नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ ले बालबालिका लक्षित विभिन्न कार्यक्रमहरु गर्दै आएकोछ । वडामा रहेका बालक्लबहरुमार्फत बालबालिका लक्षित कार्यक्रम वडा कार्यालयले गर्दै आएको हो ।
लक्षित वर्ग बालबालिका कार्यक्रम अन्र्तगत वडा नम्बर ८ ले बालअधिकार तथा बालमैत्री स्थानीय शासन सम्बन्धि दुई दिने अभिमुखिकरण सम्पन्न गरेकोछ ।
महेन्द्र पुस्तकालयमा गरिएको दुईदिने सो अभिमुखिकरणमा वडाका विभिन्न बालक्लबका ४६ जना बालबालिकाको सहभागिता रहेको थियो । प्रशिक्षक सुनिल कुमार चौधरी र नगर बालक्लब सञ्जालका सल्लाहकार ऋतिक शाहीले बालअधिकार तथा बालमैत्रीय स्थानीय शासन सम्बन्धि प्रशिक्षण गरेका थिए ।
आईतबार अभिमुखिकरणको समापनमा सम्बोधन गर्दै वडा अध्यक्ष सुरेन्द्र वैश्य(गुप्ता)ले बालबालिकाको क्षमता प्रस्फुटन गर्दै बालअधिकार र बालमैत्री अवधारणामा सचेतना फैलाउन वडाले बजेट विनियोजन गरेको बताए ।
बालबालिकाका लागि विनियोजित रकमबाट भएको बालगतिविधीबाट उत्साहित हुदै उनले भने –‘वडामा रहेका बालबालिकाको समस्या समाधान तथा न्यूनिकरणका लागि आगामी दिनमा कार्यक्रम तथा बजेट विनियोजनमा कन्जुस्याई नगर्ने बताए ।’
वडा स्तरीय बालक्लब सञ्जालको सहजिकरणमा भएको अभिमुखिकरण समापन समारोहमा वडाका ४ वटा बालक्लबलाई खेलकुद तथा शैक्षिक सामाग्री हस्तान्तरण समेत गरिएको थियो ।
वडाका प्रगतिशिल बालक्लब, भविष्य बालक्लब, फुलबारी बालक्लब र जोलहानपुर्वा बालक्लबलाई सो खेलकुद तथा शैक्षिक सामाग्री प्रदान गरिएको थियो । बालबालिकालाई खेलकुदसगैं बालक्लबको गतिविधिमा आवश्यक पर्ने सामाग्री प्रदान गरिएको हो । कार्यक्रममा वडा सदस्य, वडा सचिव विभिन्न बालक्लबका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।