शिक्षामा लगानी वृद्धि गर्न आवश्यक: राष्ट्रपति


शिक्षामा लगानी वृद्धि गर्न आवश्यक: राष्ट्रपति

नेपालगन्ज : राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेको बताएकी छन् । उनले सामुदायिक विद्यालयको स्तर वृद्धिसँगै गुणात्मक शिक्षा दिनुपर्नेमा जोड दिइन् ।

बाँकेको बैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५० औं वार्षिकोत्सव तथा स्तम्भ अनावरण कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले बालबालिकाको शैक्षिक गुणस्तरमा ध्यान दिन शिक्षक तथा अभिभावकहरुलाई आग्रह गरिन् ।

उनले भनिन, ‘शैक्षिक लगानीले बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्ने अवसर प्रदान गर्छ । राज्यले शिक्षामा गरेको लगानीको प्रतिफल जनतालाई दिनुपर्छ ।’ राष्ट्रपति भण्डारीले शिक्षालाई व्यवहारिक, जीवनउपयोगी र गुणस्तरीय बनाउन सामुदायिक विद्यालय र अभिभावकको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

सामुदायिक विद्यालयलाई बालमैत्री क्षेत्रका रुपमा विकास गर्दै आवश्यक भौतिक पूर्वाधारमा समेत सरकारले लगानी गर्नुपर्नेमा जोड दिइन् । शैक्षिक चेतनाबिना सामाजिक विकृतिलाई चिर्न नसकिने भन्दै उनले सामाजिक विकृति र विसङ्गतिको अन्त्य गर्न पनि गुणस्तरीय शिक्षा जरुरी रहेको बताइन् ।

शिक्षाले मुलुकको एकता र आपसी सद्भावलाई बलियो बनाउने भएकोले बालबालिकालाई गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिइन् । उनले सबै नागरिकले अनिवार्य र आधारभूत शिक्षा पाउनुपर्नेमा जोड दिँदै सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी रोजगारमूलक शिक्षा प्रदान गर्न आवश्यक रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले यस क्षेत्रका राष्ट्रिय गौरवका आयोजनाहरुलाई पूर्णता दिन सरकारलाई सुझाव दिएकी छन । सिक्टा सिंचाई आयोजना, भेरी बबई डाइभर्सन लगायतका यहाँको राष्ट्रिय गौरवका आयोजना निर्माणमा सरकारले चासो देखाउनुपर्ने बताइन ।

राष्ट्रिय गौरवका आयोजना सम्पन्न भए यस क्षेत्रको कृषि उत्पादनले फड्को मार्ने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले कृषिमा आधुनिकीकरण जरुरी रहेको बताइन । कार्यक्रममा प्रदेश ५ सरकारी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री आरती पौडेल, संघीय सांसद पूर्णकुमारी सुवेदी, महेश्वर गहतराज ’अथक’ र नन्दलाल रोकायले बाँकेको विकासका लागि सरकारले प्राथमिकता दिनुपर्नेबारे राष्ट्रपतिलाई ध्यानाकर्षण गराएका थिए। स्वर्ण जयन्तीको अवसरमा १८ जना चन्दा दातालाई सम्मान गरिएको थियो।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा पूजाअर्चाना गरेकी छन् । उनले मन्दिरमा पूजाअर्चना गरी प्रसाद ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सहसचिव दिपा शर्माले जानकारी दिए ।

पश्चिम नेपालकै शक्तिशाली शक्तिपीठ मानिने बागेश्वरी मन्दीरमा कडा सुरक्षा व्यवस्थासहित पुगेकी भण्डारीले राष्ट्र प्रमुख भएपछि पहिलो पटक बागेश्वरी मन्दिरमा पूजाअर्चना गरेकी हुन् । राष्ट्रपतिले ब’धवार विहान ७ः३० बजे मन्दिर प्रवेश गरेकी राष्ट्रपतिले ७ः४५ मा पूजाअर्चना गरेकी छन् ।
राष्ट्रपतिलाई बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगीले बागेश्वरी माताको प्रसादका रुपमा फूलमाला तथा टिका प्रदान गर्दै मन्दिरको आर्थिक अवस्थाबारे मुल महन्त चन्द्रनाथ योगीले समक्ष जानकारी गराएका थिए ।

मंगलबार मुस्लिम समुदायको पवित्र महीना रमजानुल मुबारकको अवसरमा नेपालगन्जमा आयोजना गरेको ‘रोजा इफ्तार’ सहभागी भएकी राष्ट्रपति भण्डारी ब’धबार एकैदिन नेपालगन्जमा चारवटा विविध कार्यक्रममा सहभागीता जनाएकी छन् ।