कर्मचारीलाई मस्ती, सेवाग्राहीलाई सास्ती
नेपालगन्ज : मालपोत कार्यालय नेपालगन्मा समयमै सहज रुपमा काम नहुने गरेको सेवाग्राहीहरूले गुनासो गरेका छन् । विभिन्न काम लिएर मालपोत गएका सेवाग्राहीहरू घन्टौं कुर्नुपर्ने समस्या छ ।
घन्टौं होइन दिनानुदिन धाउनुपर्ने समस्या पनि उस्तै रहेको सेवाग्राही गोपाल केसी बताउँछन् । कार्यालय पुगेका सेवाग्राहीलाई त्यहाँका कर्मचारीले विभिन्न बहाना गराएर दुःख दिने गरेको सेवाग्राहीले बताएका छन् ।
मालपोत कार्यालयमा पुर्जा फुकुवा गर्न र रोक्का गर्नका लागि बिहीवार आएका सेवाग्राही दीपक थापाले मालपोतका कर्मचारीले समयमै काम नगरिदिएको बताए ।
दैनिकजसो मालपोत कार्यालयमा पुग्ने प्राय सवै सेवाग्राहीहरू त्यहाँका कर्मचारीको रवाफ र उनीहरुको काम गर्ने शैलीबाट दिक्क हुँदै आएको उनीहरू बताउँछन् । कोही टाठाबाठा आए उत्तिखेरै काम गर्ने सोझा साझा सेवाग्राहीलाई हप्तौंसम्म धाउनुपर्ने बाध्यता रहेको पनि सेवाग्राहीहरूको गुनासो छ।
बिचौलियामार्फत आएका काम गर्न भ्याइनभ्याई भएप्छि पछिल्लो समय अनलाइन प्रणालीबाट काम सुरु भएपनि कर्मचारीहरूलाई बहाना बनाउन निकै सजिलो भएको छ।
उनीहरूको रेडिमेड जवाफ आइहाल्छ आज सिस्टमले काम गरेको छैन भोलि आउनुहोस्। सिस्टमलाई बाहाना बनाएर सेवाग्राहीलाई दुःख दिने कर्मचारीहरूलाई बिचौलियामार्फत आएका काम गर्न भने भ्याइनभ्याई हुने गरेको लेखापढी व्यवसायी संघका अध्यक्ष कमल नेपाल बताउँछन् ।
बिचौलियामार्फत बढी पैसा दिएर काम लगाए तुरुन्त काम हुने र सोझा सेवाग्राहीहरु गए हप्तादिनसम्म झुलाउने प्रवृत्ति मालपोतमा हाबी रहेको भन्दै कर्मचारी र बिचौलियाबीच मिलोमोतो गरी आम सेवाग्राहीलाई मालपोतका कर्मचारीले दुःख दिने गरेको सेवाग्राहीको आरोप छ ।
मालपोत कार्यालय परासीका कार्यालय प्रमुख प्रेम दौल्याल आफूलाई त्यसबारे जानकारी नभएको बताउँछन्। दौल्याल यसबारे अनबिज्ञ भइरहेको दाबी गरिरहदा विहीवार बिचौलियाहरू कार्यालयभित्र पुगेर आआफ्नै सुरमा काम गरिरहेका थिए ।
कार्यालयमा दरवन्दि अनुसारको कर्मचारी नभएका कारण काम गर्न असहज भएको प्रमुख दौल्याल बताउँछन् । अनलाइनबाट सेवा दिँदा इन्टरनेट सिस्टमले काम नगर्दा सेवाग्राहीको समयमा काम गर्न नसकिएको उनको भनाइ छ। दैनिकजसो सेवाग्राहीको चाप हुने कार्यालय मालपोतमा इन्टरनेटका लागि एउटै स्रोतमा भरपर्नु र वैकल्पिक व्यवस्था नहुनु निकै लाजमर्दो कुरा रहेको सेवाग्राहीहरुको भनाइ छ।
मालपोत कार्यालयमा भने अनलाईन प्रणाली सुरु भएसँगै त्यहाँका कर्मचारीले सिस्टमले काम नगरेको भन्दै सेवाग्राहीलाई दुःख दिने गरेका छन्। मालपोतमा हुने बिचौलियाको विगविगी र अस्तब्यस्त कार्यशैली सुधार्नका लागि कार्यालय प्रमुखले नै कदम चाल्नुपर्ने सेवाग्राही बताउँछन्।
कार्यालय प्रमुख दौल्याल ईन्टरनेट सेवा प्रदायक कम्पनीले उपलब्ध गराउने ईन्टरनेटमै समस्या भएका कारण अफ्ठेरो भएको बताउँदै जिम्मेवारीबाट पन्छिने गरेको सेवाग्राहीको भनाइ छ।
कार्यालयका कर्मचारीलाई कसरी चुस्त दुरुस्त सेवा प्रदान गर्नेभन्दा पनि कसरी सेवाग्राहीलाई दुःख दिने भन्ने मनोवृत्ति हाबी भएको देखिन्छ । मालपोतमा बिचौलिया प्रयोग गरेर रकम असुल्ने कर्मचारी हाबी हुँदा आम सर्वसाधारण सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।