बाघ आक्रमणको घटना : बाँकेदेखि कैलालीसम्म २८ जनाको मृत्यु


बाघ आक्रमणको घटना : बाँकेदेखि कैलालीसम्म २८ जनाको मृत्यु

नेपालगन्ज २७ माघ : सन् २०१९ देखि हालसम्म बाँकेदेखि कैलालीसम्म बाघको आक्रमणबाट २८ जनाको मृत्यु भइसकेको राष्ट्रिय प्रकृति संरक्षण कोष(एनटिएनसी)ले जनाएको छ ।

त्यसमध्ये बाँकेका मात्रै ६ जनाको मृत्यु भइसकेको छ । तर, कुनैपनि मृत्यु अहिलेसम्म गाउँमा नभएको कोष (एनटिएनसी)का डा. रविन कडरिया बताउँछन् ।

‘सबै मृत्यु जंगलमा भएको छ र कुनैपनि मृत्यु रातको समयमा भएको छैन, दिउँसो कै समयमा भएको छ, जंगलभित्र च्याउ टिप्न घाँस र दाउरा काट्न गएको अवस्थामा मात्रै मृत्यु भएको छ,’ उनले भने । बाघको बारेमा समाजमा नकारात्मक सन्देश गएको भन्दै हरेक समुदायले सजगता अपनाउन सकेमा बाघ र मानवबीच द्वन्द्व कम गर्न सकिने उनको बुझाई छ ।

बाघ संरक्षणमा जति सफलता प्राप्त भएको छ, त्यतिकै चुनौती पनि रहेको डा. कडरिया बताउँछन् । मानव र वन्यजन्तुबीचको द्वन्द्वका कारण संरक्षणमा चुनौती देखिएको उनको भनाई छ । बाँके र बर्दियामा बाघको घनत्व प्रति सय स्क्वाएर किलोमिटर बराबर झण्डै ६ वटा बाघ रहेको उनले बताए । ‘जहाँ कि भारतका राष्ट्रिय निकुञ्जमा एक सय स्क्वायर किमीमा झण्डै १४ वटा सम्म पनि बाघ छन्, हाम्रो यहाँ बाघको संख्या कम छ, तरपनि मानवसँग द्वन्द्व हुने गरेको छ,’ उनले थपे । बाँके र बर्दियामा बाघ र मानवबीच द्वन्द्व भइरहेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साह निकुञ्जमा बाघको घनत्व कम रहेकाले अटाउन सक्ने क्षमता रहेको बताउँछन् । ‘हाम्रो निकुञ्जको क्षेत्रफल अनुसार बाघ अटाउन सक्ने क्षमता छ, तर यहाँ छाडा पशु चौपाया जंगलमा छाड्ने चलन छ, यस कारण बाघले जंगली जनावरलाई शिकार गर्न छाडेर पशु चौपायालाई मार्ने र मान्छेप्रति पनि आक्रमक भएको हुन सक्छ,’ उनले भने ।

भारतीय निकुञ्जमा प्रति सय स्क्वाएर किमीमा १४ वटा बाघ रहँदा पनि त्यहाँ भयावह र त्रासको अवस्था नभएको बताए । डिभिजन वन कार्यालयका प्रमुख ददिलाल कँडेलले मानव र वन्यजन्तुबीचको द्वन्द्वले बाँकेमा तरंग ल्याएको बताए । ‘कृषि पेशामा लागेका ब्यक्तिलाई जंगलमा नगएर गुजारा चल्दैन, तर सधैभरी जंगलमै आश्रित हुने ढिपी पनि गर्नु हुदैन,’ उनले भने ।

निकुञ्जले संरक्षण कार्य अगाडि बढाइरहँदा मानव र वन्यजन्तुबीच सह–अस्तित्व कायम गरिनुपर्ने स्थानीय सरोकारवाला बताउँछन् । राप्ती सोनारी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्री बाँकेमा केही समययता मानव र वन्यजन्तुबीचको द्वन्द्वले खतराको स्थिती आएको बताईन् । उनले भनिन्, ‘मान्छेलाई मारेर बाघलाई मात्रै बचाउने कुरा हुँदैन, बाघलाई मारेर मान्छेलाई मात्र बचाउने कुरा पनि हुँदैन,’ उनले भनिन्, ‘दुबैको अस्तित्व बचाउने काममा निकुञ्जले ध्यान दिनुपर्छ ।’

थप समाचार

बाघ गणनामा प्रयोग गरिएका करिब ७ लाखका १७ वटा क्यामेरा चोरी

पुषमै बाघ आक्रमणको ५ घटना, २ जनाले अनाहकमा ज्यान गुमाए

ज्यान बचाउन बाघ धपाउँदै राप्तीसोनारीका स्थानीय

बाघ दोब्बर पुर्याएको भन्दै बर्दिया निकुञ्जलाई अन्तर्राष्ट्रिय पुरस्कार