काँक्रेविहारलाई खुला चिडियाखाना बनाइने: मुख्यमन्त्री शाही


काँक्रेविहारलाई खुला चिडियाखाना बनाइने: मुख्यमन्त्री शाही

विश्व वातावरण दिवसको अवसरमा काँक्रेविहार क्षेत्रमा वृक्षारोण गर्दै मुख्यमन्त्री शाही (तस्विर: मुख्यमन्त्रीको सचिवालय)

नेपालगन्ज: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले काँक्रेविहारलाई खुला चिडियाखानाको रुपमा विकास गर्ने उद्घोष गरेकाछन् ।
विश्व वातावरण दिवसको अवसरमा काँक्रेविहार क्षेत्रमा बुधबार विहान सरसफाइ तथा वृक्षारोपन पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।

उनले भने पुरातात्विक र ऐतिहाँसिक महत्व बोकेको काँक्रेविहारलाई संरक्षण गर्न खुला चिडियाखानाका रुपमा विकास गरिनेछ । ऋषि, महर्षिहरुको साधनास्थल रहेको काँक्रेविहारलाई कर्णाली प्रदेशको आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजनामा प्रदेश सरकार रहेको भन्दै उनले काँक्रेविहारमा रहेको पिकनिक स्थललाई हटाएर व्यवस्थित पार्क निर्माण गरिने समेत उनले बताए ।

स्वच्छ र सफा वातावरण विना मानव जीवनको अस्तित्व संकटमा पर्ने भन्दै मुख्यमन्त्री शाहीले जनचेतना अभिवृद्धिसँगै कानूनको कार्यान्वयमार्फत सरसफाइ तथा स्वच्छताको प्रवर्धन गरिने जनाए ।

विश्व वातावरण दिवसको अवसरमा बुधबार विहान मुख्यमन्त्री शाहीको नेतृत्वमा प्रदेश सरकारका विभिन्न मन्त्रालयका पदाधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय क्लवहरुको सहभागितामा काँक्रेविहार क्षेत्रमा सरसफाइ गर्नुको साथै वृक्षारोपन गरिएको थियो ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आव्हानमा हरेक वर्ष जुन पाँच तारिखमा विश्व वातावरण दिवस मनाउने गरिएको छ । ‘हाम्रो जिवजन्तु, हाम्रो वातावरण र वन, संरक्षण गरौं लगाई सम्पूर्ण तन, मन र धन’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । यस्तै दिवसका अवसर पारेर नेपालगन्ज सहित देशभर विभिन्न कार्यक्रम गरिएकोछ ।