आफ्नो सवल पक्षको पहिचान गरौं: युवा उत्प्रेरक प्रसाई


आफ्नो सवल पक्षको पहिचान गरौं: युवा उत्प्रेरक प्रसाई

नेपालगन्ज : बागेश्वरी असलशासन क्लब (बास)द्वारा आयोजित ईन्स्पाईरिङ्ग युथ कार्यक्रमको तेश्रो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेकोछ । इन्स्पाइरिङ्ग युथको तेश्रो वार्षिकोत्सवको अवसरमा उत्प्रेरक रमेश प्रसाईले आफ्नो अनुभव सुनाउदै युवालाई उत्प्रेरणात्मक प्रवचन दिएका छन् ।

उनले आफ्नो मन्तव्यको पहिलो चरणमा अनुभव सुनाउदै फरक क्षमता भएर जन्मिदाँ आफुले भोगेको भोगाईका बारेमा बताउदै दृष्टिबिहिनले समाजमा अझैपनि अपहेलनाको शिकार बन्नु परेकोमा दुःख ब्यक्त गरे । तरपनि यस्ता बाधा र अवरोधबाट हरेश नखाई अघि बढेको उनले बताए ।

चार सय बढि युवाहरुको उपस्थितीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने–‘म रमेश प्रसाई भनेर चिनिन चाहन्थें तर, समाज मलाई दृष्टिबिहिन भनेर चिनाउन चाहन्थ्यो’–उनले भने –‘सानैं देखि बोल्नमा अव्वल थिएँ, धेरै प्रतियोगिताहरुमा भाग लिँदा मलाई मञ्चमा दृष्टिबिहिन भनेर बोलाईन्थ्यो ।’

‘अपाँगता भन्ने शव्द प्रतिनैं आपत्ति छ’–प्रसाईंले भने–‘केही न केही सबैमा सवलता र दुर्वलता हुन्छ । दुर्वलताका पछि लागेर समाज समृद्ध बन्दैन । म कुनै कारणले होईन आफ्नो नामले चिनिन चाहन्थें –उनले अगाडी भने –‘समस्या नभएको मान्छे को छ र ?, समस्या सँग जुधेर अघि बढ्ने हो । म समस्यासँग जुधेर अघि बढें र यहाँ सम्मपूगेँ ।’

अस्तित्वको खोजी गरिरहेका प्रसाईले पहिलो पल्ट नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिका विषयमा साथीको आग्रहमा फेसबुकमा दिएको अभिब्यक्तिले एकाएक उनी चर्चामा पुगको थिए । उनले दिएको विचार ७ लाख व्यक्तिले हेरेको र त्यहिँबाट अघि बढ्ने प्ररेणा प्राप्त भएको उनले बताए ।

उनले युवामाझ आफ्ना भनाई राख्दै भने –‘म आफ्नो दुर्बलताका पछि लागेको भए यो स्थानमा पूग्ने थिईन, ममा भएको सवलताको पछि लागेर यहाँ पूगें ।’ उनले भने–‘सबै आफ्नो सवलताको पहिचान गरेर अघि बढौं, देश आफै बन्छ ।’

नेपालको वर्तमान अवस्थालाई कटाक्ष गर्दे युवा उत्प्ररेक प्रसाईले भने बीउको जात थाहा नपाएका मान्छे कृषि मन्त्रि हुन्छ, ज्वरोको औषधि थाहा नभएका मान्छे स्वास्थ्य मन्त्री हुन्छ, जनताका कुरा नबुझ्ने मान्छे जनप्रतिनिधि बन्छ अनि कसरी देश बन्छ ? प्रसाईले सामाजिक सञ्जालमार्फत राष्ट्र र राष्ट्रियताका पक्षमा निरन्तर आफ्ना विचार राख्दै आएकाछन् ।

उनले भने ईञ्जिनियरले सहि नक्शापास गरिदियो, शिक्षकले सहि तरिकाले पढायो, डाक्टरले सहि तरिकाले चेक गरिदियो भनेदेश आफै बन्छ। समस्या छैन सवैले आफ्नो जिम्मेवारी ईमान्दारितापूर्बक निर्बाह गरेमा सुशासनको त्यहीबाट शुरुवात हुन्छ ।

पहिलो पटक नेपालगन्ज आएका प्रसाईले तराई र पहाड बिचको सद्भावको केन्द्र बिन्दु नेपालगन्ज रहेको उल्लेख गर्दै यहाँको सद्भाव सधै कसिलो र बलियो हुनुपर्ने बताए ।  भ्रष्टाचार बढ्नुमा सबै जिम्मेवार रहेको उल्लेख गर्दै घर वरपरि कसले कति खर्च गर्यो भनेर चाँसो नदिने, आफुले मत दिएर जिताएका आफ्ना जनप्रतिनिधिलाई के काम गर्नु भयो भनेर सोध्नसम्म नसक्ने सँस्कृतिका कारण भ्रष्टाचार मौलाउदै गएको धारणा राखे ।

डेढ घण्टा लामो प्रबचन दिएका प्रसाईंले बिभिन्न कविता बाचन गर्नुका साथै क्यारिकेचर समेत गरेका थिए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शम्शेर राणाले युवाहरुको व्यक्तित्व बिकासका लागि ईन्सपाईरिंग युथ कार्यक्रम प्रभावकारी भएको बताए ।

कार्यक्रममा बर्ष भरि उत्प्रेरणात्मक प्रबचनदिने उत्प्रेरक बक्ताहरु, पत्रकार, नागरिक समाजका प्रतिनिधि, बिद्यार्थी, व्यवसायी लगाएत सर्बसाधारणको उपस्थिती रहेको थियो । सोही कार्यक्रममा विभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिएको बासका कार्यकारी निर्देश नमस्कार शाहले जानकारी दिए ।