : पछिल्लो समय बाँकेको राप्तीसोनारी गाउँपालिका पाटेबाघको घेराबन्दीमा परेकोछ । पाटेबाघले राप्तीसोनारीलाई आफ्नो घेराबन्दीमा पारेपछि मानव र बाघबीच द्वन्द्व बढेकोछ । मानव र बाघबीचको द्वन्द्व बढ्दै गएपछि राप्तीसोनारीका बासिन्दा झन् त्रसिद बन्दै गएकाछन् । मानवबस्ती आसपास रहेको सामुदायिक, राष्ट्रिय वन तथा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा मानिसमाथि बाघ आक्रमणको घटना समेत बृद्धि भएकोछ । यो द्वन्द्वका कारण बाघ मानवबस्तीमै पसेर मानवीय क्षती नगरेपनि सामुदायिक तथा राष्ट्रिय वन र मध्यवर्ती क्षेत्रमै दैनिकीका लागि भर पर्नेहरु सहजै बाघको सिकार बन्ने गरेकाछन् ।

बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघ आक्रमणको घटना बढ्दै गएपछि बाघको उचित ब्यवस्थापन गरिनुपर्ने आवाज उठ्दै गएकोछ । तर, यतिबेला बाँकेमा राष्ट्रिय निकुञ्ज बाहेक पनि राष्ट्रिय वनमा लगातार बाघ भेटिनु र मानवमाथि आक्रमण गरिनुले बाँकेमा राष्ट्रिय निकुञ्ज सहित राष्ट्रिय वन बाघका कारण असुरक्षित बनेकोछ ।

बाँकेको राप्तीसोनारी गाउँपालिकामा बाघ आक्रमणको घटनाले बाघ र मानवबीचको द्वन्द्व छिटो समाधान गरिनुपर्ने बहस झन् चुलिएकोछ । तर, बाँके राष्ट्रिय निकुञ्ज भने वन, निकुञ्ज र मध्यवर्ती क्षेत्रमा मानवीय गतिविधि बढ्दा द्वन्द्व बढेको बताउँछ ।

पुष महिनामै राप्तीसोनारी गाउँपालिकाका विभिन्न स्थानमा बाघ आक्रमणको ५ वटा घटना घटे । पहिलो घटना पुष ३ गते भयो सो क्रममा बाघ आक्रमणबाट कसैको ज्यान गएन । तर, पुषको अन्त्यतिर आइपुग्दा बाघले मानिसमाथि लगातार आक्रमण गर्यो । राप्ती सोनारी गाउँपालिकाको विभिन्न क्षेत्रमा लगातार ४ दिन बाघ आक्रमणको घटनाले २ जनाले ज्यान गुमाए भने दुई जना बाँच्न सफल भए । यो घटना फरक–फरक ठाउँमा भएको हो । यद्यपी एउटै बाघले यी चारवटै घटना घटायो वा ४ वटा फरक–फरक बाघ हुन त्यो अनुसन्धानबाट खुल्नेछ । राप्तीसोनारी गाउँपालिकाको राष्ट्रिय वन, सामुदायिक वन र मध्यवर्ती क्ष्ोत्रमा पुष महिनामा बाघ आक्रमणको घटना यस्तो छ ।

Kids Festival 2022
kanti aarogya hospital
बाघ आक्रमणबाट बाँच्न सफल राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४, बैजापुरको नयाँबस्तीकी ३० वर्षिया दुर्गा थारु ।

पुष २१ गते बुधबार

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४, बैजापुरको नयाँबस्तीकी ३० वर्षिया दुर्गा थारु स्थानीय गौरी सामुदायिक वनको कोल्टेपानी भन्ने स्थानमा पाट टिप्न गएकी थिइन् । विहेको लागि पात टिप्न साथीहरुसंग गएकी दुर्गालाई बुधबार दिउँसो १२ बजेतिर एक्कासी बयस्क पाटे बाघले झम्टियो । पाटे बाघले झम्टेपछि प्रतिकार गर्दै पात टिप्न घरेलु हतियार ‘खुर्पा’ले बाघको अनुहारमा प्रहार गर्दै थारु बाघ आक्रमणबाट बाँच्न सफल भइन । उनको दुवै हातमा बाघले कोतारेकोछ ।

