युवा उत्पे्ररक प्रसाईँ नेपालगन्ज आउदै


युवा उत्पे्ररक प्रसाईँ नेपालगन्ज आउदै

नेपालगन्ज : बागेश्वरी असलशासन क्लब (बास)द्वारा सञ्चालित साप्ताहिक ईन्स्पाईरिङ्ग युथ कार्यक्रमको तेस्रो वर्षमा प्रवेश अवसरमा विशेष कार्यक्रम गरिने भएकोछ । ईन्स्पाइरिङ्ग युथ कार्यक्रम तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा विशेष कार्यक्रमको आयोजना गरिन लागेको बासले जनाएकोछ ।

युवा लक्षित साताब्यापी सञ्चालन हुने युथ कार्यक्रमको १ सय ३९ औं श्रृंखलामा ४ सय बढि युवाको सहभागिता गराउदै युवा उत्प्रेरक रमेश प्रसाईंको बिशेष उपस्थिती रहनेछ । पब्लिक स्पिकर सिजन २ का बिजेता एवंम धरान निवासी प्रसाई युवा उत्प्रेरकका रुपमा पहिलो पटक नेपालगन्ज आउन लागेका हुन् ।

उनी जन्मजात दृष्टिबिहिन भएता पनि देशको समसामयिक विषय, राष्ट्र र राष्ट्रियता लगायतका बिषयमा तार्किक बिचार दिदै आएका छन् । हाल चर्चामा रहेका युवा उत्प्रेरक प्रसाईंले भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा शनिबार मध्यान्ह १२ बजेर १ मिनेटमा हुने कार्यक्रममा उत्प्रेरणात्मक प्रबचन दिनेछन् । कार्यक्रमको भव्य तयारी भईरहेको ईन्स्पाईरिङ्ग युथ कार्यक्रमका संयोजक रबिन्द्र बोहराले बताए । उनका अनुसार सहभागि हुनका लागि बिद्यार्थीलाई २ सय र अन्यलाई ५ सयको टिकटको प्रबन्ध गरिएको छ ।

कार्यक्रममा वर्ष भरि उत्प्रेरणात्मक प्रबचन दिने उत्प्रेरक बक्ताहरु, पत्रकार, नागरिक समाजका प्रतिनिधि, बिद्यार्थी, व्यवसायी लगाएत सर्बसाधारणको उपस्थिती रहने बासले जनाएकोछ ।

२०७३ जेष्ठ १ गते देखि शुरु भएको कार्यक्रममा हाल सम्म ५ हजार बढिले सहभागिता जनाईसकेका छन् । नेपालगन्जका सफल तथा उत्प्रेरक बक्ताहरुले प्रबचन दिईसकेको उक्त कार्यक्रममा यस अगाबै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा, नायक जीवन लुईंटेल, बरिष्ठ म्याराथन धावक बैकुण्ठ मानन्धर, कथाकार महेश बिक्रम शाह, पूर्ब सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, चर्चित म्यागसेसेर पुरस्कार बिजेता महाबिर पुन, युवा उत्प्रेरक रोहित मल्ल, द आर्ट अफ लिभिङ्गका बरिष्ठ प्रशिक्षक कञ्चन घिमिरेलगाएतको उपस्थितीमा बिशेष कार्यक्रम सम्पन्न भईसकेको बासका कार्यकारी निर्देशक नमस्कार शाहले बताए ।