बाँकेका सिडिओ खत्रीले भने– ‘शालिक नराख्ने पक्षमा हामी छैनौं’


बाँकेका सिडिओ खत्रीले भने– ‘शालिक नराख्ने पक्षमा हामी छैनौं’

नेपालगन्ज १९ जेठ : बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले शालिक राख्ने पक्षमा बाँके प्रशासन सकारात्मक रहेको बताएकाछन् ।

‘जिल्ला प्रशासन कार्यालय बाँके शालिक नराख्ने पक्षमा छैन’, नेपालगन्जको धम्बोझी चोकमा बिहीबार विहान स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनस्थापना पछि सिर्जित तनावग्रस्त अवस्थाका बारेमा जानकारी दिदैँ सिडिओ खत्रीले भने–‘शालिक राख्ने नराख्ने विषयमा बाँके प्रशासन बाधक होइन, एकपक्षियरुपमा शालिक राखिएपछि अवस्था सामान्य गर्न प्रशासन र प्रहरीले शालिक नियन्त्रणमा लिएको हो ।’

‘नेपालगन्जको धम्बोझी चोकमा शालिक राख्ने विषयमा प्रशासनलाई जानकारी गराइएन । जानकारी दिएर सर्वपक्षिय छलफल गरेर राखेको भए अहिलेको अवस्था आउने थिएन ।’ सेतोखरीसंग कुरा गर्दै बाँकेका सिडिओ खत्रीले भने –‘नेपालगन्ज सद्भावको सहर हो । ससाना कुरामा ध्यान नदिए यहाँको सामाजिक सद्भाव खलबलिन सक्छ ।’

सेतोखरीले यसअघि त्रिभुवन चोकमा शालिक राख्दा मौन सहमति अहिले वीरेन्द्रको शालिक किन राख्न दिइएन ? भनि जिज्ञासा राख्दा बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले भने–‘त्रिभुवन चोकमा शालिक राख्दा सर्वपक्षिय बैठक बसेर समन्वय र सहकार्यमा राखियोे । त्यतीबेला नै अब उपरान्त शालिक राख्दा समन्वय र सहकार्य गरि मात्र राख्ने भनेर निर्णय गरिएको थियो । एक पक्षले आफूखुसी शालिक राख्दा सामाजिक सद्भावमा असर पुग्ने र यसबाट गलत सन्देश जाने हुँदा प्रशासनले त्यो अवस्था सामान्यकरण गर्न शालिक नियन्त्रणमा लिएको हो । सहमति जनाउने वा आपत्ती राख्ने भन्ने होइन, बाँके प्रशासन शालिक राख्नेमा बाधक होइन ।’

Kids Festival 2022
kanti aarogya hospital

‘सहमति गरी राजा वीरेन्द्रको शालिक राखेको भए पनि हुने थियो । त्यसो नगर्दा अर्को खतरा हुने आशंकाले हटाउनु परेको हो ।’ राप्रपका कार्यकर्ताले शालिक राखे लगतै अरू राजनीतिक दल तथा समुदायका मानिसले तिब्र विरोध जनाउन थालेपछि प्रहरीले राजा वीरेन्द्रको शालिक राखेको केही बेरमै हटाउन खोज्दा विवाद बढेको उनले बताए ।

सिडिओ खत्रीले भने–‘शालिक राख्नेक्रममा भएको घटना निन्दनीयछ । उग्र बनेको समुहले सहिद सेतु विकको शालिक समेत फोडेका छन् । यसै विषयलाई लिएर सर्वपक्षिय बैठक बोलाएको छु ।’ सडिओ खत्रीका अनुसार धम्बोझी चोकमा राजा वीरेन्द्रको शालिक राख्ने वा नराख्ने विषयलाई सर्वपक्षिय बैठकबाट निर्णय गरेर अघि बढ्ने बताए ।

यता राप्रपाका सहायक सहमहामन्त्री ऋषिराज देवकोटाले वीरेन्द्रको शालिक राखेको केही बेरमै प्रहरीले जबरजस्ती हटाएको भन्दै रोष प्रकट गरेका छन् ।

यो सरकारको दम्भ हो, जनसमुदायले स्वस्फूर्त स्थापना गरेको शालिक हटाउने कार्य प्रहरी प्रशासनको दादागिरी हो’ देवकोटाले भने–‘केही अमुख पार्टी र नेताको इशारामा बाँके प्रहरी र प्रशासन सञ्चालित छन् । एउटा शालिकसंग डराउनुनै पर्दैनथ्यो । यसले गणतन्त्रको जग कति कमजोर छ भनेर पुष्टि गरिसक्यो ।’

‘राजा वीरेन्द्रको शालिक हामीले राख्दा यत्रो बल प्रयोग गरेर हवाई फायर गर्दै हटाउनु पर्ने कारण के हो ?’, सेतोखरीसँग कुरा गर्दै उनले प्रश्न गरे ‘हामीले पुरानै ठाउँमा शालिक राखेको त हो नि । शालिक राख्दैमा किन यत्रो आतंक ?’

शालिक राख्नुपूर्व प्रशासन र प्रहरीलाई जानकारी गराएको भए हुने थियो नी ? सेतोखरीको जिज्ञासामा देवकोटाले भने –‘हिजो २०६२/०६३ आन्दोलनका बेला राजाको शालिक भत्काउदा कसले जानकारी गरायो ? गणतन्त्रबादीले फोड्दा सर्वदलिय र नगरपालिकाको सहमति नचाहिने स्वस्फुुर्तरुपमा जनताले राख्दा अनुमति लिने ?’

‘हामीले अपेक्षा गरेको भन्दा ठिक उल्टो बाँकेको प्रशासन र प्रहरीको भूमिका देखियो । यसअघि पनि वीरेन्द्रको शालिक प्रहरीले ‘चोरेर’ लुकायो आज पनि लिएर गयो ।’ देवकोटाले भने–‘वीरेन्द्रको शालिक पुनस्थापनामा बाधक बन्ने जोकोहीलाई जनताले माफी दिनेवाला छैनन्, यो विषय अब राष्ट्रियकरण गरिनेछ, शालिक पुस्थापना नभएसम्म आन्दोलन गरिनेछ ।’

‘निर्जिव शालिकसंग डराउने गणतन्त्रको जग कति कमजोर रहेछ प्रमाणित भयो । प्रहरीको ठुलो दमन र दर्जनौं हवाई फायर गरि राखिएको मुर्ती हटाएको छ, धेरैलाई पक्राउ र घाईते बनाएको छ । जनतामाथिको दमनको सरकारले हिसाब लिनुपर्ने नै छ, सम्पुर्ण राष्ट्रबादी साथीहरुलाई संयमता अपनाउँदै प्रतिकारको रणनीति बनाऊन जुटौं ।’ उनले प्रतिक्रिया दिए ।

देवकोटाले आक्रोशित राप्रपाका कार्यकर्ताहरूले सहिद सेतु विकको शालिक तोडफोड गरेको भनि गलत प्रचार गरेको दावि गरे ।

वीरेन्द्रको शालिक राखेको विषयमा प्रहरी र शालिक राख्ने पक्षबीच भएको झडप र तनावग्रस्त अवस्थालाई लिएर यतिबेला जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षिय सर्वदलिय बैठक बसिरहेकोछ ।

थप समाचार

वीरेन्द्रको शालिक हटाएपछि आक्रोशित समुहले सहिद सेतु विकको शालिक फोडे

संवादमार्फत समस्याको स्थायी समाधान खोज्ने विष्टको प्रतिवद्धता

लिङ्देनले सरकारलाई भने: इतिहासको सम्मान गर्न सिक