‘गाउँमा हुन लागेको बिवाहको लागि गाउँभरीका महिलाहरु जंगलमा पात टिप्न गएका थियौं, पात टिपिरहेको अवस्थामा अचानक बाघले आक्रमण गर्यो,’ उनले भनिन्– ‘चार वटै पञ्जा मेरो शरीरमा पारेर मुखले आक्रमण गर्न खोज्दा मेरो हातमा भएको खुर्पा (हतियार)ले हिर्काउदै बेस्सरी कराए अनि बाँच्न सफल भए ।’ बाघबाट बाँचेर आफुले नयाँ जीवन पाएको थारुले बताइन् । बाघको पञ्जाले उनको शरिरका विभिन्न भागमा घाउ बनाएको छ । शरीरका अन्य भागमा समेत घाउचोट लागेका थारुको बैजापुर स्थित राप्तीसोनारी अस्पतालमा प्राथमिक उपचार गरियो ।

बाघ आक्रमणबाट ज्यान गुमाएकी राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ प्रसोहनाकी ५४ वर्षिया लिला विष्टको शव ।

पुष २२ गते बिहीबार

बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ प्रसोहनाकी ५४ वर्षिया लिला विष्ट बिहीबार मध्यान्ह १२ बजे स्थानीय जलहन् सामुदायिक वनमा घाँस काट्न गएकी थिइन् । घाँस काट्दै गर्दा लिलालाई बाघले एक्कासी आक्रमण गरि आफूसंगै लतारेर लग्यो । घाँस काट्न गएकी ति महिला हराएपछि खोज्दै जाँदा लिलालाई खाँदै गरेको बाघलाई धपाएर उनको शव प्रहरी र स्थानीयले ल्याउन सफल भए । सोक्रममा बाघका पञ्जाबाट लिलाको शव छुटाउन प्रहरीले २ राउण्ड हवाई फायर खोलेको थियो ।

बाघले लिलालाई मारेर जलहन सामुदायीक वन अन्तर्गत घट्ट खोला खोंचमा राखेको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय धामपुरका ईन्चार्ज, प्रहरी नायव निरीक्षक मुकुन्द सिक्देलले बताए ।

पुष २३ गते शुक्रबार

बाँके राप्तीसोनारी गाउँपालिका–५ विनौना स्थित चिलहरियाका बमबहादुर पुन शुक्रबार स्थानीय शिद्धेश्वरी सामुदायिक वनभित्र बाख्रा चराउन गएका थिए । बाख्रा चराईरहेका पुनलाई शुक्रबार दिउँसो ३ बजेतिर एक्कासी पाटेबाघले आक्रमण गर्यो । साथमा थुप्रै बाख्रा चराइरहेका उनी बाघले झम्टिदाँ चलाखीपूर्ण झाडीमा लुके । बाघको ध्यान बाख्रामा केन्द्रित भयो उनी रुखमा चढेर ज्यान जोगाए । बाघको आक्रमण गर्ने प्रयास असफल भएपछि उनी जोगिए तर, उनले आफ्ना ५ वटा बाख्रा बचाउन सकेनन् ।

‘बाख्रा चराइरहेको अवस्थामा बाघले एक्कासी झम्टियो, मैले उसलाई छलेर लुके, बाघको आक्रमणबाट म जोगिए, तर बाख्रालाई बचाउन सकिएन,’ उनले भने । प्रहरीका अनुसार बाघले पुनको एउटा बाख्रालाई मारेको छ । यस्तै तीन वटा बाख्रालाई घाइते बनायो भने थप ४ वटा बाख्रा फेला नपरेको ईलाका प्रहरी कार्यालय बैजापुर धामपुरका इन्चार्ज प्रहरी नायव निरीक्षक सिग्देलले बताए ।

