सल्यानमा दुर्घटना : चारजनाको मृत्यु, २२ जना घाइते


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
सल्यानमा दुर्घटना : चारजनाको मृत्यु, २२ जना घाइते

नेपालगन्ज। जिल्लाको सिद्ध कुमाख गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिकामा भएको दुर्घटनामा चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार सिद्ध कुमाख गाउँपालिका–२ रातामाटे खोलास्थित भित्री कच्ची सडकमा स्कर्पियो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

श्रीनगरबाट टाकुरातर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जीप शुक्रवार बेलुकातिर सडकबाट झन्डै एक सय ५० मिटर तल खोलामा खसेको थियो। 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार दुर्घटनामा परी सिद्ध कुमाख गाउँपालिका–२ का ४३ वर्षीय साउने रोका, ४३ वर्षीया कृष्णी बस्नेत र ४५ वर्षीया सीता विकको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। घाइतेमध्ये केहीलाई थप उपचारका लागि दाङ, नेपालगञ्ज र जिल्ला अस्पताल सल्यान रिफर गरिएको प्रहरीले जनाएको छ।

यसैगरी, बनगाड कुपिण्डे नगरपालिका–११ गरास्थित खलंगा–बालुवा संग्राही सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

चौरबाट बालुवा संग्राहीतर्फ आउँदै गरेको रा १ च १७२३ नम्बरको डबल क्याब बोलेरो शुक्रबार राति सडकबाट झन्डै एक सय मिटर तल खसेको थियो। दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उद्धार गरी नगर अस्पताल देवस्थलमा उपचारका लागि पठाइएको थियो। घाइतेमध्ये केहीलाई थप उपचारका लागि सुर्खेत र नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ।