भूकम्पमा ज्यान गुमाएका सुवेदीको सम्झनामा रक्तदान


भूकम्पमा ज्यान गुमाएका सुवेदीको सम्झनामा रक्तदान

नेपालगन्ज: अच्युतराज सुवेदी स्मृति प्रतिष्ठान नेपाल बाँकेले बुधबार रक्तदान गरेको छ । भेरी अस्पताल हाताभित्र रहेको क्षेत्रीय रक्त सञ्चार केन्द्रमा गरिएको रक्तदान कार्यक्रममा २७ जनाले रक्त दान गरेको प्रतिष्ठानकी सदस्य मालती शर्माले जानकारी दिइन ।

रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्दै रक्तदान गरिएको थियो । विहान ८ बजेदेखि सुरु गरिएको रक्तदान कार्यक्रम बेलुका ५ बजेसम्म चलेको थियो ।

प्रतिष्ठानले बुधबारनै बेलुका ४ बजे नेत्रहिन संघ बाँकेलाई ३ वटा ह्वील चेयर र २० वटा सेतो छडी उपलब्ध गराएकोछ । प्रतिष्ठानले गत बैशाख १२ गते निलसागर वृद्धाश्रमलाई २५ हजार रुपैयाँ नगद प्रदान गरेको थियो ।

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी गम्भीर घाइते भएका नेपालगन्जका युवा व्यवसायी अच्युतराज सुवेदीको २०७२ जेठ २९ गते उपचारका क्रममा निधन भएको थियो । सुवेदीकै स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले ४ वर्षदेखि सामाजिक कार्यमा सक्रिय रहदै आएकोछ ।