अझै १० प्रतिशत विद्युत चुहावट
नेपालगन्ज : बाँकेको नेपालगन्जमा गत वर्ष १९ प्रतिशत विद्युत चुहावट थियो । तर, प्राधिकरणले अहिले १० दशमलव ५ प्रतिशत मात्रै विद्युत चुहावट भएको दाबी गरेको छ । यद्यपी चुहावटबाट बार्षिक कति घाटा भइरहेको छ यसको यकिन विवरण नेपालगन्ज शाखासँग नभएको नेपालगन्ज वितरण केन्द्रका प्रमुख रामदुलार यादव बताउँछन् ।
विवरण तयार गर्ने काममा शाखा प्रमुखले समेत कुनै चासो नदेखाएको कर्मचारी बताउँछन् । चुहावट नियन्त्रण तथा कार्वाही प्रक्रियालाई नियमित रुपमा सञ्चालन गरेका कारण यो सफलता हासिल भएको केन्द्रका प्रमुख यादव बताउँछन् ।
चुहावट नियन्त्रणसँगै ठूलो मात्रामा विद्युत युनिट रिकभर भएको छ । जसका कारण गतवर्षको तुलनामा नेपालगन्जमा यो वर्ष लोडसेडिङ गर्न नपरेको झाको दावी छ । तर, बत्ति प्रतिदिन दुई घण्टा गइरहेकै छ । गतवर्ष यतिबेला दैनिक चार घण्टा लोडसेडिय हुँदै आएकोमा यो वर्ष विद्युत दुईवटा फिडरमा मात्रै लोडसेडिङ हुने गरेको छ ।
विद्युत क्षमता गतवर्षकै अनुपातमा रहेपनि ग्राहक भने १२ प्रतिशत बढी बढेको प्राधिकरणले बताएको छ । नेपालगन्जमा गर्मी सिजनमा २४ मेघावाट विद्युत आवश्यक हुने गरेको झा बताउँछन् । नेपालगन्जमा अहिले भारतबाट १२ मेघावाट र व्यस्त समय पिकआवरमा नेपालबाट पाँच मेघावाट विद्युत प्राप्त
भईरहेको कार्यालय प्रमुख यादवले बताए ।
जति गर्मी बढ्दै जान्छ त्यति भारतले कम विद्युत पठाउने गरेको छ । मुलुकका अन्यत्र सहर लोडसेडिय हटेको कारण नेपालगन्जमा पनि लोडसेडिङ हुन नदिन प्रयत्न भईरहेको यादवले जानकारी दिए । अहिले भारत र नेपालको गरी १७ मेघावाट विद्युत नेपालगन्जमा आईरहेको छ । नेपालगन्जमा अझै ७ मेघावाट विद्युत अभाव छ ।
ट्रान्सफर्मरको क्षमता वृद्धि विद्युत वितरणको क्षमता बढाउन नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले ट्रान्सफर्मरको क्षमता समेत बढाएको छ ।
बसपार्कस्थित क्षेत्रीय कार्यालयमा रहेको साढे सात एमभीए क्षमताको ट्रान्सफर्मरलाई १५ एमभीए र नेपालगन्ज कार्यालय परिसरमा रहेको तीन एमभीए क्षमताको ट्रान्सफर्मरलाई ८ एमभीए बनाउने काम भएको छ ।
कोहलपुरमा रहेको १५ एमभीएको ट्रान्सफर्मरलाई पनि बढाएर ३० एमभीए बनाइएको छ । ट्रान्सफर्मरको क्षमता वृद्धि पश्चात विद्युत वितरण प्रक्रियामा कुनै समस्या नहुने उनको भनाई ।
विगतमा विद्युत लोड बढि हुँदा ट्रान्सफर्मरले नधान्ने समस्या रहेको थियो । बक्यौता असुली नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले चालु आर्थिक वर्षमा चुहावट नियन्त्रणसँगै वक्यौता बाँकी रहेका ग्राहकको लाईन काट्ने र वक्यौता असुल उपर गर्ने कार्यलाई समेत प्राथमिकता दिएको छ ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले तयार पारेको आँकडाअनुसार जडित क्षमताका आधारमा प्रणालीमा अहिले स्वदेशका निजी क्षेत्रले उत्पादन गरिरहेको दुई सय एक मेगावाट बराबरको बिजुली चुहावट भएको छ । विद्युत चुहावट नियन्त्रणलाई उत्पादनभन्दा बढी महत्व दिनुपर्ने प्राधिकरणका अधिकारी बताउँछन् । चुहावट गर्नेलाई चोरी सरहको अपराध मानेर फौजदारी मुद्दा बनाउन सके नियन्त्रण हुन सक्ने देखिएको छ ।
चुहावट नियन्त्रण नहुनुमा कर्मचारी, भौतिक साधन र बजेट अभाव प्रमुख कारण मानिएको छ । यसैगरी प्राविधिक चुहावट बढ्नुमा पुराना ट्रान्सफर्मर तथा वितरण लाइनलाई क्षमतायोग्य र व्यवस्थित बनाउन नसक्नुलाई कारणको रुपमा औंल्याउने गरिएको अधिकारीहको भनाई छ ।