साउनदेखि जयकिसानमा ११ को पढाई हुदैँ


साउनदेखि जयकिसानमा ११ को पढाई हुदैँ

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकामा यो बर्षदेखि कक्षा ११ को पढाई शुरु हुने भएको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ६ गंगापुरको भोजपुरस्थित जयकिसान माध्यामिक विद्यालयमा कक्षा ११ को पढाई शुरु गर्न अभियान थालिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेन्द्र कुमार यादवको संयोजकत्वमा चन्दा संकलन समिति गठन गरेर गाउँपालिकामा पहिलो पटक कक्षा ११ को पढाई शुरु गर्न अभियान थालिएको हो ।

कक्षा ११ सञ्चालनका लागि स्विकृति लिन ८ लाख रुपैयाँ धरौटी बुझाउनुपर्ने भएका कारण रकम संकलन अभियान थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवले बताए ।  गाउँपालिकामै कक्षा ११ को पढाई शुरु भएपछि स्थानीय विद्यार्थीलाई पढ्न अन्यत्र जानुपर्ने बाध्यता हट्ने गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह बताउँछन् ।

११ कक्षा सञ्चालनका लागि गाउँपालिकाले हरसम्भव सहयोग गर्ने अध्यक्ष शाहले प्रतिबद्धता व्यक्त गरे । शिक्षक व्यवस्थापनका लागि गाउँपालिकाले सहयोग गर्ने भएको छ । जयकिसान माविमा कक्षा ११ सञ्चालनका लागि गाउँपालिका कार्यालयमा भएको छलफल कार्यक्रममा वडा नम्बर १, २ र ४ ले सहयोग रकम समेत घोषणा गरेका छन् ।

वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाहले १ लाख ५० हजार १ सय, वडा नम्बर ४ का वडा अध्यक्ष दिनेश प्रसाद शर्माले ५१ हजार र वडा नम्बर १ का सदस्य जलालु खाँले २५ हजार रुपैयाँ दिने घोषणा गरेको जयकिसान माविका प्रधानाध्यापक लक्ष्मण प्रसाद तिवारीले बताए ।

वडा कार्यालय, विभिन्न संघसंस्था, नरैनापुरमा सञ्चालित २१ वटा विद्यालयहरुबाट चन्दा संकलन गर्नुका साथै स्थानीयहरुबाट नगद, जिन्सी दान समेत लिएर धरौटी रकम जम्मा गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यादवले बताउ ।  शुरुमा शिक्षा संकायको पढाई शुरु गर्ने योजना रहेको छ । योग्यता पुगेका शिक्षकहरु विद्यालयमै भएका कारण पठनपाठनमा समस्या नहुने विद्यालयका प्रधानाध्यापक तिवारीले बताए ।