नेपालगन्ज : जेठ महिनाको तेश्रो बडा अर्थात् ठुलो मंगलवार नेपालगन्जमा धुमधामका साथ मनाइएकोछ । नेपालगन्ज र आसपासका क्षेत्रसहित सीमावर्ती भारतीय बजार रुपईडिहामा बडा मंगलबारका अवसरमा भजनकिर्तन सहित सामुहिक भण्डाराको आयोजना गरि धुमधामका साथ बडा मंगलवार मनाइएको हो ।
सो अवसरमा नेपालगन्जका विभिन्न हनुमान मन्दिरमा पूजाआजा गर्नेको घुईंचो समेत लागेको थियो । भने भक्तजनहरुले अधिकाश ठाउँमा बटुवाहरुलाई प्रसाद र पानी वितरण गरेका थिए ।
यस्तै नेपालगन्जको औद्योगिक क्षेत्रअगाडी, धम्बोझी चोक, गुलरिया रोड, न्यूरोडको भानुभक्त चोक, न्यूरोड, त्रिवेणी मोड, सदरलाईन लगायतका क्षेत्रमा सामुहिक भण्डारा आयोजना गरि प्रसाद, पानी वितरण गरिएको छ ।
विश्वको रचना गर्नेलाई भगवान भनिन्छ र संकटबाट मुक्ति दिनेलाई हनुमान भनिन्छ । वर्षभरी पर्ने मंगलबार मध्ये जेठ महिनाका सवै मंगलबार महत्वपूर्ण रहेको धार्मिक विश्वास छ । यस दिन हनुमानको पूजाआजा गर्नाले शुभलाभ हुनुका साथै संकट मोक्ष पनि हुने धार्मिक विश्वास रहि आएकोछ ।
कलयुगमा श्री हनुमान जीको पूजा गर्नाले सबै संकटबाट मुक्ति पाइन्छ भन्ने धार्मिक विश्वास छ । भगवान रामका अनन्य भक्त हनुमानमा जस्तो ठूलो संकट पनि एकक्षणमा दूर गर्नसक्ने क्षमता रहेको रामायणमा उल्लेख छ ।
जेष्ठ मासको कृष्ण तृतीयाबाट पहिलो बडा मंगलवारको शुरुवात हुन्छ । यस्तै चौथो ठूलो मंगलवार जेठ २८ गतेका दिन उत्तराफाल्गुनी नक्षत्रसँगै कर्क राशिमा पर्ने शास्त्रविदको भनाई छ ।
उक्त दिन सिद्ध योग रहने र मनको कारक चन्द्रमा पनि आफ्नै राशिमा रहेको र उत्तराफाल्गुनी नक्षत्रका स्वामी सूर्यसँगै भएकोले सूर्य तथा चन्द्रमाको मित्रवत सम्बन्ध रहेको छ ।
फलस्वरुप यस पटक जेठको चारवटै मंगलवार शुभयोगमा परेको ज्योतिषीहरुले जनाएका छन् । बडा मंगलवाका अवसरमा हिरमिनियालगायत आसपासका गाउँमा बेलुका सुन्दरकाण्ड पाठका साथै कीर्तनभजन समेत गरिएको डुडुवा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष मोहनराम मिश्रले जानकारी दिए ।