बाघ आक्रमणबाट ज्यान गुमाएकी राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ६, फत्तेपुरको हब्रहवा गाउँकी ३० वर्षिया चाँदनी थारुको शव ।

पुष २४ गते शनिबार

राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ६, फत्तेपुरको हब्रहवा गाउँकी ३० वर्षिया चाँदनी थारुलाई शनिबार विहान साढे १० बजे बाघले आक्रमण गरि मार्यो । सिद्धेश्वर सामुदायिक वन उपभोक्ता समितिले माघीको लागी दाउरा खोलेपछि शनिबार उनी छिमेकिहरुसंग अम्व्रहवा खोलामा दाउरा लिन गएकी थिइन् ।

दाउरा संकलन गरिरहेकी चाँदनीलाई बाघले आक्रमण गरि आफूसंगै लिएर गयो । चादनीसंगै दाउरा लिन गएकी शिला थारुले भनिन् –‘चिच्याउँदा–चिच्याउँदै आफ्ना आँखा अगाडी चाँदनीलाई शिकार बनायो’ गहभरी आँसु झार्दै शिलाले भनिन् –‘चाँदनी मेरो जेठानी दिदी हुन्, दिदी बहिनीसंगै माघिका लागि दाउरा लिन गएको बेला बाघले झम्ट्यो ।’ मृतक चाँदनीको एक छोरा एक छोरी छन् ।

चाँदनी बाघको आक्रमणमा परेको थाहा भएपछि स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बाघ र चाँदनीको खोजीमा लाग्यो । बाघले चाँदनीको शव उक्त जङ्गल नजिक रहेको चुरे पहाडमा लगिसकेको थियो । घण्टौंको खोजेपश्चात चाँदनीको शव भेटाएका उनीहरुले शव लिएर चुरे पहाडबाट तल झर्दै गर्दा स्थानीय र सुरक्षाकर्मीसहितको टोलीलाई बाघले बाटो छेक्यो । सुरक्षाकर्मीले बाघ भगाउन हवाई फायर खोले तर बाघ भागेन ।

ईलाका प्रहरी कर्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक बसन्त गौतमले शव लिएर तल झर्ने क्रममा बाघले बाटो छेकेपछि अर्को बाटो भएर शव ल्याएको जानकारी दिए । प्रहरी निरीक्षक गौतमले भने–‘बयस्क बाघ हाम्रै अघि थियो, हवाई फायर गर्दा नि भागेन, निकै अटेरी बाघ रहेछ ।’ गाउँदेखि करिब ५ किलोमिटर टाढाको दूरीमा बाघले चाँदनीको शव लगेको थियो ।

बाघको आक्रमणबाट बच्न सफल जनसिद्धेश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणी बटाला ।

यसअघि पनि पुष ३ गते जनसिद्धेश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणी बटाला बाघको आक्रमणबाट बच्न सफल भएका थिए । क्याम्पसबाट पुष ३ गते शनिबार बिहान साढे ६ बजे राप्तिसोनारी गाउँपालिका वडा नम्बर –५ गोरधुईतर्फ मोटरसाईकलमा जाँदै गर्दा आलीनगरमा पर्ने थारुमरैला खोलामा बाघले झम्टिन खोज्दा क्याम्पस प्रमुख बटाला भाग्न सफल भएका हुन् ।

