बास र सद्भावको आयोजनामा आगलागी पीडितलाई सहयोग


बास र सद्भावको आयोजनामा आगलागी पीडितलाई सहयोग

नरैनापुर(बाँके) : बागेश्वरी असल शासन क्लब (बास) नेपालगन्ज र सद्भाव राष्ट्रिय दैनिकले आगलागी पीडितलाई राहत प्रदान गरेकोछ ।

बाँकेको नरैनापुर गाउँपालिकाको वडा नम्वर १ कट्कुईयाँका आगलागी पीडितहरुलाई उक्त राहत सामाग्री प्रदान गरिएको हो ।

आईतवार दिउँसो आगलागी भएर नरैनापुर गाउँपालिकाको वडा नम्वर १ कट्कुईयाँका १५ घर पूर्ण रुपमा जलेर नष्ट भएका थिए ।
उक्त घरका परिवारहरुलाई मंगलबार राहत स्वरुप खाद्यान्न समााग्री प्रदान गरिएको हो ।

बास र सद्भाव दैनिकले एचसीआरसी हस्पिटल, मन्टेश्वरी एशोसियसन बाँके, गणपति प्लाष्टिक इन्डस्ट्रिज, डा. नितेश कनोडिया, द आर्ट अफ लिभिङका बरिष्ठ प्रशिक्षक कञ्चन घिमिरे तथा सफल मोटरका ईन्द्र गिरीको सहकार्य तथा नरैनापुर गाउँपालिकाको समन्वयमा उक्त सहयोग प्रदान गरिएको हो ।

आगलागि पीडित १५ घरधुरीलाई एक/एक थान त्रिपाल, २५ किलोका दरले चामल, तेल र नुन लगाएतका अत्यावश्यक सामाग्रीहरु प्रदान गरिएको छ । सहयोग प्रदान गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सहयोगी संस्थाहरुलाई धन्यवाद दिदै पीडितलाई प्रदान गरिएको सहयोगले ठूलो राहत पुगेको बताए ।

उनले पीडितहरुको सहयोगका लागि आवश्यक पहल भईरहेको समेत बताए । विपद्का बेला सबैबाट सहयोग हुनुपर्ने उनको भनाईछ । बासका अध्यक्ष रमेश सिटौलाले आगलागी पीडितहरुलाई साथ दिन आफुहरु अग्रसर रहेको बताए । कार्यक्रम बासका कार्यक्रम संयोजक शम्भु शाहीले सञ्चालन गरेका थिए ।