नेपालगन्ज २४ वैशाख : प्रशान्त विष्ट यतिबेला नेपालगन्ज उपमहानगरपालिकाको प्रमुख बन्ने दौडमा छन् । राजनीतिबाटै समाज परिवर्तन गर्नुपर्छ भन्ने लक्ष्य बनाएका प्रशान्त आफ्ना बुवाको सपना भने जेठो छोरा सरकारी जागिरे होस् भन्ने रहेको स्मरण गर्छन् ।
प्रशान्त पनि सिडिओ वा पुलिस अफिसर बन्ने सपना देख्थे । चाहेको भए आफ्नो त्यो सपना पनि सहजै पूरा हुने विष्ट बताउँछन् । तर, प्रशान्तले सरकारी जागिर वा आरामदायी जिन्दगीको बाटो रोजेनन् । उनले आफ्नो जीवनको उर्जावान समय राजनीतिलाई दिए ।
‘अब मेरो जीवनको लक्ष्य भनेकै राजनीतिलाई सेवाको माध्यम बनाएर जनताका लागि काम गर्नु हो । मलाई पैसा र पावरको त्यतिलोभ छैन,’ विष्ट भन्छन्, ‘पैसा र पावर त मैले अरु क्षेत्रमालागेरै कमाउन सक्थें । मेरा साथीहरु धेरै पहिले नै ठूल्ठूला पदमा पुगिसकेका छन् ।’
बुवा सरकारी जागिरे हुनुको लाभ प्रशान्तको लालन पालन र शिक्षा—दिक्षामा पनि पर्यो । उनले राम्रो शिक्षा लिने अवसरपाए । २०३५ सालमा जन्मिएका विष्टले जयबागेश्वरीमा कक्षा पाँचसम्म अध्ययन गरे । त्यसपछि महेन्द्र माविमा अध्ययन गरेर २०५१ सालमा एसएलसी दिएका प्रशान्तले द्धितिय श्रेणीमा उत्तीर्ण गरे ।
प्रशान्तको राजनीतिमा प्रवेश उनको परिवारले नचाहँदा नचाहँदै भएको हो । हुन त उनको परिवार राजनीतिबाट पूरै अछुतो पनि थिएन । सुशिल कोइरालाका ठूल्दाई प्रमोद कोइराला र विष्टका हजुरबुवा बीच मितको नाता थियो । कोइराला नेपालगन्ज रहँदा विष्टको घरमाआउने जाने गरिरहन्थे । तर, सक्रिय राजनीति पनि उनको परिवारबाट कसैले गरिरहेको थिएन ।
महेन्द्र माविमा हुँदा नै उनी नेवि संघको विद्यालय इकाई सचिव बनाइएका थिए । तर, त्यस प्रति उनको त्यति चासो थिएन । २०५४ सालमा महेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा उनले प्रविणता प्रमाणपत्र उर्तीण गरे । २०५५ सालमा उनले व्यवस्थापन संकायमै स्नातक तह अध्ययन सुरु गरे ।
त्यति बेला क्याम्पसमा विद्यार्थी युनियन चुनावको चर्चा थियो । उनले नेपाल बिद्यार्थी संघ नै रोजे । तर, नेपालगन्ज नै घर भएका भन्दा त्यतिबेला बाहिरबाट आएका विद्यार्थीहरुको राजनीतिमा दबदबा हुन्थ्यो ।
नेविसंघबाट नेपालगन्जको स्थानीय वासीको युनियनमा प्रतिनिधित्व गराउने क्रममा प्रशान्तले सहसचिवको चुनाव लडे । ‘रहरमाचुनाव लडेको हुँ, अन्तिम समयमा मात्रै उम्मेदवारी दिएँ, तर जीवनको पहिलो चुनाव हारियो,’ विष्टले भने ।
चुनाव हारेपनि उनमा राजनीतिको नशा झन् बढ्न थाल्यो । त्यसपछि बुवाले प्रशान्तलाई भने, ‘पढाई भन्दा बढी राजनीतिमा ध्यान दिन्छस्, चुनावपनि हार्छस्, अब काठामाडौं जा ।’ त्यसपछि विष्ट पुगे काठमाण्डौको शंकरदेव क्याम्पसमा । स्नातक तह दोस्रोे वर्ष उनले शंकरदेव क्याम्पसमा अध्ययन गरे ।
शंकरदेव क्याम्पसमा पुगेपछि कांग्रेसका अहिलको सहमहामन्त्री किशोरसिंह राठौरले त्यहाँको युनियनको चुनावमा पनि सदस्य लड्न भने । राजनीति छुट्ला भन्ने आशामा काठमाडौँ गएको छोरो फेरि राजनीतिमा लाग्न थालेको थाहा पाएपछि बुवाले उनलाई नेपालगन्ज नै बोलाए र पुनः स्नातक तह तेस्रो वर्षबाट महेन्द्रमै अध्ययन सुरु गरे ।
२०५९ सालमा भने अनेरास्ववियु र नेविसंघको गठबन्धन गरेर चुनाव लडेपछि उनी स्ववियु उपसभापतिमा निर्वाचित भए । त्यसपछि विष्टको राजनीतिक यात्रामा असफलता कहिल्यै हात लागेन । २०६१ सालमा पुनः उनी स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघबाट उपसभापतिको उम्मेदवार बनेर विजयी हासिल गरे ।
२०६३ सालदेखि लगातार ४ वर्ष नेविसंघ बाँकेको अध्यक्ष बनेका विष्टले कुशल नेतृत्व क्षमता देखाए । २०६८ सालमा उनी नेपाली काँग्रेसको नेपालगन्ज नगर सभापति पदमा निर्वाचित भए । त्यसपछि २०७३ सालमा उपमहानगरपालिका भएपश्चात् सर्बसम्मत नेपालगन्ज उपमहानगरपालिका नगर सभापतिमा दोहोरिए । २०७८ मा काँग्रेसको १४ औं महाधिवेशनबाट पुनः उनी नेपालगन्ज नगर सभापतिमा निर्वाचित भएर ह्याट्रीक गरे ।
विष्ट भन्छन्, ‘मेरो राजनीतिक जीवनको जितको सुरुवात नै गठबन्धनबाट भएको थियो । यसपटक पनि म गठबन्धनबाट साझा उम्मेदवार छु । यतिखेर मैले नगर प्रमुख पदका लागि गरेको तयारी, नेपालगन्जको विकासमा दिएको योगदान र सबै समुदायसँगको मेरो निकटताका आधार थपिएका छन् । मैले जित्ने निश्चत छ ।’
थप समाचार
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’