रगतजाँच गरेर ‘विवाह कुण्डली’ मिलाउनुहोस्


रगतजाँच गरेर ‘विवाह कुण्डली’ मिलाउनुहोस्

नेपालगन्ज ३ असार : सिकलसेल रोग रोकथामका लागि थारू समुदायलाई रगतजाँच गरेर विवाह कुण्डली मिलाउन विशेषज्ञ डाक्टरले सुझाव दिएका छन् । सिकलसेलबाट सन्तानलाई बचाउनका लागि अनिवार्य रूपमा रगतजाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको छ ।

यतिबेला बाँकेका थारू गाउँहरुमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने पम्प्लेट नै छ्याप्छ्याप्ती बाँडिएको छ । सिकलसेल विशेषज्ञ डाक्टर राजन पाण्डेले तयार पारेको विवाह कुण्डलीमा सिकल सेलका बिरामी–बिरामीका बीचमा विवाह गर्नै नमिल्ने उल्लेख गरिएको छ ।

पचास प्रतिशत बिरामी र पचास प्रतिशत बाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ । २५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्दापनि सोच विचार गर्नुपर्ने भनिएको छ ।
बाहक–बाहक, पचास प्रतिशत सामान्य र पचास प्रतिशत बाहकका बीचमा विवाह गर्न मिल्ने उल्लेख गरिएको छ ।

अहिले रोग नदेखिए पनि उसबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’भनिएको छ । ‘अहिलेको पुस्तामा रोग देखिएको छैन । तर, उसका सन्तानमा रोग देखिन सक्नेलाई बाहक भन्ने गरिएको छ’, स्वास्थ्यकर्मीले भनेका छन्, ‘बिरामी भनेको त लक्षण देखिएको भइहाल्यो ।’

Kids Festival 2022
kanti aarogya hospital
add

विवाहगर्दा चिना हेर्ने गरिन्छ । थारू समुदायमा भने रगतजाँच गर्नुपर्ने भएको छ। सन्तान, दर सन्तानलाई सिकल सेलबाट बचाउनका लागि रगत जाँच गरेर मात्रै कुण्डली मिलाउनु पर्ने भएको छ ।

बाँकेको थारू बाहुल्य गाउँमा यतिबेला बिरामी र बाहक पत्ता लगाउने काम भइरहेको छ । स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत नरेश श्रेष्ठले बिरामी र बाहक पत्ता लगाएर उनीहरूलाई विवाह कुण्डलीका बारेमा जानकारी दिने काम भइरहेको बताए ।

थारु समुदायमा जनस्वास्थ्य समस्याको रूपमा रहेको सिकलसेलका नौ सय जना बिरामीले भेरी अस्पतालबाट औषधि खाइरहेको डाक्टर पाण्डेले जानकारी दिए । उनले पश्चिमका विभिन्न जिल्लामा तीन हजार आठ सय तीन जनाले नियमित औषधी खाइरहेको बताए ।

डाक्टर पाण्डेले सिकलसेलको रोकथाम भनेकै पूर्वतयारी भएकाले रगतजाँच गरेर कुण्डली मिलाई विवाह गर्दा नियन्त्रण गर्न सकिने बताए ।

‘बिरामी–बिरामीका बीचमा विवाह गर्नै भएन । बिरामी र बाहकको मात्रा बराबरी छ भने पनि विवाह गर्नु भएन। रगतजाँचेर कुण्डली मिलाएर विवाहगर्दा यो वंशाणुगत रोग नियन्त्रणमा आउँछ’, डाक्टर पाण्डेले भने ।
सरकारले सिकलसेललाई जनस्वास्थ्य समस्याभन्दै पश्चिमका अस्पतालहरुमा जाँच र उपचारको व्यवस्था गरेको छ ।

यतिबेला बाँकेको राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिका मासिकल सेलको परीक्षण र उपचार भइरहेको छ । यसअघि राप्तीसोनारी –३ र ४ का ५ जनामा सिकलसेल र ४ जनामा थालसेमिया रोग फेला परेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

संकलित ६० जनाको नमुना भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कुल ९ जनामा सिकलसेल तथा थालसेमिया रोग फेला परेको भेरी अस्पतालका प्रयोगशाला प्रमुख प्रशन्न मिश्रले जानकारी दिए ।