महेनद्रनगर: नेपाल आमाको ७५ फिट अग्लो मूर्तिको नमुना तयार भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ भम्केनी धाममा बन्न लागेको नेपाल आमाको मूर्तिको नमूना तयार भएको हो ।
जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको विशेष पहलमा महाकाली शारदा पीठ भम्केनी धाम विकास समितिले निर्माण गर्न लागेको नेपाल आमाको मूर्ति देशकै सबैभन्दा अग्लो मूर्ति हुने बताइएको छ ।
धाम विकास समितिका निवर्तमान अध्यक्ष हरिसिंह रावलले नेपाल आमाको ७५ फिट अग्लो मूर्तिकोे नमूना तयार गरिएको जनएकाछन् । नमूनाको आधारमा ठूलो अष्टधातुको मूर्ति तयार गरिनेछ । करीब ६ मिटर अग्लो नमूना मूर्तिका चार हात बनाइएका छन्, जसमा नेपालको झण्डा, खुकुरी, चक्र र रुद्राक्ष माला छ ।
मूर्तिमा नेपालको कला संस्कृति र पुरातात्विक महत्वका वस्तु राखिएको निवर्तमान अध्यक्ष रावलको भनाइ छ । मूर्तिका निर्माणका लागि भ्याली कन्स्ट्रक्शन प्रालि पुल्चोकसँग १० करोड ८१ लाखमा धाम समितिले ठेक्का सम्झौता गरिसकेको छ ।
आगामी वर्ष २०७८ अन्तभित्रमा मूर्ति निर्माण गरिसक्ने लक्ष्य लिइएको मूर्ति बनाउन नेपालका जगतगुरु देवाचार्यले ३ वर्ष लगाएर नेपालका ७७ ओटै जिल्लाको पैदल भ्रमण गरेर धातु र पैसा संकलन गरेको बताएका छन् ।
मूर्तिका लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसँग सहयोगका लागि धाम समितिले आग्रह समेत गरेको छ । भीमदत्त नगरपालिकाले मूर्ति निर्माणका लागि एक करोड सहयोग गर्ने प्रतिबद्धता दिएको र अन्य दाता निकायबाट समेत सहयोग प्राप्त भइरहेको उनको भनाइ छ ।
भ्याली कन्स्ट्रक्शन प्रालिका सञ्चालक मनोहर महर्जनले अष्ट धातुको नेपाल आमाको मूर्ति नेपालमा पहिलो पटक बन्न लागेको बताए । उनले उक्त मूर्ति निर्माणका लागि करीब ३० टन धातु र १० हजारभन्दा बढी कामदारको आवश्यकता पर्ने बताए । कम्पनीले भुटानमा २२ फिट अग्लो पेमालिङ्गा मूर्ति निर्माण गरिसकेको छ । गत मंसिरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उक्त मूर्ति निर्माणको उद्घाटन समेत गरेका थिए ।