नेपालगन्जको नगर प्रमुख बन्न प्रशान्तको एक दशकदेखी तयारी

नेपालगन्जलाई सद्भावपूर्ण, विकसित र सुविधायुक्त सहर बनाउने आफ्नो सपना


नेपालगन्जको नगर प्रमुख बन्न प्रशान्तको एक दशकदेखी तयारी

नेपालगन्ज २१ वैशाख : सनीय सरकार संघीयताको सबैभन्दा सशक्त र जनताको नजिकको सरकार हो । यसको नेतृत्व गर्ने व्यक्ति शैक्षिक, इमान्दारिता र सृजनशीलतामा अब्बल भएन भने त्यसले स्थानीय सरकारको मर्मअनुसार काम गर्न सक्दैन । यसका साथै स्थानीय सरकारको प्रमुख बन्न चाहने व्यक्तिमा लामो तयारी पनि हुनुपर्दछ ।

‘नेपालगन्ज उपमहानगरपालिकाजस्तो एक अग्रणी र विविध आयाम बोकेको सहरको नेतृत्व गर्न चाहने व्यक्तिमा तयारी राम्रो भएन भने उसले सिक्दा सिक्दै कार्यकाल बित्यो भन्नेबाहेक अरु केही गर्न सक्दैन ।’ यो भनाई नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुखका लागि कांग्रेस लगायत गठबन्धन तर्फका उम्मेदवार प्रशान्त विष्टको हो ।

आफूले नेपालगन्जको नगर प्रमुखका लागि गरेको जस्तो तयारी अहिलेका अन्य उम्मेदवार कसैको पनि नभएको उनी दाबी गर्छन् । नगर प्रमुखका लागि आफुले एक दशकअघिदेखि तयारी गरेको विष्टको भनाई छ । नेपालगन्जलाई सद्भावपूर्ण, विकसित र सुविधायुक्त सहर बनाउने आफ्नो सपना रहेको उनी बताउँछन् । ‘त्यसका लागि मैले पार्टीभित्र पनि रणनीतिक रुपमा काम गरेँ, अध्ययन गरेँ, यति मात्रै होइन, जनतासँगको सम्बन्धलाई पनि बिस्तार गरेँ,’ विष्टले भने । पार्टीको संरचना बुझेर नै आफूले नगर प्रमुखको लागि सजिलो हुने पद कांग्रेसको नगर सभापति रोजेको उनी बताउछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

२०६८ सालमा कांग्रेसको नेपालगन्ज नगर समितिको सभापति पदमा निर्वाचित भएका विष्ट उक्त पदमा दाबी गर्नुका पछाडि नेपालगन्जको नगर प्रमुख सम्मको बाटो बनाउनु रहेको बताउछन् । ‘नगर सभापति पद भनेको नगर प्रमुख पदको लागि प्रमुख दाबेदार हुन्थ्यो, त्यतिबेला अब देश संघीयतामा जान्छ भन्ने लगभग थाहा भइसकेको थियो, त्यसपछि मैले त्यही पदमा दाबी गरेँ,’ उनले भने ‘पहिलो कार्यकाल सकिएपछि माथिको पदमा गएपनि हुन्थ्यो, तर मलाई थाहा थियो नगर सभापति भनेको नगर प्रमुखको पनि दाबेदार हो, त्यसकारण त्यसैमा दोहोरिन चाहेँ ।’

२०७३ सालमा तत्कालिन नगरपालिकाबाट उपमहानगरपालिका बनेपछि नगर सभापतिमा सर्वसम्मत दोहोरिएका थिए, भने २०७८ सालमा भएको पछिल्लो अधिवेशनबाट पुनः नगर सभापति पदमै निर्वाचित भए । उनले नगर प्रमुखको टिकट पाउनुका पछाडि नगर सभापतिको रुपमा दाबेदारी पनि महत्वपूर्ण तर्क रहेको नेताहरु बताउँछन् ।

यस्तै जनस्तरमा सम्बन्ध बिस्तारका लागि उनले यसबीचमा थुप्रै सामाजिक कामहरुमा सक्रियता देखाए । नेपालगन्जमा धार्मिक सद्भाव कायम गर्ने काममा भूमिका निभाए । विभिन्न सामाजिक संस्थाहरुबाट सेवाको काममा सक्रियता बढाए ।

कोरोना महामारीको समयमा भेरी अस्पतालमा सञ्चालित २० रुपैयाँमा खाना खुवाउने कामको लागि पनि उनको भूमिका महत्वपूर्ण थियो । अर्काेतर्फ प्रशान्तले मेयरका लागि आवश्यक अध्ययन गरेको समेत बताए । ‘मैले विदेशका धेरै सहरहरुको विकासका मोडेल अध्ययन गरें, विज्ञहरुलाई भेटेर धेरै कुरा सिकें, म आफै व्यवस्थापनको विद्यार्थी भएकोले त्यसले पनि धेरै कुरामा मलाई नगर प्रमुखका रुपमा सहयोग गर्छ भन्ने लाग्छ,’ उनले भने ।

उनी नेपालगन्जको एकीकृत शहरी विकास आयोजनाको खाका बनाउँदा आफूले राजनीतिक संयन्त्रमा रहेर अग्रणी भूमिका निभाउन पाउनु पनि आफ्नो मेयरको तयारीका रुपमा लिएको बताउछन् । यसका साथै पहिलो कार्यकालमा स्थानीय सरकारहरुले गरेका कामहरुलाई नजिकबाट नियालेको पनि उनले बताए । स्थानीय सरकारको अधिकारलाई हेर्ने हो भने धेरै राम्रा कामहरु गर्न सक्ने अवसरहरु रहेका उनको भनाई छ ।

‘मेरो पूरा ध्यान र ध्येय नेपालगन्जको विकासमा छ, यहाँका जनताको भावनाअनुसार काम गर्नेमा छ, मतदाताले पनि मलाई अवसर दिनुुहुन्छ भन्नेमा विश्वस्त छु,’ उनले भने ।