नेपालगन्ज: पेट्रोलियम पदार्थको खपत र वातावरणमा पर्ने असरलाई न्यूनिकरण गर्न थुप्रै विकल्पका प्रविधि भित्रिरहेका छन् । यसले वातावरअनुकुल राख्न मद्त समेत गर्दै आएकोछ ।
त्यसैले पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधन मात्र नभइ उपकरणहरुको पनि माग र प्रयोग बढ्दो छ । यदि तपाई विद्युतीय स्कुटर चलाउँदै हुनुहुन्छ भने अब दर्ता विना चलाईने यस्ता स्कुटरमा सरकारले रोक लगाएकोछ । यातायात व्यवस्था विभागले विद्युतीय स्कुटरलाई पनि दर्ता गरेर मात्रै सञ्चालन गर्न दिने भएको हो ।
दुर्घटना न्यूनिकरण तथा सवारीको अभिलेखका लागि यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ । सडकमा गुडेका तर कुनै अभिलेख नभएका यस्ता सवारीलाई १५ दिनभित्र विभागमा दर्ता भएर बिलबुक र नम्बर प्लेट लिनु पर्ने निर्णय कार्यन्वयन गर्न परिपत्र समेत गरिएकोछ । हाल सञ्चालनमा रहेका त्यस्ता सवारीले असार ५ गतेसम्म यातायात व्यवस्था विभागमा दर्ता भएर बिलबुक र नम्बर प्लेट लिनु पर्नेछ ।
हेल्मेट तथा नम्बर बिनै चलेका यस्ता सवारी साधन दुर्घटना पर्दा अप्ठ्यारो परेका कारण यस्तो व्यवस्था गरिएको हो । नयाँ नियमअनुसार विदेशबाट खरिद गरी ल्याएको तथा ग्राहकले किनेको १५ दिनभित्रै यस्ता सवारीसाधन यातायात व्यवस्था विभागमा अनिवार्य दर्ता गराउनु पर्नेछ ।
सुरुमा १५ दिने जनचेतनामुलक कार्यक्रम चलाउने र तोकिएको समयमा दर्ता प्रक्रियामा नआए यस्ता सवारीलाई कारबाही थालिने सरकारले निती लिएकोछ ।
दर्ता नभएका विद्युतीय स्कुटरलाई एक हजारदेखि ५ हजार रुपैयाँसम्म जरीवाना गर्ने अधिकार ट्राफिक प्रहरीलाई छ । नेपालमा हाल कति विद्युतीय स्कुटर सञ्चालनमा छन् भन्ने कुनै अभिलेख छैन । यद्यपी नेपालगन्ज र कोहलपुरमा तीन दर्जन बढी यस्ता सवारी साधन चलिरहेको पाइएकोछ ।
साथै विभागले सवारी भित्र्याएको १५ दिन भित्र दर्ता गरिसक्न र त्यस अवधिपछि अनटेस्ट सवारीलाई सडकमा नचलाउन आग्रह गरेकोछ ।