डिडिसीमा १२ करोड घोटाला, तत्कालीन जिएमसहित आठजना समातिए


सेतोखरी सेतोखरी   १ घण्टा अगाडि
डिडिसीमा १२ करोड घोटाला, तत्कालीन जिएमसहित आठजना समातिए

नेपालगन्ज। दुग्ध विकास संस्थानका तत्कालीन महाप्रवन्धकसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। संस्थानभित्र १२ करोडभन्दा धेरै हिनामिना गरेको आरोपमा प्रहरीले उनिहरूलाई पक्राउ गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनिहरूलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो। 

यो नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको संस्थान हो। तत्कालीन महाप्रबन्धक संजीव झासहित विभिन्न जिम्मेवारीमा रहेका अरु ८ जनलाई कर्मचारीहरूको मिलोमतोमा गैरकानूनी रूपमा आर्थिक लाभ लिई संस्थालाई गम्भीर नोक्सानी पुर्‍याएको आरोप छ। झा हाल दुग्ध विकास संस्थानको मुख्य कार्यालय लैनचौरमा प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखसमेत हुन्। उनलाई प्रहरीले कार्यालयबाटै नियन्त्रणमा लिएको थियो।

उनिहरूमाथि अपराधिक विश्वासघात तथा संगठित अपराधको कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट प्रतिवादीहरूले पूर्व-नियोजित योजना र मिलेमतोमा संगठित सञ्जालको आवरणमा विभिन्न समूह खडा गरी संस्थानलाई प्रत्यक्ष रूपमा १२ करोड १३ लाख ४० हजार ५ सय ३० रुपैयाँ बराबरको गैरकानूनी आर्थिक हानि पुर्‍याएको पुष्टि भएको छ।

मुलुकी अपराध संहिता, २०७४ को 'अपराधीक विश्वासघात गर्न नहुने कसुर' तथा 'संगठित अपराध निवारण ऐन, २०७०' बमोजिमको कसुर देखिएपछि सम्मानित काठमाडौं जिल्ला अदालत बबरमहलबाट पक्राउ अनुमति लिइएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार तत्कालीन सिम्ले चिस्यान केन्द्र तथा हाल हाल बालाजु दुग्ध वितरण केन्द्रका इन्चार्ज विजय कुमार यादवलाई बालाजुबाट, तत्कालीन भक्तपुर चिस्यान केन्द्रको इन्चार्ज रहि हाल केन्द्रीय कार्यालयमा कार्यरत मनहरी शर्मालाई पोखराबाट, तत्कालीन चनौली चिस्यान केन्द्र इन्चार्ज र हाल काठमाडौं वितरण केन्द्रमा रहेका रामकेवल रायलाई सर्लाहीबाट, तत्कालीन भक्तपुर चिस्यान केन्द्रको इन्चार्ज तथा हाल दुग्ध विकास संस्थान केन्द्रीय कार्यालय लैनचौरमा जुनियर टेक्निकल असिस्टेन्ट ५५ वर्षीय मनहरी शर्मा,  भरपाई पदका बागमती धुलो दूध कारखाना, हेटौंडामा कार्यरत २८ वर्षीय जितेन्द्र कुमार यादव, डेरी ब्वाइ पदमा कार्यरत नवलपुर–गरुडा चिस्यान केन्द्रका इन्चार्ज नविन राय यादव, दैनिक परिश्रमिक पदमा माडी चिस्यान केन्द्रमा कार्यरत शिव नन्दन राय र जुनियर टेक्निकल असिस्टेन्ट, माडी चिस्यान केन्द्रका इन्चार्ज विख बहादुर भण्डारीलगायतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

यो हिनामिनामा संलग्न अन्य व्यक्तिहरुको खोजी र पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।