‘आलीनगर पुग्नैलाग्दा सडक बनाउने कम्पनीको छाप्रो रहेको स्थानमा हल्का ओरालोबाटोमा पछाडीबाट बाघले झम्टीन आयो ।’ उनले भने– ‘अन्य दिनको तुलनामा मोटरसाईकल अलि तिब्र गतिमा थियो त्यसैले बाघको पञ्जा मेरो शरिरमा पुगेन, मोटरसाईकलको चक्का छोप्ने भागमा परेर बाघ भुईमा पछारियो अनि म बाँच्न सफल भएँ ।’ बाघको पञ्जा मोटरसाईकलको पछाडी भागमा परेर मोटरसाईकल अनब्यालेन्स भएर लड्न लागेपनि सम्हालिएर अझ तिब्र गतिमा कुदाएर भाग्न सफल भएको उनले बताए ।

यसअघि गोरधुईबाट सँधैं ५ बजे क्याम्पसमा क्लास लिन जाँदा कहिल्यै बाघ फेला नपारेको उनले अनुभव सुनाए । २०६३ सालबाट सँधै त्यहि जङ्गलको बाटोबाट ओहोरदोहर गर्दै आएका लोकमणीले भने–‘बाघ निस्किन्छ भनेर सोबाटो हिड्ने बटुवाले भन्ने गरेको पनि सुनेको थिएँ तर, आज आफै बाघको आक्रमणबाट उम्किन सफल भएँ ।’

बाघ आक्रमणमा परि ज्यान गुमाएका नरैनापुर गाउँपालिका वडा नम्बर–४ पण्डितपुरुवाका लखन गडरियाको शव ।

यस्तै गत कार्तिक २५ गते गाई चराउन जङ्गल गएका बाँकेको पूर्वी क्षेत्र नरैनापुर गाउँपालिका वडा नम्बर–४ पण्डितपुरुवाका लखन गडरिया र उनको एउटा गाईलाई बाघले खाएको थियो । ईलाका प्रहरी कार्यालय भोजभगवानपुरका ईन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमका अनुसार नरैनापुरको पर्यटकस्थल गोर्बद्धन धामदेखि ५ किलोमिटर पूर्वपट्टी जङ्गलमा बाघले आधा खाएको अवस्थामा गडरियाको शव फेला परेको थियो । नरैनापुर क्षेत्रमा बाघ आक्रमणबाट मान्छे मृत्यु भएको यो सम्भवत पहिलो घटना हो । नरैनापुरमा बाघले मान्छे खाएको क्षेत्र आसपास पर्यटकस्थल गोर्बद्धन धाम, बरफानी बाबा समेत रहकोछ ।

राष्ट्रिय जङ्गलमा समेत बाघ देखिएपछि यतिबेला राप्तीसोनारीका स्थानीय त्रसित बनेका छन् । बाँकेको पूर्वी गाभरमा यही वर्षको भदौ अन्तिमतिर २ वटा बाघले एकजना भारतीय नागरिकलाई खाएको थियो । उक्त घटनापछि सो क्षेत्रमा पटक–पटक बाघ देखिएपछि बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाने बाघ नियन्त्रण गर्न दुई वटा घरपालुवा हात्तिसहितको टोली परिचालन गरेकोछ । तर, अझैसम्म उक्त बाघ निकुञ्जले नियन्त्रणमा लिन सकेको छैन ।राप्तीसोनारी गाउँपालिका क्षेत्रमा लगातार बाघ आक्रमणको घटना दोहिरिरहँदा स्थानीय त्रसित बनेकाछन् ।

थप समाचार

दुई दिन नवित्दै राप्तीपारी फेरि बाघले मान्छे खायो

राप्तीपारी बाघको बिगबिगी, बाघको आक्रमणबाट लिलाको मृत्यु

बैजापुरको कोल्टेपानीमा पात टिप्न गएकी दुर्गालाई बाघले झम्ट्यो

फत्तेपुर क्यामपस प्रमुख बटालालाई बाघले झम्ट्यो

बाँकेको नरैनापुरमा बाघले मान्छे खायो, स्थानीय त्रसित

मान्छे खाने पाटेबाघ निकुञ्जले समाउन सकेन