पश्चिम नेपालमा प्रकृतिको वितण्डा

हावाहुरीमा एकको मृत्यु, ७५ बढी घाइते, सर्तक रहन आग्रह


पश्चिम नेपालमा प्रकृतिको वितण्डा

नेपालगन्ज : पश्चिम नेपालमा प्रकृतिले वितण्डा मच्चाएकोछ । बिहीबार साँझ आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति भएको जानकारी प्राप्त भएकोछ । यो समाचार तयार पार्दासम्म एक जनाको मृत्यु भएको पुष्टि भएको छ, भने ७५ भन्दा बढी घाइते भएका छन् ।

हावाहुरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । आँधीबाट विशेषगरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका प्रभावित भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये सेती अञ्चल अस्पतालमा १८ जनाको उपचार भइरहेको छ । पद्मा अस्पताल अत्तरियामा १३ र निसर्ग अस्पतालमा ७ जनाको उपचार भइरहेको उनको भनाइ छ । उद्धार कार्य चलिरहेकोले घाइतेको संख्या अझै बढ्न सक्नेछ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले बताएकोछ ।

हावाहुरीका कारण घर टहराको छाना उडेको छ भने रुखहरु ढलेकाछन् । ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध समेत भएको छ । सुरक्षाकर्मी र स्थानीयहरु उद्धारमा जुटेका छन् । प्रहरीका अनुसार रातको समय भएकाले उद्धारकार्यमा जटिलता भएकाले क्षतीको यकिन तथ्यांक भोली नै थाहा हुनेछ ।

बिहीबार साँझको हावाहुरी सुदूरपश्चिमबाट पूर्वतर्फ बढेकोछ । हावाहुरीले बाँके, बर्दिया, सुर्खेत र दांग लगायतका विभिन्न जिल्लामा समेत क्षती पुर्याएको छ ।

यसैबीच, सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरबाट सुरु भएको हावाहुरी बर्दिया र दाङ हुदै पूर्व तर्फ बढ्दै आएकाले गृहमन्त्रालय अन्र्तगत राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै हावाहुरी विस्तारै पूर्वतिर बढ्दै गएकोले सर्तकता अपनाउन आग्रह गरेको छ । हावाहुरी अहिले बर्दिया र दाङ हुदैं पूर्व बढ्ने क्रममा छ । सकेसम्म सतर्कता अपनाइ क्षती हुनबाट जोगियौँ । 

भिषण हावाहुरीबाट भएको क्षतीको थप विवरण आउदै ।