हावाहुरीबाट ज्यान गुमाउने संख्या २ पुग्यो, एकसय बढि घाइते


हावाहुरीबाट ज्यान गुमाउने संख्या २ पुग्यो, एकसय बढि घाइते

नेपालगन्ज: पश्चिम नेपालमा बिहीबार साँझ आएको विनासकारी हावाहुरीबाट मृत्यु हुनेको संख्या दुई पुगेकोछ । हावाहुरीले सवैभन्दा बढी कैलाली र कञ्चनपुर धनजनको क्षति गरेकोछ । सो हावाहुरीमा परि एक सय बढि घाइते भएका छन् ।

हावाहुरीबाट गोदावरी नगरपालिका, कैलालीका वीरबहादुर चौधरी र टीकापुरमा पोल्ट्री फर्मको पर्खाल भत्किँदा लहानु चौधरीको मृत्यु भएको प्रहरीले जनाएकोछ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार हावाहुरीका कारण कैलालीमा मात्रै ८० जना घाइते भएका छन् । उनीहरुको अहिले धनगढी अस्पतालमा उपचार भइरहेको छ । अवस्था गम्भीर भएपछि १ जना घाइतेलाई भने नेपालगन्ज रेफर गरिएको छ ।
यस्तै कञ्चनपुर पनि हावाहुरीले क्षती गरेकोछ । कञ्चनपुरमा २३ जना घाइते भएका थिए । जसमध्ये १५ जनाको डिस्चार्ज भएको र ८ जनालाई धनगढी रेफर गरिएको छ । घाइतेमध्ये १ जना गम्भीर भए पनि बाँकीको अवस्था मध्यम छ ।

हावाहुरीले दुवै जिल्लाका भौतिक संरचनामा क्षति र्पुयाएको छ । सो क्षेत्रका सयौंको संख्यामा रुखहरु ढलेका छन् भने घरका छाना उडाएका छन् । छाना उडाएपछि रातभर कष्टकर जीवन बिताएको पीडितहरुले बताएका छन् ।
हावाहुरीले सडकमा रुख ढल्दा कैलालीका विभिन्न स्थानको सवारी आवागमनसमेत प्रभावित भएको छ । यद्यपि, यसलाई हटाएर सवारी सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । सो क्षेत्रका दर्जनौं संख्यामा विजुलीको पोल भाँचिएकाछन् । जसका कारण जिल्लाका अधिकांश स्थानमा विद्युत सेवा बन्द भएको छ ।