पाइप खरिद गरेको डेढ बर्षसम्म आयोजना अलपत्रै
नेपालगन्ज : राप्ती खानेपानी आयोजनाको निर्माण प्रक्रिया अघि बढ्न नसक्दा आयोजना अलपत्र परेको छ । आयोजनाका लागि पाइप खरिद भएको डेढ बर्ष वितेपनि अहिलेसम्म उक्त आयोजनाको काम अघि बढ्न सकेको छैन । नेपाल खानेपानी संस्थान नेपालगन्जले राप्ती नदीबाट पिउने पानी ल्याउन आर्थिक बर्ष २०७३-०७४ को अन्त्यतिर पाइप खरिद गर्न टेन्डर आव्हान गरेको थियो ।
पाइप खरिद गरेको लामो समय बित्दासमेत उक्त आयोजनाको काम अघि नबढेको नेपाल खानेपानी संस्थान, नेपालगन्जका प्रमुख इन्जिनियर आशिष कार्कीले बताउँछन् । संस्थानले राप्ती नदीको सिधनिया पुल नजिक सम्पवेल मार्फत राप्ती नदीको पानी तानेर नेपालगन्ज ल्याउने योजना बनाएको थियो ।
नेपालगन्ज र बुटवलका लागि २५–२५ करोडको पाइप खरिद गरेको देखाइए पनि भन्सार पास गरेको प्रज्ञापनपत्र हेर्दा नेपालगन्ज भन्सारबाट १२ करोड र भैरहवा भन्सारबाट १३ करोडको सामान आयात गरेको देखिन्छ । उक्त आयोजनाका लागि आर्थिक वर्ष २०७४-७५ मा राप्ती नदीबाट खानेपानी आपूर्ति गर्न पाइप तथा फिटिङ सामान खरिद गर्न २८ करोड ४८ लाख ६३ हजार विनियोजन गरिएको थियो ।
निर्माण गर्न बुटवलका लागि २६ करोड २४ लाख र राप्तीका लागि २५ करोड ७६ लाख लागत तय गरिएको थियो । भूमिगत जलस्रोतबाट नेपालगन्जमा खानेपानीको आपूर्ति गर्दै आएको संस्थानले दीर्घकालीन आपूर्ति व्यवस्थापन गर्न नयाँ योजना ल्याएको जनाएको छ । राप्ती नदी किनारमा इन्टेक बनाएर नेपालगन्जको फुल्टेक्रास्थित नेपाली सेनाको ब्यारेकबाट सुर्जीगाउँतर्फ सहायक लाइन विस्तार गरिने भएको छ ।
‘सहायक लाइनलाई सुर्खेतरोडमा जोडेर नेपालगन्ज उपमहानगरपालिका–२०, मनिकापुरमा पानी वितरण गर्ने योजना छ,’ कार्कीले भने । त्यस्तै राप्ती नदीबाट संस्थानको कार्यालयमा भएको टंकीमा पानी ल्याउने योजना छ । १६ किलोमिटर मेन पाइप लाइनबाट नेपालगन्जमा रहेको संस्थानको मुख्य टंकीमा पानी ल्याउने योजना संस्थानको छ ।
‘हातेपम्प, ट्युववेल, डिप बोरिङ्ग, इनार लगायतका माध्यमबाट उपलब्ध खानेपानीलाई विस्थापित गर्न नयाँ योजना ल्याइएको हो,’ उनले भने । राप्ती नदीबाट राप्तीपथ हुँदै नेपालगन्जसम्म २० इन्च पाइपबाट खानेपानीको मेन लाइन बिस्तार गर्ने योजना छ । राप्ती नदीबाट ल्याइने पानी नेपालगन्जमा रहेको खानेपानी ट्यांकीमा ल्याउने र त्यसैमार्फत वितरण गर्ने योजना रहेको छ ।
पाइप खरिदमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यसअघि नै उजुरी परेको कार्कीले बताए । उनका अन’सार अख्तियारमा उजुरी परेपछि आव २०७४÷०७५ मा आयोजनाको काम अघि बढ्न नसकेको हो । अहिले अख्तियारबाट क्लिन चिट आइसकेको छ उनले भने ‘अब योजनाको काम अघि बढाउने तयारी भएको छ ।
उनले हिराचन मल्ल कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको बताउँदै सम्झौता हुन बाँकी रहेको बताए । उनका अनुसार, हिराचन कन्स्ट्रक्सनले दुई करोड २५ लाखमा निर्माण गर्न ठेक्का सकार गरेको छ । ‘सम्झौता भएको ११ महिनामा काम सक्नेगरी ठेक्का सकार भएको छ,’ उनले भने ।
संस्थानले नेपालगन्ज उपमहानगरपालिकाका २८ हजार २०४ घरधुरीलाई पानी वितरण गर्ने योजना बनाएको छ । यसका लागि उसले दैनिक साढे दुई करोड लिटर पानी नेपालगन्ज ल्याउने भएको छ ।
संस्थानले हाल नेपालगन्ज उपमहानगरपालिकाका चार हजार ६०० घरधुरीलाई दैनिक ४० लिटर पानी वितरण गर्दै आएको कार्यालय प्रमुख कार्कीले जानकारी दिए ।